• २० असोज २०८१, आइतबार

विपद् प्रभावितका लागि ‘गाउँ आवास कार्यक्रम’

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १२ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले बाढी पहिरोसहित विपद्बाट प्रभावित हुने परिवारलाई लक्षित गरी ‘गाउँ आवास कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । आउँदो आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने गरी गाउँपालिकाले उक्त कार्यक्रम पारित गरेको हो । 

आइतबार सम्पन्न १३ औँ गाउँ सभा तथा अधिवेशनमार्फत कार्यक्रम पारित गर्दै विपद् प्रभावित तथा विपन्न परिवारलाई आवासको व्यवस्था मिलाउने गरी गाउँपालिकाले गाउँ आवास कार्यक्रम कार्यान्वयन गर्ने भएको हो । गत साता मात्र भीषण वर्षासँगै बाढी पहिरो जाँदा मानव बस्ती जोखिममा परेर केही परिवार घरबार विहीन भई विस्थापित हुनुपरेको अवस्था लाईसमेत दृष्टिगत गरी गाउँ आवास कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । 

सिरिजङ्घा गाउँपालिकाले गाउँ सभामार्फत नयाँ कार्यक्रमका रूपमा ल्याएको यस योजनाले बाढी पहिरोसहित विपद्बाट प्रभावित भएका परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको पालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार माबोले बताउनुभयो । उपाध्यक्ष माबोका अनुसार जनमुखी कार्यक्रमका रूपमा ल्याइएको गाउँ आवास कार्यक्रमसँगै गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्न होमस्टे (घर बास) कार्यक्रमका लागि ५० प्रतिशत अनुदान दिने व्यवस्था मिलाएको छ ।

यस्तै फलफूलको बजारीकरण तथा रोजगारी सृजना गर्न जुस उद्योगका लागि सम्भाव्यता अध्ययन गर्ने, मागमा आधारित एक वडा एक बाली कार्यक्रम सञ्चालन गर्ने पनि गाउँपालिकाले योजना पारित गरेको छ । उपाध्यक्ष उपचार कार्यक्रममार्फत ज्येष्ठ तथा फरक क्षमता भएका नागरिकका लागि तीन–तीन महिनामा टोल–टोलमा पुगेर स्वास्थ्य परीक्षण साथै नसर्ने रोगका लागि निःशुल्क औषधि वितरण गर्ने कार्यक्रम पनि पारित गरेको छ । 

त्यस्तै शिक्षकहरूलाई मासिक रूपमै तलब भुक्तानी गर्नेजस्ता महत्त्वपूर्ण कार्यक्रमहरू गाउँ सभाले पारित गरेको उपाध्यक्ष माबोले जानकारी दिनुभयो । सिरिजङ्घा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ मा कार्यान्वयन गर्ने नीति तथा कार्यक्रम पालिकाका अध्यक्ष लालकृष्ण चौहान र बजेट योजना उपाध्यक्ष डाक्टर माबोले प्रस्तुत गर्नुभएको थियो ।