• ७ पुस २०८१, आइतबार

अख्तियारले जोख्यो जलहरी , के हो जलहरी विवाद ?

blog

काठमाडौँ, असार ११ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो।

सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरको उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको छ। जलहरीको निर्माण सोही स्थानमा गरिएको थियो। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा एक सय छ दशमलव ४३२५ किलोग्राम सुन देखिएको छ। सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १.३७५ किलोग्रम देखिएको छ। सु्नको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ।

के हो जलहरी विवाद ?

पशुपतिमा सुनको जलहरीको विषय प्राण–प्रतिष्ठा गर्नुपूर्व नै विवादित बन्यो। मुचुल्का उठाउने क्रममा भएको सङ्ख्यात्मक त्रुटिका कारण जलहरीको विषय विवादित बनेको हो। 

तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७७ माघ १२ गते पशुपतिनाथको दर्शनका क्रममा आगन्तुक पुस्तिकामा “आज श्रीपशुपतिनाथको दर्शन गर्ने सुअवसर मिल्यो। स्वर्ण जलहरी बनाउने यहाँको समितिको इच्छा पूरा गर्न अपुग हुने ३० करोड रुपियाँ नेपाल सरकारको तर्फबाट तत्काल उपलब्ध गराइने छ। आगामी महाशिवरात्रिसम्ममा सो जलहरी निर्माण भइसक्ने छ भन्ने विश्वास लिएको छु,” लेख्नुभएको थियो। 

त्यसको दुई दिनपछि माघ १४ गते कोषका अध्यक्षसमेत रहनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको कोष सञ्चालक परिषद्को बैठकले सुनको जलहरी निर्माण गर्ने निर्णय गरेको थियो। कार्यकारी निर्देशक खतिवडाले सोही बैठकले जलहरी निर्माणका लागि लाग्ने अनुमानित ८० करोडमध्ये ३० करोड रुपियाँ सरकारले बेहोर्ने र बाँकी ५० करोड कोषले बेहोर्ने गरी निर्णय भएको बताउनुभयो।

कार्यकारी निर्देशक खतिवडाले राष्ट्र बैङ्कबाट दुई पटक गरी १०३ किलो ७९३.१०० ग्राम सुन खरिद गरिएको बताउनुभयो। उहाँका अनुसार सुरक्षाको जिम्मा सरकारले नै खटाएको विमानस्थलस्थित कालीदल गणले लिएको र सेनाकै रोहवरमा पशुपति क्षेत्रको रुद्रगारेश्वरस्थित ज्यासलमा राखिएर जलहरी बनाइएको बताउनुभयो। उहाँले जलहरी निर्माणका क्रममा तयार गरिएको मुचुल्का बमोजिम ९६ किलो ८२२ ग्राम सुनको जलहरी बनाएर चाँदीको जलहरीमाथि राखिएको र बाँकी रहेको १० किलो ९७६ ग्राम सुनमध्ये जलहरीको माथिल्लो भागको सुरक्षाका लागि रिङ, पेटी तथा सुनका किला बनाइएको हो। उहाँले बाँकी रहेका टुक्राटाक्री सुन सेफमा राखिएको र सोको पनि नापतौल भएको बताउनुभयो।

महालेखाको प्रश्न

जलहरी राख्नुपूर्व सुरु भएको विषय अदालतमा पुग्यो। सुनको जलहरी राख्नु सम्पदाविरुद्ध हुने दाबीसहित नेपाली कांग्रेसका नेता नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको थियो। सर्वोच्चले २०७७ फागुन १२ गते कोषको नाममा आदेश जारी गरेपछि जलहरीमा लाहा तथा किला लगाउने काम थाती राखिएको थियो। उहाँका अनुसार २०७७ चैत २ गते सर्वोच्चले निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश दिएपछि बाँकी काम सुरु भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सो काम रोकिएको थियो।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा कोषको मुचुल्कामा ‘जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको’ उल्लेख छ।  

प्रतिवेदनमा रिङ बनाउन प्रयोग भएको सुनको मूल्य सात करोड ८६ लाख ४६ हजार रुपियाँ रहेको उल्लेख छ। जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नगरिएको प्रतिवेदनमा प्रस्तुत गरिएपछि यो विषय विवादित बनेको हो।