• १ जेठ २०८२, बुधबार

कोहलपुरको अत्याधुनिक बसपार्क साउनबाट सञ्चालनमा आउने

blog

कोहलपुरमा निर्माण गरिएको अत्याधुनिक नमुना बसपार्क । तस्विर : सिराज खान ।

सिराज खान 

नेपालगञ्ज, असार १५ गते । बाँकेको कोहलपुरमा २८ करोडको लागतमा निर्माण गरिएको पश्चिम नेपालकै अत्याधुनिक नमुना बसपार्क आगामी साउन १ बाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । गत चैत महिनामै निर्माण पुरा गरिएपनि सञ्चालनका लागि चार पटक बोलपत्र आह्वान गरिएपनि सर्त अनुसारको बोलपत्र नपरेपछि सञ्चालनमा आउन ढिलाइ भएको हो । 

बसपार्क ठेक्कामा सञ्चालनका लागि पाँचौँ पटक आह्वान गरिएको बोलपत्र अनुसार बागेश्वरी यातायात व्यवसायी प्रालि कोहलपुर ११ ले ठेक्का पाएपछि साउन एक गतेदेखि बसपार्क सञ्चालनमा आउने भएको हो । बागेश्वरी यातायात व्यवसायी प्रालिका महासचिव टङ्क बस्यालले बसपार्कको व्यवस्थापनका लागि आफूहरूको बोलपत्र स्वीकृत भएको जानकारी दिँदै साउन एक गते बसपार्कको उद्घाटन गरेर सञ्चालनमा ल्याउने बताउनुभयो । उहाँले आफ्नो प्रालिले बसपार्क व्यवस्थापनका लागि प्रवेश, टिकट काउन्टर, शौचालय मर्मत सम्भार, ब्लक र पार्किङको व्यवस्थापन गर्ने बताउनुभयो ।

महासचिव बस्यालका अनुसार प्रालिले तीन वर्षसम्म बसपार्क सञ्चालन गर्नका लागि ठेक्का पाएको छ भने वार्षिक ७१ लाख ७७ हजार ७७७ रुपियाँ तिर्ने गरी बोलपत्र स्वीकृत भएको छ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सो बसपार्कमा बस पार्किङ, टिकट काउन्टर सपिङ कम्प्लेक्स लगायतका सबै संरचना छन् । बसपार्कमा तीन वटा प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैङ्क तथा सुरक्षा निकाय पनि रहने व्यवस्था रहेको छ । सो बसपार्कबाट चार दर्जनभन्दा बढी लामो दुरीका सवारी साधन एकै पटक गन्तव्यमा पठाउन सकिने छ । 

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यले पश्चिम नेपालकै अत्याधुनिक कोहलपुर बसपार्क सञ्चालनमा आएपछि नेपालगञ्ज र कोहलपुरबाट देशभरि यातायात सञ्चालन गर्ने यातायात व्यवसायीलाई सहज हुनुका साथै यात्रुलाई पनि राम्रो सुविधा मिल्ने बताउनुभयो । 

नगर प्रमुख आचार्यका अनुसार बसपार्क सञ्चालनका लागि कोहलपुर बसपार्क व्यवस्थापन कार्यविधि, २०७९ निर्माण गरिएको छ । यो बसपार्कबाट देशको पूर्व, पश्चिम र उत्तर देखिनका विभिन्न स्थानमा लामो दुरीका यातायातका साधनहरू चल्ने छन् । 

सो बसपार्क सञ्चालनका लागि नगरप्रमुखको अध्यक्षतामा पाँच सदस्यीय बसपार्क व्यवस्थापन समिति गठन गरिएको छ । बसपार्क निर्माणको लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ ।

वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता भएको नगरपालिकाले जनाएको छ ।