गोकर्ण पौडेल
तुलसीपुर असार १० गते । तुलसीपुर उपमहानगरपालिकाले मासु र दूध उत्पादन गर्ने किसानलाई नगद अनुदानको व्यवस्था गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खड्काले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वार्षिक रूपमा एक हजार खसीको मासु र एक हजार किलो स्थानीय जातका कुखुराको मासु उत्पादन गर्ने किसानलाई प्रति किलो दश रुपियाँ अनुदान दिइने बताउनुभयो ।
साथै वार्षिक पन्ध्र सय लिटर दूध उत्पादन गर्ने किसानलाई प्रति लिटर पाँच रुपियाँ अनुदानको व्यवस्था गरिएको छ । नीति तथा कार्यक्रममा रैथाने जातको धान (सिम्ठारो र तिल्की) धान उत्पादनका लागि वडा नम्बर ४, ११, १८ र १९ लाई पकेट क्षेत्रका रूपमा विकास गरिने भएको छ । यस्तै, कृषितर्फ कृषि विद्युत मिटर महसुलमा छुटको व्यवस्था गरिएको छ ।
उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षातर्फ दलित, शहीद परिवार, जनआन्दोलनका घाइते, अति विपन्नमध्येबाट डाक्टर, इन्जिनियर, प्राविधिक शिक्षा स्नातक तह पढ्नेका लागि मासिक पाँच हजार मेयर छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख छ । नीति तथा कार्यक्रममा कक्षा ६ सम्म सामुदायिक विद्यालयमा खाजा कार्यक्रम, कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम, सुस्त श्रवण र दृष्टिविहीन बालबालिकाहरूका लागि आवासीय पठनपाठनको व्यवस्था गरिने भएको छ ।
साथै विद्यालय बाहिर वडा कार्यालय, विद्यालय व्यवस्थापन समितिले तोकेको सीमा क्षेत्रभित्र मादक पदार्थ, सुर्तीजन्य पदार्थ र पत्रुखाना निषेध गर्ने भएको छ । सिँचाइ सुविधा र जैविक विविधता संरक्षण गर्नका लागि एक वडा एक पोखरी निर्माण गरिने भएको छ ।
नीति तथा कार्यक्रममा परम्परागत बाजा संरक्षणका लागि तुलसी महिला नौमति बाजा समूह, ग्वार खोला र तुही मानव सभ्यताको खोज अनुसन्धान, विद्युतीय सवारी साधन चार्जिङ्ग केन्द्र, चालिस माइक्रोनभन्दा पातलो प्लास्टिक निषेध गरिने भएको छ ।