समाजरूपी आवर्तनको रूपमा रहेको चलचित्रले सामाजिक यथार्थबोधलाई प्रदर्शन गरिरहेको हुन्छ। समाजवादी यथार्थवादलाई अनुसरण गर्ने अस्त्रको रूपमा पनि यसलाई प्रयोग गरिन्छ। यसले समाजलाई दिशानिर्देश गर्ने ल्याकत राख्ने मात्र होइन, प्रत्यक्ष र परोक्ष रूपमा सकारात्मक र नकारात्मक प्रभावलाई प्रकारान्तरले दिशाबोध गर्नसक्ने सामथ्र्य राख्छ। राम्ररी खिचिएको एक चित्रले दसौँ कुरालाई इङ्गित गर्न सक्छ भने चलचित्रले लाखौँ भावनालाई अर्थलाई प्रतिविम्बन गर्न सक्छ।
पौराणिक दन्त्य कथाहरू, धार्मिक गन्थ्रहरू मात्र होइन इतिहासका कैयौँ कालखण्डका र युग परिवर्तनलाई पनि चलचित्रको माध्यमबाट स्थापित गर्ने गरिन्छ। यसर्थ चलचित्रलाई सकारात्मक परिवर्तनको वाहकका रूपमा प्रयोग गरिनु पर्छ भन्ने धारणा रहे पनि चलचित्र लेखन, निर्देशन र निर्माणसम्म आउँदा जुन पात्रलाई मुख्य बनाइएको हुन्छ। त्यहाँ प्रदर्शित हुने पात्रहरूको चारित्रिक भूमिकाले त्यस चलचित्रको मुख्य सन्देश अन्तर्निहित हुन्छ।
निर्माताले नियतवश वा अबोधजन्य रूपमा चलचित्र बनाउँदा त्यसले प्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पार्छ। नेपाली चलचित्रले नेपाली समाजलाई फाइदा पु¥याइरहेको परिपेक्ष्यमा केही विदेशी चलचित्रद्वारा नेपाल र नेपाली अस्तित्वमाथि नै हस्तक्षेप भइरहेका छन्। त्यसैले आर्थिक उपार्जनका लागि मनोरञ्जनात्मक शैलीमा निर्देशित चलचित्रले परोक्ष रूपमा एउटा विचारको प्रतिनिधित्व गरिरहेको हुन्छ, भन्ने यथार्थलाई प्रमाणित गरेको छ। त्यसले आर्थिकसहित ऐतिहासिक, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा मात्र होइन विश्वजगत्का विभिन्न आयाममा पनि प्रभावित पारेको हुन्छ।
केही समयअघि प्रदर्शित विदेशी चलचित्र ‘उचाइ’ ले दुई देशबिचको सम्बन्धलाई गाढा बनाउने काम गरेको थियो। हाम्रो सगरमाथालाई पुण्यभूमिको रूपमा चित्रण गरेको छ तर ठिक विपरीत कतिपय चलचित्रले दुई देशबिचको सम्बन्धमा चिसोपन बढाउने काम गरेका छन्।
हालै विदेशी चलचित्र ‘आदिपुरुष’ ले नेपालसहित विदेशमा पनि असत्य कुरालाई सत्य बनाउन प्रयत्न गरेको छ। त्यस्तो गम्भीर विषयलाई बिनाअध्ययन निर्माण भएको हो वा नियतवश, त्यो अनुसन्धानको विषय हुन सक्ला तर सो चलचित्रका लेखकले सन् १९०३/१९०४ सम्म भारतकै अभिन्न अङ्गको रूपमा नेपाल रहेको भन्ने अभिव्यक्तिले बोधजन्य गल्ती भएको पुष्टि हुन्छ।
सो चलचित्रमा जानकी भारतकी छोरी हुन् भन्ने आशयको संवाद राखेर चलचित्रले नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको स्पष्ट देखिन्छ। चलचित्रले पवित्र ग्रन्थ रामायणलाई नै तोडमोड गरेको भनेर भारतमै पनि व्यापक विरोध भइरहेको बेला सो चलचित्रले नेपालमा पारेको नकारात्मक प्रभावबारे केही चर्चा गर्न कोसिस गरेको छ।
गत जेठ ३१ गते बुधबार चलचित्र आदिपुरुषमा अभिव्यक्त भनाइलाई नेपालमा ‘सेन्सर’ गरिएको थियो। चलचित्रमा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद थियो। सो संवादमा हाम्रो फिल्म सेन्सर बोर्डको असहमति रहने कुरा भइहाल्यो। जानकी अर्थात् सीता नेपालकी छोरी हुन्, नेपालको राष्ट्रिय विभूति हुन्।
हाम्रो कार्यविधिमा जाँचपासका लागि पेस गरिएको सो चलचित्रले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्र राष्ट्रसँगको सम्बन्धमा खलल पार्ने, विभिन्न वर्ग या जातिबिचका सुसम्बन्धमा नकारात्मक असर पर्ने, सार्वजनिक हित या नैतिकतामा प्रतिकूल असर हुने, व्यक्ति विशेषको मानहानि हुने, अदालतको अवहेलना हुने, लैङ्गिक हिंसालाई प्रोत्साहन हुने एवं कुनै अपराधका दुरुत्साहन गर्ने जस्ता श्रव्यदृश्य भएमा त्यस चलचित्रलाई फेल हुन्छन्। त्यो कदापि पास गर्न कानुनी आधार बन्दैन। त्यसर्थ हामीले सर्वसम्मतले ‘भारतकी’ शब्द काट्न लगायाैँ र सो काटेपछि मात्र चलचित्रलाई पास ग¥यौँ।
सो शब्द नहटाउँदा चलचित्र नेपालमा बन्द हुने स्थिति बन्यो। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र जाँच पास समिति (फिल्म सेन्सर बोर्ड) ले बुधबार आदिपुरुष चलचित्रको सेन्सर रोकेपछि केही सञ्चार गृहले यस विषयमा समाचार बनाएपछि सेन्सर बोर्डको तारिफ पनि भयो र सम्भावित दुर्घटना हुनबाट जोगियौँ। हामीले गरेको कामको जस अरू कोहीबाट भएको केही घण्टापछि सामाजिक सञ्जालमा देखेपछि स्तब्ध हुन पुग्यौँ।
महानगरका महानायकले चलचित्र रोक्यो रे, सेन्सर बोर्डले नगरेको काम उहाँबाट भयो रे भन्ने जस्ता उरेन्ठेउला र भ्रामक सन्देश भाइरल भए। महको चाका काढेर औँला चाट्न नपाउँदै अरू कोही आएर झुठो गरे जस्तै भयो। मानौँ ‘काम गर्ने काले, मकै खाने भाले’ जस्तै भयो। ‘जसले मह काढ्छ, त्यसले हात चाट्छ’ भन्ने उखानमाथि नै प्रश्नचिह्न खडा भयो। हामीले गरेका राष्ट्रिय कामको चर्चा हुन नपाउँदै ‘डिलमाथि बसेर हेर्नेले माछो फुट्काए’ भने जस्तै हाम्रो एजेन्डा, कार्यविधि, प्रगतिको सफलभूति अन्यले नै अन्यत्र मोडिदिए। ‘राम्रो केटा, जेठान प¥यो’ भन्ने उखानटुक्कालाई म यहाँ विशेष रूपमा दर्ज गर्न विवश भएको छु।
भारतीय अभिनेता हृतिक रोशनले नेपाल / नेपालीबारे विवादित अभिव्यक्ति दिएपछि नेपालमा ठुलो विरोधसहित राजनीतिक रङ्ग भर्ने कामसमेत भएको थियो हुल दङ्गासहित गोली चल्दा दुई जना नेपालीको ज्यान जानुको साथै कैयौँ अङ्गभङ्ग भए। जनधनको क्षति रोक्न सरकारले त्यो बेला कफ्र्युसमेत लगाएको थियो। त्यसै गरी नेपालमा व्यापक विरोधपछि भारतीय चलचित्र ‘चाँदनी चोक टु चाइना’ मा बुद्ध भारतमा जन्मेका हुन् भन्ने सन्देश दिइकाले नेपालमा प्रतिबन्ध गरिएको थियो। यसरी चलचित्र र चलचित्रका नायक नायिकाले पनि नेपाल र नेपाली मनमा धेरै चिसो पार्ने काम गरेका छन्, त्यसको विवरण लामै छ सूचना प्रविधिको विकास र नयाँ मिडियाको रूपमा उद्घाटित भएका सामाजिक सञ्जालको दुरुपयोगले गर्दा ठिक र बेठिक छुट्याउन आमनागरिकलाई गाह्रो भएको छ। सामाजिक सञ्जालमा आएका हरेक समाचार/गतिविधि साँचो हुँदैनन्। ती सबै कुरामा सत्यता हुँदैन भन्नेमा हामी सधैँ सचेत हुनु पर्छ। सत्यतथ्य नबुझी समाचारको गहिराइमा नपुगेर सतही प्रतिक्रिया दिने बानीले प्रकारान्तरले सत्य असत्य र असत्य सत्य हुन पुगेका पनि छन्। तर कोर्ष करेक्सनलाई धेरै समय कुर्नुपर्ने अवस्थामा पनि नआएको होइन। ‘सेवा गरेपछि मेवा पाइन्छ’ भन्ने जनश्रुतिलाई पनि मनन गरेर यथार्थता आमसमुदायमा ढिलै भए पनि प्रकाशित भएका छन्।
काममा विश्वास गर्ने व्यक्ति र संस्थाले कहिले पनि स्टन्टबाजी गर्दैन। केन्द्रीय चलचित्र जाँच समितिलाई दिएको कार्यादेशबमोजिम जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका छौँ। सेन्सर बोर्डले अन्य देशको हकमा सो देशमा प्रदर्शित चलचित्रको सेन्सर गर्ने अधिकार नभएकाले र परराष्ट्रका मामिला भएकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले परराष्ट्रलाई पत्राचार गर्नु पर्छ। परराष्ट्र मन्त्रालयले सो देश र देशका सेन्सर बोर्डलाई ती क्लिप हटाउन वा परिमार्जन गर्नका लागि अनुरोध गरेर समस्या हल गर्नु पर्छ।
यसर्थ उच्च अदालत, पाटनले अन्तरिम आदेश दिँदै सेन्सर भइसकेको चलचित्र ‘रिलिज’ नरोक्नु भनेर काठमाडाैँ महानगरपालिकाका मेयरलाई आदेश दिएबाट सेन्सर बोड, सम्बद्ध मन्त्रालय, वर्तमान सरकारले सोप्रति गम्भीरताका साथ सेन्सर गरेको भन्ने प्रस्ट हुन्छ।
लेखक सेन्सर बोर्ड सदस्य तथा चलचित्र निर्देशक हुनुहुन्छ।