• २० वैशाख २०८१, बिहिबार

विदेह नगरपालिकाले ल्यायो ७० करोडको बजेट

blog

कार्यक्रममा नगरप्रमुख बेचन दासले बजेट प्रस्तुत गर्नुहुँदै । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, असार १० गते । धनुषाको विदेह नगरपालिकाको अगामी आर्थिक वर्ष २०८०–८१ का लागि ७० करोड पाँच लाख तीन हजार पाँच सय एक रुपियाँको आयव्ययसहितको नीति कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।

आइतबारदेखि धनुषाको तिनकौरिया चोकमा सुरु भएको सातौं नगरसभामा नगरप्रमुख बेचन दासले सो नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । नगरप्रमुख दासले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ५२ करोड ३२ लाख ८६ हजार पाँच सय र पुँजिगततर्फ १७ करोड ७२ लाख १७ हजार रहेको छ । 

बजेटको स्रोतको रुपमा नेपाल सरकारबाट प्राप्त वित्तीय अनुदान १० करोड ७१ लाख, सशर्त अनुदान १९ करोड राजस्व वाँडफाँटबाट प्राप्त हुने आठ करोड ६३ लाख २२ हजार, सामाजिक सुरक्षाका लागि १५ करोड, नगरपालिकाको चालु आर्थिक वर्षको बाँकी रहने मौज्दात १० करोड छ लाख, प्रदेश सरकार वित्तीय सामानीकरण ७७ लाख ३० हजार, प्रदेश सरकारको राजस्व वाडँफाँटबाट प्राप्त हुने ४५ लाख, मालपोत कार्यालयबाट प्राप्त हुने रजिस्ट्रेसनबापतको ४५ लाखसहितको छ । 

नीति कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख साहले किसान, मजदुर, दलित, जनजाती, पिछडावर्ग लगायतका समुदायको जिवनमा सुधार हुनेखालका कार्यक्रमहरु नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएको बताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक लखन दासले नगर प्रमुखले प्रस्तुत गर्नुभएको बजेटले नगरको विकास र समृद्धिमा महत्वपुर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

तीन वटै तहका सरकारले एक अर्कासँग समन्वयगरी अघि बढेमा नेपालको विकासले फड्को हान्ने उहाँले बताउनुभयो । कार्यक्रममा विदेह नगरपालिकाका कार्यकारी अधिकृत सञ्जिव साहले नगरसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।