बुटवल समाचारदाता
बुटवल, पुस ८ गते । लामो समयदेखि विस्तार हुँदै आएको बुटवल–नारायणगढ सडकखण्डमा हालसम्म ४२ वटा पक्की पुल निर्माण भएका छन् । तीमध्ये पूर्वी खण्डमा ३३ वटा र पश्चिम खण्डमा नौ वटा ठुला पुलको काम पूरा भएको आयोजनाले जनाएको छ । पश्चिम खण्डमा निर्माण गर्नुपर्ने सबै पुलको काम सकिएको छ भने पूर्वी खण्डमा एउटा पुल निर्माण हुन बाँकी छ ।
बुटवलदेखि दाउन्नेसम्मको खण्डमा पुल निर्माणको काम पूरा भइसकेको छ । आयोजनाका अनुसार यस खण्डमा निर्माण गर्नुपर्ने २५३ वटा कलभर्टमध्ये २४९ वटाको काम सम्पन्न भएको छ । बाँकी चार वटा कलभर्ट दाउन्ने क्षेत्रमा निर्माणाधीन छन् र ती कामलाई तीव्र रूपमा अघि बढाइएको आयोजनाले जनाएको छ ।
बुटवल–नारायणगढ सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी विकास खनालका अनुसार दाउन्ने क्षेत्रमा चैतसम्म यातायात सहज हुने गरी काम अगाडि बढिरहेको छ । पूर्वी खण्डतर्फ दुई सय मिटरभन्दा लामो पुलमध्ये अरुणखोलाको पुल निर्माण मात्रै बाँकी छ । अन्य पुलको निर्माण सम्पन्न भइसकेको स्थानमा एप्रोच सडकमा कालोपत्रे गर्ने काम तीव्र गतिमा भइरहेको छ ।
बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको निर्माण २०७५ माघमा सुरु भई २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले ठेक्का लिएको यो आयोजनामा हालसम्म तीन पटक म्याद थप भइसकेको छ ।