• २१ असार २०८१, शुक्रबार

चार स्थानीय तहले ल्याएनन् बजेट

blog

सप्तरी समाचारदाता

सप्तरी, असार १७ गते । सप्तरीका १८ स्थानीय तहमध्ये चार पालिकाले अझै बजेट नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन्। राजविराज नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, कञ्चनरूप नगरपालिका र रूपनी गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन नसकेका हुन्। 

आन्तरिक किचलो, आपसी मनमुटाव, जनप्रतिनिधिहरूको बेवास्ता र व्यस्तताको कारण ती पालिकाहरूलाई बजेट ल्याउन कठिनाइ भएको दाबी गरिएको छ। 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० गतेभित्र बजेट नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा (१) तथा अन्तर सरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ को उपदफा (३) ले गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आगामी आर्थिक वर्षका लागि असार १० गतेभित्र राजस्व र र व्ययको अनुमानसम्बन्धित गाउँ र नगर सभामा पेस गरी स्वीकृत भएपश्चात् मात्र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ।

खडक, सुरुङ्गा, डाक्नेश्वरी, सप्तकोशी, बोदेबरसाइन, शम्भुनाथ नगरपालिका तथा अग्निसाइर कृष्णसवरन, विष्णुपुर, छिन्नमस्ता, तिरुहुत, महादेवा, बलान विहुल, राजगढ र तिलाठी कोइलाडी गाउँपालिकाले तोकिएकै समयभित्र नगर तथा गाउँ सभा सम्पन्न गरिसकेको छ।