• १३ असार २०८१, बिहिबार

महिला तथा पुरुष लिग भलिबल असार अन्तिममा

blog

भलिबल लिग बारे जानकारी दिँदै आयोजक ।

काठमाडौं, असार ११ गते । नेपाल भलिबल सङ्घको आयोजनमा सातौँ प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग–२०८० असार अन्तिम साता हुने भएको छ ।

राजधानीमा आज पत्रकार सम्मेलन गर्दै नेपाल भलिबल सङ्घले वार्षिक कार्यक्रम (२०७९/८०) अनुरूप नेपालको राष्ट्रिय खेल भलिबललाई बृहत् रूपमा विकास, विस्तार र प्रवर्धन गर्दै र व्यावसायिकीकरण गर्दै लैजाने नीति अनुरूप असार २३ देखि ३० गतेसम्म सम्म सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग गर्न गएको जानकारी दिएको हो । 

लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, दावाँली मिलन क्लब काठमाडौं, केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल सङ्घ, शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लब रामेछाप, गरी आठ टोलीको सहभागिता रहने छ । 

यस्तै महिलातर्फ नेपाल पुलिस,होङ्गवाङ्गजी न्यू डायमन्ड यूथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब  बुटवल र गण्डकी प्रदेश भलिबल सङ्घ गरी ६ टोलीको सहभागिता रहनेछ । च्याम्पियनसिपमा सहभागी पुरुष तर्फ १५ र महिला तर्फ आठ टिमको प्रतिस्पर्धाबाट लिगका लागि पुरुष तर्फ ८ र महिला तर्फ ६ टिमको छनोट गरिएको  सङ्घले जनाएको छ । 

लिगमा एक टिमबाट तीन विदेशी खेलाडीले प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । लिगमा विजयी हुने टोलीले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने पुरुष क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पत्रकार सम्मेलनमा जानकारी  दिनुभयो । 

लिगको विजेता टिमले ६ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले एक लाख ५० हजार र चौथाले ७५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।  प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले जनही ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । 

प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्बाट ४० लाख रुपियाँ सहयोग भएको सङ्घले जनाएको छ ।