सलिम मियाँ
विजुवार, असार १० गते । प्युठानको सरुमारानी गाउँपालिकामा सबै जनप्रतिनिधीहरुका लागि एकै किसिमको पोसाक लागू गरिएको छ । पुरुषले लोगो सहितको कोट, पाइन्ट र महिला जनप्रतिनिधिले सारी र ब्लाउज लगाउन सुरु गरिएको हो ।
वडादेखी पालिकासम्मका जनप्रतिनिधीहरुले कार्यालय समय र औपचारिक कार्यक्रमहरूमा अनिवार्य पोसाक लगाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष झगवहादुर विश्वकर्माले बताउनुभयो । आम नागरिक तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि पोसाकमा एकरूपता ल्याउने निर्णय गरिएको अध्यक्ष विश्वकर्माको भनाइ छ ।
भोजपुरको पौवादुङमा गाउँपालिकाका जनप्रतिनिधिहरू एउटै पोसाकमा । तस्बिर: गोरखापत्र
उहाँले भन्नुभयो, “सङ्घीय र प्रदेश सरकारका प्रतिनिधिहरूको आफ्नै पोसाक छ, स्थानीय प्रतिनिधिको पनि आफ्नै पोसाक हुनुपर्छ भनेर एकैखाले पोसाक लागू गरेका हौँ । यसो हुँदा जनप्रतिनिधिलाई मर्यादित मात्र बनाउँदैन, जहाँ गएपनि सबैले सरुमारानीका जनप्रतिनिधि रहेछन् भनेर चिन्न पनि सक्छन् ।”
पोसाकसँगै सबै जनप्रतिनिधिले लोगो (चिह्न) समेत अनिवार्य गरिएको छ । नेपालको नक्सा, राष्ट्रिय झण्डासहित सरुमारानीको पहिचान झल्कने गरी लोगो बनाउने तयारी गरिएको पनि अध्यक्ष विश्वकर्माले सुनाउनुभयो । उहाँले आफ्नै लोगो र एकैथरीको पोसाक प्रयोगमा ल्याउने सरुमारानी प्युठान जिल्लामै पहिलो पालिका भएको जनप्रतिनिधिले दाबी गरेका छन् । सरुमारानीमा कुल ३४ जना जनप्रतिनिधि छन् ।