• १ जेठ २०८२, बुधबार

बाघको छाला र हड्डीसहित तीन जना पक्राउ

blog

प्रहरीले बरामद गरेको बाघको छाला र हड्डी ।

सिराज खान 

नेपालगञ्ज, असार १५ गते । कोहलपुरमा पाटेबाघको छाला र हड्डी सहित तीन जना पक्राउ परेका छन् । कोहलपुर इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट बाघको छाला र हड्डीसहित तीन जनालाई पक्राउ गरेको हो ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार पक्राउ पर्नेमा दैलेखको ठाटीकाँडा गाउँपालिका वडा नम्बर ४ घर भएका सुनिल चुनारा, सोही जिल्ला भगवती गाउँपालिका वडा नम्बर ५ का नबिन कुमार कसेर र अछामको पन्चदेवल गाउँपालिका वडा नम्बर २ का टोपेन्द्र शाही रहेका छन् ।

बाघको छाला र हड्डीको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा प्रहरीले कोहलपुर नगरपालिका ११ स्थित पूर्वपश्चिम राजमार्गमा जाँच गर्ने क्रममा बाघको छाला र हड्डी फेला पारी उनीहरूलाई नियन्त्रण लिइएको बताउनुभयो । 

डिएसपी तिवारीले बाघको छाला कहाँबाट ल्याइएको हो र उक्त कार्यमा अरू को को संलग्न छन् सो बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो । यसअघि पनि धेरै पटक कोहलपुरबाट बाघ, हात्ती, गैँडा लगायत बहुमूल्य जनावरका अङ्गहरू तस्करी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्दै आएको छ ।