शालिग्राम नेपाल
चितवन, असार १४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बदनाम गर्ने ठाउँ नपाएपछि जलहरी काण्ड मच्चाएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
पशुपतिनाथको मन्दिरमा राखेको जलहरी विषयमा अनावश्यक उचालेर मिडियाबाजी गरेको उहाँले टिप्पणी गर्नुभयो । “पहिला पित्तल राखेको भनियो, ११ किलो सुन हरायो भनियो, जाँचबुझ हुँदा सबै सुन त्यही भेटियो” अध्यक्ष ओलीले थप्नुभयो, “सबै कुरा त छानबिनबाट प्रष्ट भइसकेको छ, अझै केही गलत मानसिकता भएकाहरू त्यसलाई उछालिरहेका छन् ।”
पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष ओलीले काँग्रेस र एमाले मिलेर सरकार बनाउने विषयमा कुनै छलफल नभएको बताउनुभयो । बाहिर आएको हल्लाजस्तो सरकार बनाउने विषयमा छलफल भएको छैन उहाँले भन्नुभयो ।
तत्काल एमाले र काँग्रेस कुनै पक्षबाट सरकार बनाउने विषयमा प्रस्ताव नभएको उहाँको भनाइ छ । सरकारको कामको विषयमा धारणा राख्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सरकारले गर्व गर्नलायक कुनै काम नगरेको टिप्पणी गर्नुभयो ।
‘भ्रष्टाचारको विषयमा खुलेका फाइल र नियन्त्रणमा लिएका विषय सरकारले गरेको होइन’ अध्यक्ष ओलीले भन्नुभयो, ‘निरन्तर प्रक्रियाबाट अगाडि बढेको विषय हो यो । देशलाई दीर्घकालीन विकास गर्ने काम सरकारले गर्न नसकेको उहाँले बताउनुभयो ।
पत्रकारले राखेको प्रश्नमा अध्यक्ष ओलीले सरकारको लोकप्रियता हरेक दिन ओरालो लाग्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको काम व्यक्तिगत स्वास्र्थसँग जोडिएको छ, देश बनाउन र जनताको हितका पक्षमा काम गरेको पाइएको छैन ।”
प्रोफेसरको हड्डी भाँच्ने मानिसलाई छाड्ने काम सरकारले गरेको छ, अध्यक्ष ओलीले भन्नुभयो, “के यसलाई राम्रो काम भन्न सकिएला ?” धान दिवसको अवसरमा चितवनमा आयोजना हुने कार्यक्रमका लागि आज यहाँ आउनुभएका अध्यक्ष ओली शुक्रबार दिनभरि विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।