भक्तपुर, भदौ २१ गते । एक दशकअघिसम्म भक्तपुरको सूर्यविनायक नगरपालिकाका फाँटमा दसैँअघि धान गोड्न व्यस्त हुन्थे स्थानीयवासी । वडा नं. ४ र ५ स्थित दधिकोट, कटुन्जेदेखि बालकोटसम्मका फाँटमा मानोको मुरी फल्ने खेत थिए । दस वर्षको अन्तरालमा बाली लगाउने खेतमा क्रमशः बस्ती विस्तार भयो । बस्ती विस्तार गर्नका लागि भूमाफियाले भक्तपुरका खेतीयोग्य जमिन रोजे । खोलाछेउका जमिन कित्ताकाट गरेर आवास परियोजना विस्तार भए । भूमाफियाले खोला खुम्च्याएर जग्गा प्लटिङ गरे, बेचे । घर बन्ने क्रममा तीव्र भएपछि खेतमा सोसिने पानी खोलातर्फ सोझिन थाल्यो । त्यसैको परिणामस्वरूप भक्तपुरका खोला किनारका बस्ती बाढी र डुबानको जोखिममा परेका छन् ।
सूर्यविनायक वडा नं. ५ का स्थानीय अगुवा अनिता पाण्डेका अनुसार घट्टेखोला किनारमा विस्तार भएका धेरै जसो घर र बस्ती बाढीको उच्च जोखिममा छन् । उहाँले गँडेधारा क्षेत्रमा मात्रै ६० वटाभन्दा धेरै घर जोखिममा रहेको र गत वर्षको जस्तै बाढी आए घरमा क्षति पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले खोलालाई पैनीको आकारमा बगाइएको थियो । २०८१ असोज १० देखि १३ गतेसम्मको भीषण वर्षाका कारण खोलाले आफ्नो आकार लियो । खोलाको बहाव क्षेत्र साँघुरो हुँदा सन्त्रास बढेको हो ।”
सूर्यविनायक नगरपालिका–४ का अध्यक्ष लछुराम न्यौपानेले वडा नं. ४ र ५ सँगै नगर क्षेत्रका खोला किनारका एक सयभन्दा धेरै घर खतरामा रहेको बताउनुभयो । उहाँका अनुसार जग्गा प्लटिङ गर्नेले खोला मिचेर घर बनाएका कारण बाढी आउँदा घरको जग हल्लिने अवस्था सिर्जना भएको हो ।
उहाँले भन्नुभयो, “भूमाफिया नै त नभनौँ तर जग्गा प्लटिङ गर्नेहरूले व्यवसाय गरेर गए । अहिले बसोबास गर्नेहरू समस्यामा परेका छन् । नगरपालिकाले खोलाको बहाव क्षेत्र कायम गरेर अब यस्तो जोखिम नहुने गरी प्रबन्ध गर्दै छ ।”
भूमाफियाको रजगज
भक्तपुरका सूर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिकासहितका क्षेत्रमा रहेका जलाधार अतिक्रमणको शृङ्खला दुई दशकयता तीव्र भएको पाइन्छ । सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले खोलाकिनार अतिक्रमण गरी बनाइएका घर भत्काउन नसकिए पनि पछिल्ला दिनमा नगरपालिकाले यस्तो प्रवृत्ति रोकेको बताउनुभयो ।
सूर्यविनायक नगरपालिकाले घट्टेखोलाको बहाव क्षेत्रलाई २४ मिटर कायम गरी तटबन्ध बनाउन ५७ लाख रुपियाँ छुट्याएको वडा नं. ५ का अध्यक्ष राजकुमार जोशी बताउनुहुन्छ । नगरपालिकाको बजेटबाट अब ५० देखि ५५ घनमिटर पर्खाल निर्माण गर्न बाँकी छ ।
उहाँले भन्नुभयो, “जग्गा लिएर प्लानिङ गर्ने मान्छे को थियो ? हामीले सोधखोज गर्ने विषय नै भएन । हामीसँग सम्बन्धित विषय भएन । जोखिम छ, देखेको पनि छ तर बजेट छैन । मैले जोखिम देखेर के गर्ने ? बजेट अभावका कारणले काम गर्न सकिएको छैन ।”