• १३ मंसिर २०८१, बिहिबार

दोबा र भुरुङ तातोपानीको सीमा विवाद समाधान

blog

सीमा विवाद मिलाउन दबाब दिन गाउँपालिकाको कार्यालयमा भेला भएका दोबाका स्थानीयहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असार ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई वडाबीच वर्षौँ देखिको सीमा विवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालिका १ दोबा र २ भुरुङ तातोपानीका बीच दुवै वडाको सीमा क्षेत्रमा पर्ने बस्ती, खेतीयोग्य जमिन, वन र चरन क्षेत्रको उपभोगका विषयमा वर्षौँ देखि विवाद चल्दै आएको थियो । 

आइतबार गाउँपालिकाको कार्यालयमा बसेको जनप्रतिनिधि सहितको बैठकले विवाद समाधान गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, दोबाका वडाध्यक्ष दिलीप गर्बुजा, भुरुङका वडाध्यक्ष ओम फगामी, जिसस सदस्य देव गर्बुजा र दुवै वडाका जनप्रतिनिधिहरूको संयुक्त बैठकले वर्षौँ देखिको सीमा विवाद सहमतिमा टुङ्गो लगाएको हो । 

वि.सं. २०४६-०४७ मा तत्कालीन समयमा गाविस विभाजन हुँदा दोबाका बासिन्दा बसोबास गर्दै आएको सुनारी बस्ती, जग्गा र लेकको चरन तथा वन क्षेत्र प्राविधिक त्रुटिका कारण भुरुङ तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर दुवै गाउँका स्थानीयहरुकाबीच विवाद हुँदै आएको थियो । 

सीमा विवादलाई लिएर असार ८ गते शुक्रबार दोबाका स्थानीयहरूले अन्नपूर्ण गाउँपालिकाको कार्यालयमा नाराबाजी सहित प्रदर्शन गरेका थिए । नक्सामा जस्तो सुकै भएपनि भोगचलन गर्दै आएको सिमाना अनुसार नयाँ नक्सा तयार पार्ने प्रक्रिया अघि बढाउने र सीमा क्षेत्रको जङ्गल दुवै गाउँका उपभोक्ताले आफूलाई जहाँ पायक पर्छ त्यही उपभोग गर्ने गरी यसअघि २०७४ कात्तिक १९ गते गरेको सहमति कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । 

नक्साको त्रुटि सच्चाएर नयाँ बनाउन विशेष गाउँ सभाबाट निर्णय गरेर सङ्घीय सरकारसँग प्रक्रिया अघि बढाउने र दुई वडाको विकास योजनाका लागि बजेट विनियोजनमा भूगोलको आधार नभएर हालकै अनुपातलाई आधार मान्ने सहमति पनि भएको भुरुङका वडाध्यक्ष फगामीले बताउनुभयो ।