• १२ असोज २०८१, शनिबार

‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशन हुने

blog

काठमाडौं, असार १० गते । प्रकाशक क्रियटिभ बुक्सले नेपाली खेलकुदको समग्र इतिहासको वृत्तान्त खोतल्ने खोजमूलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशन गर्ने भएको छ । 

खेल पत्रकार नवीन अर्यालले लेख्नुभएको पुस्तक शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा यही असार चौथो साता सङ्घीय राजधानी काठमाडौंमा सार्वजनिक गर्न लागिएको प्रकाशकले जनाएको छ । लामो समय खेलकुद पत्रकारितामा संलग्न अर्यालको यो पहिलो पुस्तक हो । 

पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि अहिलेसम्मको खेलकुद वृत्तान्त समेटिएको छ । नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको सङ्घर्षको कथा र खेल–यात्राको वर्णन गरिएको छ ।

साथै, सीमित साधन स्रोतका बिच नेपालको घरेलु खेलकुदलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भूमिका र योगदानलाई पुस्तकमा लिपिबद्ध गरिएको बताइएको छ ।

ऐतिहासिक तस्बिरहरू, चिठीपत्र र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारले पुस्तकलाई तथ्यगत र विश्वसनीय बनाउनेछ । नेपाली खेलकुदबारे अध्ययन गर्न चाहनेका लागि पनि यो पुस्तक महत्त्वपूर्ण दस्ताबेजका रूपमा रहने विश्वास गरिएको छ । 

नेपालको खेल इतिहासका सम्बन्धमा लेखिएका पुस्तकको उपस्थिति करिब शून्य रहेका बेला यो पुस्तक खेलप्रेमी पाठक, खेलाडी, अध्येता, प्रशिक्षक र पदाधिकारीलाई इतिहास जान्न महत्त्वपूर्ण सामग्री बन्ने अपेक्षा प्रकाशक क्रियटिभ बुक्सले गरेको छ । क्रियटिभ बुक्सले यसअघि पनि खेलकुदमा आबद्ध व्यक्तिको बारेमा पुस्तक प्रकाशन गरेको थियो ।