• १२ मंसिर २०८१, बुधबार

राष्ट्रिय ध्वजावाहकको चिन्ता

blog

नेपाल वायुसेवा निगम १ जुलाई १९५८ मा स्थापना भएको हो। यसको प्रमुख उद्देश्य नेपालभित्र तथा विदेशमा सुरक्षित, कुशल, सुव्यवस्थित र किफायती हवाई यातायात सेवा पु-याउनु हो। देशको पहिलो हवाई कम्पनी भएकाले यसप्रति आमनागरिकको सरोकार र चासो छ। 

सरकारको पूर्ण स्वामित्व रहेका वायुसेवा निगमको अधिकृत पुँजी रु. ३० करोड रहेको छ। चुक्ता पुँजी रु. १६ करोड २३ लाख र नेपाल सरकारको लगानी २१ करोड ७० लाख गरी निगमको कुल पुँजी रु. ३७ करोड ९३ लाख छ। ठुलो पुँजी लगानी गर्नुपर्ने यस्तो व्यवसायका लागि यो पुँजी ज्यादै न्यून हो। निगमको अधिकृत पुँजी ४० देखि ५० अर्ब जति बढाउन आवश्यक भइसकेको छ। पुँजीको अभाव पूरा गर्न निगमले आफ्नो पुँजीभन्दा बढी हुने गरी बाह्य ऋण र बैङ्कहरूसँग सञ्चयकोष र नागरिक लगानी कोषसँग चर्को ब्याज लिएर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छ। यसले गर्दा निगमको ओभरड्राफ्ट भएर ऋण लगानी ज्यादै उच्च हुन गएको छ। एकातिर ऋण लिएर व्यवसाय गरिरहनु परेकाले सञ्चालन लागत उच्च छ।

निगमको सञ्चालनमा रहेका विमानको हिसाब गर्दा प्रति विमान १२५ कर्मचारी पर्दछन्। विद्यमान विमान सङ्ख्या र कर्मचारीको यो अनुपात निकै बढी छ। विमान थप हुन सकेमा वा मर्मत–सम्भारपश्चात् थप विमान सञ्चालन गर्न सकिएमा यो अनुपातमा सुधार आउन सक्छ। निगममा आन्तरिकतर्फ ग्राउन्डेड विमान र अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा विमान थप गरिए पनि केही विमान चालक र विमान मर्मत गर्न सक्ने केही प्राविधिक मात्र थपेर हालकै कर्मचारीबाट पर्याप्त मात्रामा सेवा सञ्चालन गर्न सकिन्छ। बाह्य विमान सेवाहरूको हप्ताको सयौँ उडानलाई त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्दै आएका कारण लोडर, हेल्पर जस्ता जनशक्तिको यहाँ आधिपत्य देखिएको छ। 

निगमले हाल आफ्ना एयरबस विमानबाट दिल्ली, मुम्बई, बैङ्गलोर, बैङ्कक, हङकङ, क्वालालम्पुर, दुवई, दोहा, रियाद र नारितामा सेवा सञ्चालन गर्दै आएको छ। सिड्नी, सिङ्गापुर केही महिनापछि सञ्चालन हुने छ। आन्तरिक उडानतर्फ ट्विनअटर विमानबाट नेपालभित्र विभिन्न १७ स्थानमा सेवा सञ्चालन गर्दै आएको छ। दसैँ–तिहारमा दुर्गम क्षेत्रमा आन्तरिक उडान थप गरेर पनि यात्रुलाई सेवा दिँदै आएको छ। दुर्गम क्षेत्रमा हवाई उडान गर्दा लागतभन्दा पनि कम मूल्य प्राप्त हुन्छ। यसलाई विचार गरी निजी क्षेत्रका विमानलाई पनि त्यस्ता क्षेत्रमा उडान भर्नका लागि प्रोत्साहित गर्न दुर्गम क्षेत्र हवाई विकास कोषको व्यवस्था भएको छ। तैपनि निजी क्षेत्रका कम्पनीलाई उडानका लागि सरकारले त्यसतर्फ ध्यान दिएको छैन। निगमले भने आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ। सरकारले दुर्गम क्षेत्र हवाई विकास कोषसम्बन्धी नीति पनि कार्यान्वयन गर्न सकिरहेको छैन। यसबाट निगमलाई बर्सेनि करिब रु. २५–३० करोड घाटा बेहोर्नु परिरहेको छ। अतः दुर्गम क्षेत्रमा उडान गरेबापत निगमलाई सरकारबाट विशेष सहुलियतको व्यवस्था हुनु आवश्यक छ। निगमले सरकारलाई बुझाउने राजस्वमा छुट गर्न सकिन्छ, यसमा सरकारले ध्यान पु¥याउनु जरुरी छ।

निगमसँग भएका सम्पूर्ण जहाज मर्मत गरी घाटा खाएरै नेपालभित्र जनसेवा गरे पनि निगमको छविमा थप सुधार आउने देखिँदैन। अर्कातिर २०४६ सालपछि सरकारले कहिल्यै निगमलाई रकम दिएको छैन। निगमले वर्षौंदेखि दुर्गम क्षेत्रमा विमान चलाएर घाटा भएको रकम मात्र सरकारले दिने हो भने पनि त्यो हालसम्म ९–१० अर्ब हुने छ तर सो रकमबाट विमान खरिद गर्न सक्छ। दुर्भाग्य, निगमलाई हरेक किसिमको दबाब मात्रै दिने गरिएकैले आम्दानी कम हुँदै गएको छ। 

आन्तरिक सेवातर्फ निगमले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नु परेको छ। सामाजिक दायित्व निर्वाह गर्नु परेकाले घाटामा भए पनि निजी कम्पनी नजाने दुर्गम क्षेत्रमा निगमले सेवा सञ्चालन गरिरहेको छ। जहाज पुराना भएका र प्रशासनिक र वित्तीय भार पनि बढी भएकाले निजी विमान कम्पनीहरूको तुलनामा निगमको सञ्चालन खर्च उच्च छ। निगमको ट्विनअटर विमानको प्रतिघण्टा सञ्चालन खर्चभन्दा निजी सेवाका विमान कम्पनीको खर्च निकै कम हुन्छ। यति हुँदाहुँदै पनि विश्वसनीयता र सामयिकता कायम राख्न सकेमा र पर्याप्त उडान दिन सकिएमा निगमले आफ्नो ऐतिहासिक गौरव पुनस्र्थापना गर्दै नयाँ र थप क्षेत्रमा मुनाफादायक उडान गर्न सक्ने छ। 

निगमसँग रहेका केही पुराना जहाज मर्मत–सम्भार गर्दा ज्यादा समय लाग्ने र मर्मत कार्य ज्यादै महँगो हुने गरेको छ। थोरै जहाज भएकाले एउटा जहाज मर्मत–सम्भारमा जाँदा सम्पूर्ण उडानतालिका नै प्रभावित हुने, उडान रद्द गर्नुपर्ने वा पुनः तालिकीकरण गर्नुपर्ने भएकाले सामयिकता र नियमिततामा असर पर्ने गरेको छ। यसबाट यात्रुमा निगमप्रति नकारात्मक छाप परेको छ। आन्तरिक उडानमा प्रयोग भएका ट्विनअटर विमान पनि धेरै वर्ष पुराना भएकाले मर्मत–सम्भारमा बढी लागत लाग्ने र समयमा उडान गर्न कठिन हुने गरेको छ। यी विमानका उत्पादक कम्पनीले समेत यस्ता विमानको उत्पादन बन्द गरिसकेका छन्। 

यस्तो अवस्थामा सुधार गरी निगमलाई चुस्त र नाफामूलक संस्थामा परिणत गर्न र देशको पर्यटन–विकासमा सघाउ पु¥याउन २०–२५ र ७०–८० सिट क्षमताका पाँच वटा मझौला खालका जहाज र ठुला जेट विमान र दुई वटा एयरबस आएपश्चात् पनि निगमको सेवामा यथाशक्य चाँडो अन्य जहाज थप गर्नुपर्ने आवश्यकता छ। 

देशकै प्रतिनिधित्व गर्ने राष्ट्रिय ध्वजावाहकका लागि हरेक देशले संरक्षण र विकासका लागि विशेष व्यवस्था गर्ने गरेका छन्। निगम त्यस्ता विशेष सुविधाबाट वञ्चित छ। उल्टै सामाजिक सेवाको दायित्व निर्वाह गरिरहेकाले यसले घाटा बेहोरिरहेको छ। विमानको कमी यसको ठुलो कमजोरी हो। यसबाट निगमको सामयिकता र नियमिततामा नकारात्मक असर परेको छ। यसको निराकरणका लागि विमान थप गर्नु जरुरी छ। निगमको भविष्य सुनिश्चित गर्न व्यवस्थापनमा सुधार गर्नु, चाँडोभन्दा चाँडो विमान थप गर्नु र आवश्यक दक्ष जनशक्ति तयार गर्नुभन्दा निगमका लागि अन्य विकल्प छैन। 

साना ठुला जहाज मर्मत गर्नका लागि त्रिभुवन विमानस्थलमा एउटा मात्र सानो ह्याङ्गर भएकाले निगमसँग हाल भइरहेका विमान मर्मत–सम्भार गर्न कठिनाइ परिरहेको छ। निगमसँग रहेका ठुला जहाज र भविष्यमा खरिद गर्ने साना तथा ठुला विमान मर्मत–सम्भार गर्न ठुलो र आधुनिक उपकरणबाट सुसज्जित ह्याङ्गर निर्माण गर्नु तत्काल आवश्यक छ। निगमले आफ्नै स्रोतसाधनबाट यो काम गर्न सम्भव नभएकाले वैदेशिक सहयोगका लागि सरकारबाट पहल हुने अपेक्षा राखिएको छ। हालको ह्याङ्गर र नयाँ बन्ने ह्याङ्गरलाई राम्रो मर्मतशालामा परिणत गर्न सके निगमले स्वदेशी तथा विदेशी विमान सेवाहरूको जहाज नेपालमै मर्मत गरी थप आय आर्जन गर्न सक्ने थियो। 

निगमले बाह्य विमान सेवाका सयौँ उडानलाई ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गरेर पनि आम्दानी गर्ने गरेको छ। आम्दानीको यो राम्रो स्रोतलाई चुस्त–दुरुस्त र प्रतिस्पर्धी बनाउन नयाँ यन्त्र, उपकरण र मानवस्रोतको उचित व्यवस्थापन आवश्यक छ। निगमलाई धराशायी अवस्थामा पु¥याउन ह्यान्डलिङ सेवा र निगमले लिँदै आएको रकम घटाउनेतर्फ केही व्यक्ति लागेकाले निगमले यसतर्फ समयमै सतर्क रहनुपर्ने देखिन्छ।

निगम राष्ट्रिय ध्वजावाहक लामो समयदेखि नेपाल र बाह्य मुलुकमा उडान गरिरहेकाले यो नेपालको पर्यायका रूपमा परिचित र स्थापित छ। कहिलेकाहीँ बाह्य विमान सेवाका उडान स्थगित हुने गरेकाले नेपालको पर्यटन–विकासमा असर पर्ने गरेको छ। जस्तोसुकै कठिनाइ पर्दा पनि निगमले आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ। अझै पनि बाह्य मुलुकबाट पर्यटक ल्याउनमा निगम अग्रपङ्क्तिमा छ। हालसम्म स्वदेशी वा विदेशी यात्रीबाट निगमले सद्भावना र माया पाइरहनुको कारण यही हो। नियमित र सामयिक उडान कायम राख्न सकिएमा नेपाल आवतजावत गर्ने हवाई यात्रुका लागि निगम पहिलो प्राथमिकतामा अझै कायम रहन सक्ने छ। 

पर्यटकको आगमनमा हुने वृद्धि, विदेशमा आवतजावत गर्ने र वैदेशिक रोजगारीमा जाने नेपालीको बढ्दो सङ्ख्या, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बढ्दो समावेशीकरण जस्ता विषयले बढ्ने यात्रु निगमको सेवाविस्तारका लागि उत्साहप्रद लक्षण हुन्। नेपालको पर्यटन क्षेत्रको विकासका नयाँ सम्भावना पनि उजागर हुँदैछन्। पर्यटकको आगमनमा भएको विस्तारले यो सङ्केत गरेको छ। निगमको भविष्यका लागि यो भरपर्दो आधार हो। पर्यटकको बढ्दो आगमनले निगमलाई थप अवसर प्रदान गरेको छ। 

निगममा तालिमप्राप्त पाइलट, एयरक्राफ्ट इन्जिनियर र दक्ष कर्मचारीको ठुलो जनशक्ति छ। अनुभवी कार्यकारी अध्यक्ष निगमले पाएको छ। तत्कालीन पाइलट र इन्जिनियर पूर्तिका लागि निगमका वर्तमान कर्मचारी तथा उनका छोरा, छोरी(परिवार) लाई नै तत्कालीन उचित तालिम तथा उच्च शिक्षा अध्ययनका लागि निगमबाटै लगानी गर्ने वातावरण बनाए भविष्यका लागि दक्ष जनशक्ति उत्पादन हुने छ।

यसको सम्बन्ध विश्वका प्रमुख एयरलाइन्ससँग छ, धेरै मुलुकमा प्रतिनिधि छन् र धेरै स्थानमा लामो समयदेखि सेवा सञ्चालन गरेकाले अन्तर्राष्ट्रिय बजारको राम्रो ज्ञान छ। निगमका आन्तरिक समस्या तथा अन्य हवाई सेवासँगको प्रतिस्पर्धा हुँदाहुँदै पनि नेपालको हवाईयात्रु ओसारपसारको ठुलो हिस्सा यसले ओगटेको छ। निगमको अर्को सबल पक्ष उडान–सुरक्षा पनि हो। निगमको उडान अरूको दाँजोमा सुरक्षित छ। 

निगमलाई सुधार, विकास र पुनरुत्थान गर्नु आजको आवश्यकता हो। निगमलाई नेपाल सरकार, निगमका कर्मचारी, गैरसरकारी निकाय, निजी क्षेत्र, बैङ्क तथा वित्तीय संस्था र आमउपभोक्ताको सद्भाव र सहयोगको आवश्यकता यसलाई परेको छ। अनि मात्र निगम सुदृढ, सक्षम र भरपर्दो हवाई कम्पनी बन्न सक्छ। 

निगम केही उडान क्षेत्रमा घाटा भएर पनि सेवा पु-याउँदै आएको छ। निगमले घाटा सहेर विदेशी पर्यटनलाई नेपालमा भित्र्याउने काम गर्दा त्यहाँबाट अन्य पर्यटकीय क्षेत्र होटेल, टे«किङ एजेन्सी, पर्वतारोहण, ट्राभल, ट्रेकिङ ह्यान्डिक्राफ्ट, व्यापारी, यातायात व्यवसायीको व्यापार चलिरहेको छ। सरकारले पनि थाई एयरलाइन्स, जेट एयरलाइन्स, एयर इन्डिया, सिङ्गापुर एयरलाइन्सलाई उनीहरूको सरकारले सहयोग गरे जस्तै नेपाल एयरलाइन्सलाई पनि आर्थिक तवरले घाटा परिपूर्ति गर्ने गरी सहुलियत दिनु पर्छ। निगमले देशमा अप्ठ्यारो पर्दा विभिन्न किसिमले देशका लागि सेवा गर्दै आइरहेको छ। व्यापारिक संस्था भएकाले कहिले ऋण तथा कहिले नाफामा रहन्छ यसबाट दक्ष अनुभवी कार्यकारी अध्यक्षले नडराई आफ्नो उद्देश्यमा दत्तचित्त हुनु पर्छ। आफ्नो धर्म सेवा नै हो भन्ने सन्देश फैलाउन पनि सिनामङ्गलमा रहेका जग्गामा आफ्नै भवन बनाउनु पर्छ। केन्द्रीय कार्यालय न्युरोडस्थित जग्गामा ठुलो भवन बनाएर नाफा कमाउन सकिन्छ। 

लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ ।

  

Author

हरिगोपाल प्रधान