गोरखापत्र अनलाइन
काठमाडौं, असार १७ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले गरिब वर्गलाई लक्षित नगरी हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरेको बताउनुभएको छ । प्रतिनिधि सभामा छलफलका लागि पेस भएको आर्थिक विधेयक, २०८० मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले यस्तो बताउनुभएको हो ।
मन्त्री महतले सांसदहरूले सरकारले ल्याएको बजेट र कर वृद्धि गरिबमैत्री नभएको बताए पनि सरकारले गरिबीको पक्षमा बजेटमा करको व्यवस्था गरेको उहाँको भनाइ थियो ।
मन्त्री महतले सरकारले आवश्यकता र विभिन्न देशमा व्यवस्था भएबमोजिम आवश्यकता देखेर हवाई भाडा तथा लक्जरी करको व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँले मुलुकभित्र हुनेखाने हैसियत बनाएको वर्गलाई लक्षित गरेर केही वस्तु तथा सेवामा कर लगाएको दाबी गर्नुभयो ।
सरकारले व्यवस्था गरेको करले गरिब जनतालाई नछुने अर्थमन्त्री महतले बताउनुभयो । मन्त्री महतले न्यून वर्गले प्रयोग गर्ने वस्तु तथा सेवामा सरकारले कर नबढाएको प्रष्ट पार्नुहुँदै सरकारले ल्याएको बजेट र आर्थिक विधेयक गरिबको पक्षमा नभएको सांसदहरूले टिप्पणी गरेपछि उहाँले सो कुरा बताउनुभयो ।
सरकारले हैसियत हेरेर विलासिताका वस्तुमा कर लगाएको उहाँले प्रष्ट पार्नुभयो । विलासिता कर पाँचतारे होटल वा सो स्तरको रिसोर्ट, १० लाखभन्दा बढी हिरामोती खरिद गर्ने र ५० लाखभन्दा बढी आम्दानी गर्नेका लागि कर बढाइएको भन्दै यो व्यवस्थाले गरिबलाई नछुने बताउनुभयो ।
सरकारले आलु, प्याजमा कर मुलुकभित्रै उत्पादन वृद्धिगरी साना किसानलाई प्रोत्साहन दिने उद्देश्यले लगाएको बताउनुभयो । नेपालका साना किसान नै गरिब भएको भन्दै उनीहरूको उत्पादनले बजार पाउनुपर्ने बताउनुभयो । कृषि उत्पादन क्षेत्रका बिचौलियाको चलखेल तोड्न सम्पूर्ण राज्यसंयन्त्र क्रियाशील हुन आवश्यक रहेको उहाँको भनाइ छ ।