• १३ मंसिर २०८१, बिहिबार

जटिल बन्दै आत्महत्या

blog

तानसेन समाचारदाता

पाल्पा, असार १४ गते । आत्महत्या नेपाली समाजका लागि जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । यो एउटा सामाजिक समस्या भएको सम्बद्ध अधिकारी बताउँछन् । विशेष गरी युवा वर्गमा बढ्दो निराशा, बेरोजगारी, दीर्घरोग, गरिबी, प्रेम सम्बन्ध तथा आवेगका कारण आत्महत्या जटिल र चुनौतीपूर्ण बन्दै गएको बुझाइ छ । 

बालबालिका तथा किशोर किशोरीले आवेग र प्रेम सम्बन्धका कारण आत्महत्या गर्ने गरेका छन् भने महिला तथा ज्येष्ठ नागरिकले दीर्घरोग, निराशा र बेरोजगारीका कारण आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

यहाँका स्थानीय तह, प्रहरी, महिला तथा बालबालिका सम्बद्ध सामाजिक सङ्घ संस्थाले आत्महत्या न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरे पनि उक्त समस्या घट्न सकेको छैन । पछिल्लो समय केहीले गरिबी र दीर्घरोगका कारण आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिका र किशोर–किशोरीले आवेग र प्रेम सम्बन्धका कारण आत्महत्या गरेको पाइएको छ ।” केही वर्ष अघिसम्म विष सेवन र नदीमा हाम फालेर आत्महत्या गर्ने क्रम बढ्दो थियो । केही वर्षयता भने डोरीको प्रयोग गरी पासो लगाइ आत्महत्या गर्नेको सङ्ख्या बढेको जिल्ला प्रहरीको तथ्याङ्कमा उल्लेख छ । 

नेपाल प्रहरीले यसलाई सामाजिक समस्याका रूपमा बुझ्नुपर्ने उल्लेख गरेको छ । पाल्पामा आर्थिक वर्ष २०७९/८० को वैशाखसम्ममा ६७ जनाले आत्महत्या गरेका छन् । तीमध्ये १८ वर्षमुनिका तीन जनाले आत्महत्या गरेका छन् । यस्तै १९ वर्षदेखि ४० वर्षसम्मका २४ जना र ४० वर्षमाथिका ४० जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक हेरम्व शर्माले यस जिल्लाको आत्महत्यासम्बन्धी तथ्याङ्क हेर्ने हो भने लुम्बिनी प्रदेशकै पहिलोमा रहेको बताउनुभयो । 

आत्महत्यासम्बन्धी समस्या यहाँको प्रमुख समस्याका रूपमा रहेको उहाँले बताउनुभयो । यस्ता घटनालाई न्यूनीकरण गर्न स्थानीय जनप्रतिनिधि, स्थानीय सरकार, अभिभावकलगायत सरोकारवाला पक्ष सचेत हुनुपर्ने उहाँ बताउनुहुन्छ । 

पाल्पामा अघिल्लो वर्ष ७० भन्दा बढीले आत्महत्या गरेका थिए । आत्महत्याका घटनामा कमी ल्याउन पालिकाले परामर्शसहितका अन्य सेवा दिनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय सरकारले आत्महत्यासम्बन्धी समस्यालाई गम्भीर रूपमा लिन नसकेका कारण उक्त समस्या बढ्दै गएको स्वास्थ्य कार्यालय अधिकृत विश्वनाथ न्यौपानेले बताउनुभयो ।