• १५ मंसिर २०८१, शनिबार

तामाङ मिनी सङ्ग्रहालय निर्माण

blog

दोलखा समाचारदाता

दोलखा, असार १७ गते । दोलखाको वैतेश्वर–६, नाम्दुका कालुराम जिम्बा तामाङको एकल प्रयासमा तामाङ मिनी सङ्ग्रहालय निर्माण गरिएको छ। भवनसहित करिब पाँच लाख रुपियाँमा सङ्ग्रहालय तयार भएको छ। समाजसेवी, पेसाले चित्रकार र व्यवसायी तामाङले सङ्ग्रहालयमा पुराना ठेकी, पेरुङ्गो, घुम, हर्पे, लालटिन, ओखल ढिकी, पुराना झ्याल ढोका, झाँक्रीका मूर्तिलगायतका लोप हुन लागेका सामग्री राख्नुभएको छ।  

केही समयअघिसम्म यस्ता वस्तु दैनिक प्रयोग गरिने भए पनि अहिले प्रयोग हुन छाडेका छन्। यस्ता सामग्रीले हाम्रो संस्कार, इतिहास, धर्म र अनगन्ती कथा बोकेकाले यसको संरक्षण र संवर्धन जरुरी भएकाले सङ्ग्रहालय निर्माण गरिएको तामाङले बताउनुभयो। तामाङ मिनी सङ्ग्रहालय नामक संस्था स्थापना गरी उक्त सङ्ग्रहालयको विकास तथा विस्तार गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “यसलाई स्थानीय सरकारले अहिले खासै चासो दिएको छैन। घचघच्याएर भए पनि केही आर्थिक सहयोग पाए लक्ष्य हासिल हुने थियो।”