एउटा पहाडियाले अर्को पहाडियालाई भेट्दा पहिलो प्रहर प्रश्न हुन्छ, “तपाईंको पहाड घर कहाँ हो ?” त्यसपछि “आफू कसमा ?” भनेर जात–विरादरी सोध्छन् या सोध्लान्। कवि भूपाल राईले लेखेको यही शीर्षकको कवितामार्फत चर्चाको गाँठो यो लेखोटमा गरिने छ। यसअघिको आलेखमा कविताकै चौदण्डीभित्र विचरण गर्नु परेकाले विषय विस्तारको गहिराइमा पुग्ने सीमा थियो। त्यो सीमित चौघेरा नाघेर यो खण्डमा वाक्यको अर्थ–राजनीति र भू–राजनीतिको सिक्का केलाउने प्रयत्न गरिएको छ। अर्थात् अघिल्लो आलेखको यो पूरक लेख हो।
राष्ट्रको परिभाषा
पछिल्लो पटक नेपालको संविधानले नेपाल राष्ट्रको परिभाषा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त’ भनेर ग¥यो, बहुभौगोलिक भनेर गरेन। नेपाली समुदायको बहुजनसाङ्ख्यिक विविधतालाई सम्बोधन ग-यो तर नेपाल राज्यको नयाँ सङ्घीय एकाइहरू निर्माण गर्दा वा राज्यको नयाँ रचना गर्दा परिभाषा अनुसार गरिएन। यसैले आज पनि प्रदेश १ मा पहिचानको आधारमा नामकरणको माग भइराखेको छ। १४ जिल्लाको गणितीय भूगोललाई प्रदेश बनाइयो र ‘कोशी’ नामकरण गरियो।
कोशी नामकरण पहाडे खस नस्लको कथित गोत्रको हवाला दिएर गरेकोमा अन्यथा लिइरहनु पर्दैन। यो नामले न त मधेश–तराईका रैथाने न थातथलो खुलेका आदिवासी जनजातिको पहिचानलाई नै सम्बोधन गर्दछ। पहाडमा बस्ने एक खास नस्लको किंवदन्तीमा आधारित गोत्रको परम्परागत पहाडे राष्ट्रवादलाई निरन्तरता दिन पञ्चायतले राखेको कोशी नामलाई ठप्पा लगाइदियो। यस्तो ढोँगी राष्ट्रवादको राजनीतिक खेती फस्टाएपछि वर्षौं परदेसिएका पहाडेहरूको भेट हुँदा भन्ने नै भए, “तपाईंको पहाड घर कता हो ?”
फूल, पशुपन्छी राष्ट्रिय ?
राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय पन्छी डाँफे उच्च पहाडी र हिमाली भेगमा मात्र पाइन्छ। नेपालको आधिकारिक निसान छापमा गुराँस फूलको मालाले नेपालको नक्सामाथि पहाड सिँगारिएको देखाइएको छ। राष्ट्रिय जनावर गाई, राष्ट्रिय रङ सिम्रिक घोषित छ। गाई सर्वत्र पाइने जनावर हो। सिम्रिक रातो रङको चूर्णबाहेक केही होइन। संवैधानिक रूपले राष्ट्रिय चिज वस्तुको हैसियत पाएका यी वस्तु कुन नेपाली समुदायको राष्ट्रिय पहिचान र सभ्यतासँग सम्बन्धित छ ? नेपालमा मात्रै पाइने भएर राष्ट्रिय भएका हुन् ? अन्यत्र देशमा पनि त यी चिजवस्तु पाइन्छन्। कमसे कम आदिवासी जनजाति, मधेशीलाई त सम्बोधन गर्ने यी चिज होइनन्। खस–आर्यलाई पनि त गर्दैन। एउटा धर्मविशेषको धार्मिक मनोविज्ञानसँग सम्बन्धित पशु (गाई) लाई राष्ट्रियको दर्जा दिएर कस्तो अन्धविश्वासी नेपाली राष्ट्रियता निर्माण गर्न खोजिँदै छ ? त्यो पनि धर्मनिरपेक्षताको लेपन लागेको संविधानको अगाडि ? यही धङधङीमा आज पनि पहाडको पुख्र्यौली महìव घटेको छैन, यसरी अनायास वाक्य फुट्छ, “साँच्ची तपाईंको पहाड घर कता हो ?”
राष्ट्रियतामा कैफियत
नेपालको यो स्वरूप गोर्खा राज्य विस्तार थियो या एकीकरण ? मुख्य राजनीतिक दलको घोषणापत्रमा यो विषय खुट्टिँदैन। राप्रपाबाहेकका दल गोर्खा राज्यको विस्तार पनि भन्न नसक्ने, एकीकरण भन्न पनि अलमल गर्ने गर्दै आएका छन्। यसैले नेपालको राष्ट्रियता, स्वाधीनता, क्षेत्रीय अखण्डताको राग अलापिरहनु पर्छ। बेला कुबेला राष्ट्रियता, स्वाधीनता धरापमा परेको सुन्नमा आइरहन्छ। राष्ट्रियता खतरामा परेकाले राष्ट्रिय मेलमिलापको नीति आएको कुरा आउँछ। कुनै बेला पञ्चायतको विरोधमा लाग्नेलाई ‘अराष्ट्रिय तìव’ को ट्याग नै लगाएर कारबाही गरिन्थ्यो। राष्ट्रियताका गलत आख्यानले ल्याएको यो व्याख्यान हो।
विश्वका धेरै देशभन्दा जेठो भारत, अमेरिकाभन्दा पनि जेठो देश नेपाललाई के तल वितल परिरहन्छ र राष्ट्रियता, स्वाधीनता, अखण्डताको भूतले तर्साइरहन्छ ? वास्तवमा राष्ट्रियताको व्याख्या नै गलत छ कि भनेर दिमागी मन्थन किन नगर्ने ? परम्परागत राष्ट्रियताको चार दिवारी भूगोल अर्थात् बाह्य राष्ट्रियतालाई मात्र राष्ट्रियता ठानियो। आन्तरिक राष्ट्रियता अर्थात् समुदायको राष्ट्रियतालाई सम्बोधन गरिएन। अहिले पनि गर्ने काम भएकै छैन। आन्तरिक राष्ट्रियता बलियो बनाए बाह्य राष्ट्रियता स्वतः बलियो हुन्छ भन्नेमा दिमागी मन्थन हुन सकेन। समुदायको पहिचान र सभ्यतायुक्त राष्ट्रियता साम्प्रदायिक एवं जातिवादी हुन पुग्यो। राष्ट्रियताको यही एक पाखे व्याख्यालाई जोगाउन हजार नालीबेली लगाइएको हो। त्यो नालीबेली पहाडे खस राजा महेन्द्रकृत राष्ट्रवाद हो।
यस्ता अलौकिक राष्ट्रवादलाई सिँगार्न पशुपन्छी, फूल–फलेदो, रङको सहारा लिनु परेको छ। यसैले त मधेशमा दसै पुस्ता बसे पनि मधेशको नाम लिन हिच्किचाहट हुन्छ र गर्वका साथ भन्छन्, “हाम्रो पहाड घर फलाना चिलाना ठाउँ हो।” चन्द्र सूर्य अङ्कित झन्डाको बौद्धिक विलासयुक्त अर्थ छ। विश्वमा कुनै देशको राष्ट्रिय झन्डाभन्दा फरक, चन्द्र सूर्यले दिने प्रभाव आदिमा बहस हुन्छ। कुनै पण्डाले अनेक अर्थ लगाएको भरमा हाम्रो राष्ट्रियता स्तनधारी जनावर, पन्छी, फूलफलेदो देखाएर राष्ट्रियता अथ्र्याउन अभिशप्त छौँ। भिल्लको देशमा मणीमाणिक्य खोजे झैँ राष्ट्रियताको जरोकिलो खोज्नमा अभिसप्त छ। चुच्चे नक्सारूपी ख्याली पुलाउको धुन नेपथ्यमा पुगिसक्यो।
‘ग्रेटर नेपाल’ रूपी खिचडी बसालेर बलात् नेपालीजनको भावनात्मक मोलतोल भइरहेको छ। ग्रेटर नेपालको नक्सा राख्ने महान् राष्ट्रवादी, नराख्ने जति राष्ट्रघाती बनाउने उपक्रम चलेको छ। ग्रेटर नेपालको नक्सा सयन कक्षमा कोरेर कुन राष्ट्रवादको हरिकीर्तन गराउँदै छौ ? या अर्को राष्ट्रघातको सुगौलीलाई चुलेनिम्तो दिँदै छौ ? गजराज मिश्र र चन्द्रशेखर पाध्यायको नयाँ अवतारीको भूमिका त गरिरहेका छैनौ ? दक्षिण एसियाको आजको भू–राजनीतिमा यो सब सम्भव हुने कुरा हो ? दिउँसै तारा देखाउने सौर्यमण्डलीलाई सोधिने प्रश्न हुन्। यस्ता ढोँगी राष्ट्रवादबाट बेलैमा सचेत हुन जरुरी छ। प्रेमिकालाई बसमा पार्न सुनको तार झार्ने कुरा कल्पनामा मात्र हुन्छ। सोम शर्माको सातुको कथा सम्झेर मिठो निद्रा आउला तर तन्द्रामा आउँदा घैँटो फुटेर सर्वस्व भइसकेको हुने छ।
रहल–पहल
भौगोलिक राष्ट्रवादको अर्थ हुन्न। त्यसमाथि एक पाखे पहाडे एक नस्लीय, परम्परागत राष्ट्रियताको त कुनै माने हुन्न। राष्ट्र भनेको पछिल्लो संविधानले परिभाषित गरेको कमसे कम मूल्य हो। ढुङ्गा माटो, खोलानाला, पशुपन्छी, बोटबिरुवाले राष्ट्रको परिभाषा गर्नै सक्दैन। भूगोलले राष्ट्रियता जोगाउने पनि होइन। राष्ट्र भनेको जनता जनार्दन हुन्। जनसमुदायकै पहिचान र सभ्यता हो। जनताको अर्थ–राजनीतिक जीवन, साझा भाषा, मनोविज्ञान र गौरव हो। हिजो राजा महेन्द्रले ‘विकासका लागि राजनीति’को नाममा एकल राष्ट्रवादको नारा छरे।
आज ‘विकास र समृद्धि’ को नाममा त्यही राष्ट्रवादलाई कोरल्न खोजिँदै छ। कसै कसैले त अझ ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारामा भुल्याएर सडेगलेको, मिति पुगेको राष्ट्रवादमा आधारित राष्ट्रघात गर्न खोजिरहेका छन्। चुच्चे ढुङ्गो उही टुङ्गो भने झैँ परम्परागत राष्ट्रवादलाई नयाँ लेपन गरिएको आजको राष्ट्रियताको यो भग्नावशेष हो। पहाडे राष्ट्रवादको मालश्री गाउनुको साटो नयाँ राष्ट्रियताको खोजी आजको कार्यभार हुनु पर्छ। अनि मात्र हाम्रो थेगो, “तपाईंको पहाड घर कहाँ हो ?” भन्ने वाक्य छुट्ने छ।
लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ।