• १३ मंसिर २०८१, बिहिबार

कला–साहित्य र खेलकुद उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वर्गीय प्रकाश दाहालको स्मृतिमा आयोजित खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, असार १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकुद क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकता दिएको बताउनुभएको छ।

आइतबार दिउँसो काठमाडौँमा प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले खेल क्षेत्रको विकास राष्ट्रको समृद्धि र युवाको भविष्यसँग जोडिएको बताउनुभयो।


प्रधानमन्त्रीले भन्नुभयो, ‘‘तपाईहरूले देख्नुभएकै छ– यसपटक मैले कला–साहित्य र खेलकुदको क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु। खेलकुदको विकासले युवाहरूको शारीरिक र मानसिक विकास मात्र गर्दैन, यसको बहुआयामिक महत्व छ। सामाजिक एकता र सद्भावका निम्ति, अर्थतन्त्रको विकासका निम्ति, पर्यटन प्रवर्धनका निम्तिसमेत खेल क्षेत्रको महत्वपूर्ण भूमिका छ।’’

‘‘प्रकाश दाहालको स्मरणलाई ताजै राख्ने, योगदानको स्मरण गर्ने र युवा पुस्तामा जीवन्त सम्बन्ध बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले खेल क्षेत्रको विकासमा थप मद्दत पुग्ने ठानेको छु’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘बक्सिङ खेललाई राम्रोसँग स्थापित गर्न तपाईहरूले जुन भूमिका खेल्नुभएको छ, त्यो महत्वपूर्ण छ। यसमा सरकारको साथ र सहयोग रहन्छ।’’

नेपाल बक्सिङ संघको तत्वावधान र अखिल नेपाल खेलकुद सङ्घ र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता चार दिनसम्म चल्ने आयोजकले जनाएको छ।

स्वर्गीय प्रकाश दाहाल प्रधानमन्त्री प्रचण्डका छोरा हुनुहुन्थ्यो ।