• २० असोज २०८१, आइतबार

शिवसताक्षीमा ज्ञान घर सञ्चालन

blog

बिर्तामोड समाचारदाता

बिर्तामोड, असार १७ गते । शिवसताक्षी नगरपालिकाले बालबालिका र युवा वर्गमा पठन संस्कृतिको विकास गर्नका लागि पालिकाका विभिन्न स्थानमा ज्ञान घर निर्माण सुरु गरेको छ। 

शिवसताक्षी नगरपालिका–७, ब्याङडाँडामा निर्मित ज्ञान घरको शनिबार उदघाटन गर्दै शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रो रोसनले सो अभियानको सुरुवात गर्नुभएको हो। स्थानीय गोर्खाली हर्ट नामक क्लबको संयोजन र नगरपालिकाको आर्थिक सहयोगमा सुरुवात गरिएको उक्त ज्ञान घरमा प्रमुख थोप्रोले बृहत् नेपाली शब्दकोशलगायतका पुस्तकहरू प्रदान गर्नुभएको थियो। गाउँपालिकाले प्रदान गरेको चार लाख रुपियाँ र अन्य दाताको सहयोगबाट उक्त ज्ञान घरको सुरुवात गरिएको गोर्खाली हटका अध्यक्ष विजय लिम्बूले बताउनुभयो।

 यसै आर्थिक वर्षमा शिवसताक्षी नगरपालिकाभित्र माईधार र धरमपुरमा ज्ञान घर तयार भइसकेको र आगामी आर्थिक वर्षमा थप चार स्थानमा ज्ञान घर निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको प्रमुख थोप्राले बताउनुभयो। 

पछिल्लो समय बालबालिकामा मोबाइल र टिभीको लतका कारण आचरण र मानसिक स्वास्थ्यमै समस्या देखिएपछि पत्रपत्रिका र पुस्तक पठन संस्कृतिको विकासका लागि नगरका प्रायःसबै चोकमा ज्ञान घर निर्माण अभियानलाई देशकै नमुनाका रूपमा नगरले लगेको उहाँले बताउनुभयो। ज्ञान घरलाई नगरव्यापी बनाउनका लागि नगरपालिकाले नीति बनाएर र आवश्यक बजेटसमेतको व्यवस्थापन गरिसकेको नगर प्रमुखको भनाइ छ।

ज्ञान घरलाई शिक्षाकै महत्वपूर्ण लगानीका रूपमा लिइएको र नगरपालिकाले समग्र बजेटको १० करिब १० प्रतिशत बजेट शिक्षामा विनियोजन गरिएको शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङले बताउनुभयो। नगरका ग्रामीण चोकहरूमा स्थापना हुने ज्ञान घरमा पुस्तक, विभिन्न पत्रपत्रिका र जानकारीमूलक सूचनाहरू उपलब्ध हुने उहाँले जानकारी दिनुभयो।