• १० मंसिर २०८१, सोमबार

सेयर बजार सुधार कारोबार साढे छ अर्ब

blog

काठमाडौँ, असार ११ गते । अघिल्लो साता सामान्य सुधारिएर बन्द भएको सेयर बजार यो साताको पहिलो दिन उच्च अङ्कले सुधारिएको छ । ६२ अङ्कले उकालो लागेको परिसूचकलाई साथ दिँदै कारोबार रकम पनि साढे छ अर्ब पुगेको छ ।

आइतबार सेयर बजारमापक नेप्से परिसूचक ६२.२१ अङ्कले उकालो लागेर दुई हजार ११७.७३ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ९.६४ अङ्कले उकालो लागेर ३९५.६४ को बिन्दुमा पुगेर रोकिएको छ । 

समग्रमा पहिलो दिनको नेप्से ३.०३ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स २.५० प्रतिशतले उकालो लागेको छ । अघिल्लो साता पनि नेप्से ४.७५ अङ्कले उकालो लागेर बन्द भएको थियो ।

आइतबार दिनभर २७५ कम्पनीको एक करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर ९० हजार २४९ पटक खरिदबिक्री हुँदा छ अर्ब ४९ करोड चार लाख १२ हजार ६६५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा तीन अर्ब रुपियाँले बढी हो । कारोबार रकम धेरै समयपछिको उच्च बिन्दुमा पुगेको छ ।

आइतबार ४९ करोड ९० लाख ७३ हजार ९२० रुपियाँ बराबरको सेयर कारोबार भएर शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ भने सोल्टी होटल लिमिटेडको ३८ करोड ९० लाख ९३ हजार ५१७ रुपियाँ, हिमालय डिस्टिलरीको २४ करोड ३८ लाख १२ हजार ६४९ रुपियाँ र आइएमई जनरल इन्स्योरेन्सको २१ करोड ५३ लाख २० हजार २७० रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका १३ उपसमूहकै सूचक उकालो लागेको छ । जीवन बिमा उपसमूह सर्वाधिक ७.७९ प्रतिशतले उकालो लागेको पहिलो दिन निर्जीवन बिमा उपसमूह ६.०९ प्रतिशतले उकालो लागेको छ । यस्तै वित्त ५.७५ प्रतिशत, अन्य ५.२२ प्रतिशत, व्यापार ५.०३ प्रतिशत, विकास बैङ्क ४.६५ प्रतिशत, उत्पादन तथा प्रशोधन ४.३३ प्रतिशतले उकालो लागेको छ ।