• १२ मंसिर २०८१, बुधबार

कुम्लिक जिउला खानेपानी योजना सम्पन्न

blog

खानेपानी योजनाबाट निर्माण गरिएको धारा । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला असार १७ गते । सिमकोट गाउँपालिका –१ र २ कुम्लिक जिउला खानेपानी योजना निर्माण सुरु भएको १२ दिनमै सम्पन्न भएको छ । सो योजना आवश्यकतामा आधारित हुनु र स्थानीयवासीले दिनरात काम गरेपछि सम्झौता भएको बाह्र दिनमै निर्माण सम्पन्न भएर धारामा पानी खसालिएको हो ।

स्थानीय तुन्डुप लामाले गत असार ३ गतेबाट निर्माणकार्य सुरु भएको कुम्लिक जिउला खानेपानी योजनाको निर्माणकार्य १२ दिनमा सम्पन्न गर्न सफल भएको बताउनुभयो । उहाँले उपभोक्ता सबै मिलेर काम सुरु भएकै दिनबाट पाइपलाइन खन्ने, पाइप गाड्ने र पुर्ने, ढुङ्गा, बालुवा र गिट्टी जम्मा गर्ने काम रातदिन गरिएकाले खानेपानी योजना छोटो समयमा गर्न सम्भव भएको बताउनुभयो । 

सुरुमा थोरै समय भएका कारण काम गर्न कठिन हुने देखिए पनि उपभोक्ताहरुले नै सहयोग गरेपछि समयमै काम सम्पन्न भएको छ । गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकाया भामले आवश्यकतामा आधारित योजना भएकाले छोटो समयमा काम सम्पन्न भएको बताउनुभयो । प्रदेश सरकारबाट अन्तिम समयमा आएको योजना भएको कारण काम सुरु नगर्ने मनस्थितिमा पुगेको भए पनि उपभोक्ताले चाँडै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि सम्झौता अघि बढेको थियो । 

असार ४ गते गाउँपालिकाले उपभोक्ताहरुसँग खानेपानी योजना निर्माणका लागि सम्झौता गरेको थियो । सो योजनाका लागि २० लाखको अख्तियारी प्रदेश सरकारबाट असार ३ गतेमात्र गाउँपालिकामा आएको थियो । उहाँले योजनाका लागि १५ वटा धारा, एउटा आरबिटी र मुहानमा इन्टेक निर्माण गरिएको बताउनुभयो । मुहानबाट आरबिटीसम्म एक हजार दुई सय मिटर पाइपलाइन खन्ने काम भएको छ । 

निर्माण भएका १५ वटा धारामा विद्यालय, स्वास्थ्य संस्था र प्रहरीचौकीलाई  वितरण गरिएको छ । उहाँले जनताको इच्छाशक्ति भएमा काम सम्पन्न गर्न धेरै समय नलाग्ने अनुभव भएको बताउँदै यसबाट धेरै पाठ सिकेको बताउनुभयो । असार १५ गते धारामा पानी खसेको थियो ।