• ९ वैशाख २०८२, मङ्गलबार

मातृत्व र सामाजिकीकरण

blog

सम्बन्ध भावनामा अनुबन्धित हुन्छ। भावनालाई राजनीति, औपचारिक कानुन अनि चिन्तन र दर्शनका दायराले बाँध्नै सक्दैन। आमा र सन्तानबिचको सम्बन्धलाई भावनाले उनेको हुन्छ। विशेषतः हिन्दु धर्मग्रन्थलाई हेर्ने हो भने आमाबुवालाई लौकिक र पारलौकिक परिस्थितिसम्म पूजा गरिन्छ। जीवन रहेसम्म “मातृ देवो भवः, पितृ देवो भवः” भनेरै देवताका रूपमा पुजिन्छ। मृत्युपश्चात् पनि पितृदेवताका रूपमा श्राद्ध गर्ने हिन्दु संस्कृतिभित्रको प्रचलनले अभिभावकप्रतिको श्रद्धालाई उच्च स्थानमा राखिएको देखिन्छ। धार्मिक ग्रन्थ रामायणको कथा अनुसार श्रवणकुमारले देखाएको मातापिताको भक्तिलाई मूल्याङ्कन गरेर स्वयम् भगवान् विष्णुका अवतार परशुरामले समेतले प्रशंसा गरेका छन्। आफ्ना दृष्टिविहीन आमाबाबालाई खर्पनमा राखेर तीर्थयात्रा गराउन निस्केका श्रवणकुमारलाई राजा दशरथले भुलवश हत्या गरिदिएको कथा निकै हृदयविदारक लाग्छ। आपूmउपरकाले दिएको वचनलाई नै जीवनको आदर्श वाक्य मान्ने पूजनीय पद्धतिले अनुशासित जीवनशैलीलाई इङ्गित गर्छ। ज्ञान र अनुभवलाई पुस्तान्तरण गरेर असल सामाजिक व्यक्तित्व निर्माण गर्न अभिप्रेरित गर्छ। यसर्थ मान्छेलाई सुमार्गमा डो-याउने पहिलो आधार घरपरिवार हो। परिवारमा आमाबाबाको देन नै प्रथम गुरुको रूपमा अतुलनीय हुन्छ। 

संसारमा अक्सर अगस्टे कम्टे, हर्बट स्पेन्सर, म्याक्स वेबेर, फुकोल्ड, सिभी गुड, एफ्जी राइटलगायत विद्वान्का समाजशास्त्रीय शैक्षिक पद्धतिको व्याख्या गरिन्छ। पूर्वीय समाजमा सिद्धान्त नै भनेरभन्दा पनि चाडपर्व र धार्मिक ग्रन्थ, पुराणादिमा आमाबाबाको महिमागान भएका छन्। पूर्वका विद्वान्ले आफ्नो व्यक्तिगत नामलाई उच्चारण गरेर सिद्धान्त दिएनन् तर व्यावहारिक पुस्तान्तरणको सामाजिक शैलीलाई भने अवश्य सिकाए। 

समाजशास्त्रीय अनुशासन र आदर्श समाजसम्मको कुरा गर्दा कार्ल माक्र्सको सिद्धान्त, एङ्गेल्सले पारिवारिक व्यवस्था आदिको चर्चा गरेको देखिन्छ। माक्र्सको साम्यवादले सिकाउन नसक्ने आदर्शता हाम्रो नेपाली समाजमा पहिल्यै विद्यमान छ। त्यसमा वर्गविभेद र जातपातले प्रभाव पारेको हुँदैन। भौतिक सम्पन्नताको अभावले पनि भावनात्मक पक्ष कमजोर नहुने थुप्रै इतिहास हाम्रा समाजमा अद्यापि विद्यमान छन्। 

इमाइल दुर्खिमले समाजका हरेक विषय शिक्षासँग सम्बन्धित हुने विश्लेषणलाई पूर्वीय मान्यतामा ज्ञानको हस्तान्तरणसँग लगभग अभ्यासका रूपमा नै थियो। आज त्यो विषय ह्रास भएजस्तो प्रतीत चाहिँ अवश्य हुन्छ। यथार्थमा केवल भावनात्मक कसीमा मातृवात्सल्य अनुबन्धित हुन्छ। अझ फ्रायडको यौनाकर्षणले आमाले छोरालाई र बाबाले छोरीलाई माया गर्छन् भन्ने केही हदमा होला, यद्यपि प्राकृतिक जैविकमा आमाको ममतामा अझै अमापनीय देखिन्छ। यसर्थ घरको शिक्षा सबैभन्दा बढी प्रभावशाली हुन्छ। घरको अनौपचारिक शिक्षाले विद्यालयको औपचारिक शिक्षामा सबैभन्दा बढी प्रभाव पार्दछ। यसर्थ परिवारको जिम्मेवार दायित्व वहन गर्ने व्यक्ति नै उसको पहिलो गुरु हो। आमाले ममताको भाँडोमा केवल भावनात्मक गहनतालाई सजाएकी हुन्छिन्। यसर्थ पुस्तान्तरण भएको ज्ञानको क्षितिज पाश्चात्यका विद्वान्हरूको विश्लेषणभन्दा पूर्वीय कथात्मक सन्देशभित्र गहन छ। 

अर्जुन र शुभद्राका छोरा अभिमन्युले पनि आमाकै गर्भमा चक्रव्यूहको ज्ञान सिकेको कुरा महाभारतका कथामा वर्णित भएको पाइन्छ। अभिमन्यु शुभद्राका गर्भमा थिए। अर्जुनले चक्रव्यूहभित्र पस्नेसम्मको ज्ञान सुनाउँदै गर्दा शुभद्रा निदाएकाले चक्रव्यूहबाट निस्कने ज्ञान थाहा पाउन सकेनन्। त्यसैले उनलाई युद्धमा निर्मम र कारुणिक प्रहार गरिएको कथा रहेको छ। यसले पनि गर्भावस्थामै ज्ञानका कुरा सिकिरहिएको एउटा पक्षलाई तोक लगाएकै हो। वर्तमान विज्ञानका लागि यो एउटा खोजको विषय पनि हुन सक्ला। यसले सकारात्मक बन्नु पर्छ भन्ने सन्देशलाई प्रवाह गरेको देखिन्छ। यसको अर्थ असल आचरणको सन्देशले मातृ ममताको गहनतालाई इङ्गित गरेको हुन्छ। 

आज समाजले भन्दै गरेको विकास र दुनियाँ दौडको विश्वव्यापीकृत समुद्रको छालभित्र आधुनिकताको बोक्रे कुरा हुन्छन्। समृद्धिका तानाबाना बुनिन्छ। आखिर आमाका आँचलले पुछिएको जीवनको वेदनामा फक्रेका सौन्दर्यरूपी फूल पनि कहिलेकाहीँ आफ्नै धरातललाई किन बिर्सन्छन् ? पाषाण हृदय बोकेर त्यो पुज्य व्यक्तित्वको योगदानलाई कुल्चिँदा तिरस्कार गर्नेको भिड पनि सानो छैन। मान्छेले दुनियाँमा जेजति भौतिक, यान्त्रिक विकास गरे पनि उसको एउटा अनमोल गुण भनेको बौद्धिकता र भावनात्मकता पनि हो। मान्छेसँग भएका आदर भाव, धैर्यता, सुन्ने शक्ति, ग्रहण गर्ने सबलता, उचित–अनुचित छान्ने शक्तिलगायत थुप्रै विज्ञता प्राकृतिक रूपमा छ, जसलाई संसारको अनगिन्ती प्रगतिभन्दा उँचो मान्दा फरक पर्दैन। अग्रजको सेवा र सन्ततिका निम्ति अर्पण गर्ने पारिवारिक र मानवीय भावनाभित्र एउटा सुन्दर परिवार सुखी हुन्छ। यो विषय सिद्धान्तभन्दा पर वास्तविक व्यवहारमा आधारित रहन्छ। 

आमाले नौ महिना कोखमा कसरी बोक्छिन् ? तिनी आफ्नोभन्दा बढी सन्तानलाई किन माया गर्न तल्लीन हुन्छिन् ? आमा शब्द नै किन यति धेरै कर्णप्रिय लाग्छ ? प्राकृतिक पनि। आखिर संसारका हरेक प्राणीले प्राकृतिक रूपमा आमालाई नै मान्छन्। बाँदरले आफ्नो सन्तानलाई पेटमा राखेर हिँड्छ। कति माया गर्छ ? बघिनीले बाघको तुलनामा करिब ८० प्रतिशत बढी सिकार आफैँले किन गर्छे ? अर्थात् भनौँ कुखुरी चल्ला कोरलेको समयमा किन त्यति धेरै आक्रामक बन्छे ? सन्तान माकुरा जस्ता भए भने आमाको महिमा कसले गाउँथ्यो र! हाम्रो समाज, संस्कृति, पारिवारिक अनुशासनको डोरोलाई सपेटी पारेर बाट्ने शक्ति आमाको ममताभित्र निर्भर हुने रहेछ। हरेक दुःखमा रुने मान्छेको मुखबाट निस्कने बिलौनाको स्वरभित्र ‘आमा’ शब्द दोहोरिन्छ। अधिकांश पुरुषमा कठोरपना हुँदा धेरै आमासँग शालीन स्वभाव हुन्छ। कमसेकम सन्ततिका लागि। 

महाभारतको कथामा कुन्तीले विवाहपूर्व जन्माएको आफ्नो छोरो कर्णप्रति मातृवात्सल्यलाई अवश्य नकारेकी होइनन्। त्यो त सामाजिक समस्याको जटिलताले उनलाई बाँधेको धर्म सङ्कट थियो। अझ भनौँ स्वयम् भिष्मपितामह (देवव्रत) ले आफ्ना वृद्ध भएका बाबा सन्तनुको विवाह मत्स्यगन्धासँग गराएर आफू आजीवन अविवाहित रहे। केवल पिताको खुसीका लागि। यसको अर्थ मातापिताप्रतिको समर्पणभावलाई हाम्रा धर्म ग्रन्थ र धार्मिक घटनाक्रमले समाजसम्म ल्याएर छोडेको देखिन्छ। यसको अर्थ ग्रन्थ पुराणादिलाई केवल कथा मान्नेभन्दा ती घटनाबाट आजको जीवनसँग तुलना गरेर सार्थकतालाई ग्रहण गर्नु वाञ्छनीय हुन्छ। 

वर्तमान समाजको शैलीले पैसामुखी भएर लगाम कस्दै छ। धार्मिक सन्देशलाई केवल धर्मभित्र राखेर कँज्याइएकाले नवपुस्तामा यी ज्ञानका भण्डारमै शङ्काको आवरण भरिन्छ। अलिकति प्राचीनताको संज्ञाले वास्तविकतामा ग्रहण लगाइदिन्छ। ज्ञानको विषयमा तगारो हाल्ने शैली परिवर्तन नहुनु वर्तमानको समस्या हो। यसर्थ आमाको ममता र आदर्शभित्र लुकेको रहस्य पनि ढल्दैढल्दै जानु दुःखद पक्ष हो। आमा पूजनीय हुन्छिन्, यस कारण पनि  आमाको कोखसँग सीधा सम्पर्क हृदयको हुन्छ। बाबाको सद्भावभित्र अव्यक्त प्रेमको चस्को हुन्छ तर प्रायः आमाले सन्ततिप्रेमलाई व्यावहारिक कलाबाट प्रदर्शन गर्छिन्। 

हाम्रा नेपाली हरेक चाडपर्वले केही न केही इतिहास, केही न केही पौराणिक आधार र आदर्शलाई बोकेको देखिन्छ। यसको अर्थ चाडपर्व मनाउनुसँग समाज मनोविज्ञानको सम्बन्ध र आदर्श भावको एउटा न एउटा सन्देश गाँसिएको हुन्छ। बाटोघाटो, इन्टरनेट आदिको सुविधा हुनुपूर्वको परिस्थिति अर्थात् आज पनि ग्रामीण वा दुर्गममा विवाहपश्चात् पति घर गएका छोरीचेलीलाई माइतमा आउने एउटा निहुँ बनाइएकाले पनि मातातीर्थ औँसीको आफ्नो गरिमा रह्यो। जतिखेर बुहार्तनको आर्तनाद थियो। आजको प्रविधिले त भिडियोमा श्रव्य–दृश्य कुराकानी गराइरहँदा र अलिकति चेतनशील समाज भएका कारण त्यति धेरै बुहार्तनको वेदनालाई सायद बेहोर्नु पर्दैन होला तर त्यसको विपरीत बुहारीले सासूससुरालाई हेप्ने कुसंस्कार बढ्नु नितान्त नकारात्मक पक्ष हो। परिवार र हरेक सदस्यको मर्यादाभित्र हाम्रो नेपाली समाजको ठुलो परिवार पनि सुखी भएर रमाइलो ढङ्गमा खुसी भएको देखिन्छ। कतिपय संस्कारभित्र अन्धविश्वासका विषाक्त विचार पनि छन्। मातातीर्थ औँसीले चाहिँ पारिवारिक सद्भावलाई कायम राख्न, दर्जा अनुसारको श्रद्धाको अनुशासन सिकाउन तथा आमाको महिमा र त्यागको अनुभूति दिलाउन सिकाएको छ।

मातातीर्थ औँसीको पर्वले जैविक अस्तित्वसँग भावनात्मक गरिमालाई बोध गराएको हुन्छ। जन्मदिने आमाको प्रशव वेदनालाई, त्याग र बलिदानलाई स्मरण गरेर आमा हुनेले भेटेर श्रद्धाभाव राख्ने, सेवा गर्ने अनि आमा नहुनेले तीर्थ स्थानमा गई वा जलाशयमा पूजाअर्चना गर्दै दानदक्षिणा गर्ने प्रचलन रहिआएको छ। नारी शिक्षित भए परिवार शिक्षित हुन्छ भन्ने भावनाद्वारा हाम्रो संस्कृतिले नारीलाई सम्मान गर्ने सभ्यतालाई हस्तान्तरण गरेको हो भन्न सकिन्छ। आमाबाबाको ज्ञान कोरा पुस्तकीय ज्ञानभन्दा बढी ओजिलो हुन्छ। आमाबाबाले नैतिक आदर्शताका पाठ, जीवनका पाठ, भोगाइ, कथाव्यथालाई सिकाएर सन्ततिको लाडप्यारमा आफूलाई समर्पित गरेका हुन्छन्। बाबा–आमाको सद्भावको एकमुष्ट वात्सल्यसँग असल सन्तानको निर्माण हुन्छ। वास्तवमा बाबाले चाहेर पनि आमाको जसरी ममतालाई प्रकट गर्न सक्दैनन् किनकि पेटमा नौ महिना बोक्नेदेखि वाक्कव्याक्क, शारीरिक थकान, अस्वस्थता हुँदै प्रशव वेदनाका कहरलाई आमाले शारीरिक र मानसिक रूपमा भोग्नु पर्छ। बाबाले मानसिक रूपमा मात्र ती भावनालाई भोग्न पाउँछन्। आखिर प्राकृतिक आधारमा आमाबाबाको श्रद्धा र प्रेम अर्थात् बाबाको सन्तानप्रतिको समर्पणले भविष्यका सपना अगाडि बुनिएका हुन्छन्। यसर्थ आमालाई नै वास्तवमा प्राकृतिक गुरु मान्नु पर्छ। 

त्रिवि कीर्तिपुरमा दर्शनाचार्य अध्ययनरत हुनुहुन्छ। 

   

Author

कमला रेग्मी