रेखीराम राना
पाल्पा, असार १० गते । जिल्लाको रिव्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ५३ करोड ६८ लाखको बजेट ल्याएको छ । पालिकाको १३ औँ गाउँ सभामा उपाध्यक्ष कान्ता अधिकारीले पुँजीगततर्फ २३ करोड ५६ लाख ६४ हजार र चालुतर्फ २९ करोड ४४ लाख चार हजार बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
पालिकाले पूर्वाधार निर्माणलाई जोड दिँदै बजेट ल्याएको छ । रिव्दीकोटले पूर्वाधार विकासका लागि पाँच करोड ७६ लाख ८० हजार बजेट विनियोजन गरेको छ । यस्तै, आर्थिक विकासको लागि दुई करोड ३८ लाख, सामाजिक विकासको लागि तीन करोड ६४ लाख ३८ हजार बजेट विनियोजन गरेको पालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो।
रिव्दीकोटले वन वातावरण तथा विपद्को लागि ३७ लाख, संस्थागत क्षमता विकासका लागि ४३ लाख ५० हजार, सामाजिक तथा सांस्कृतिक संरक्षणको लागि ९३ लाख, सुशासन तथा प्रशासनिक खर्चतर्फ पाँच करोड ९० लाख ५० हजार विनियोजन गरेको छ । वडागत चालु तथा पुँजीगत खर्च ४ करोड ४५ लाख, प्रदेश विशेष अनुदान ६० लाख, सङ्घीय सशर्त अनुदान २६ करोड २८ लाख, प्रदेश सशर्त अनुदान ८६ लाख ५० हजार, अन्तर सम्बन्धित क्षेत्रतर्फ एक करोड ३८ लाख अनुमानित बजेट सार्वजनिक गरेको छ । पालिकाले आन्तरिक आम्दानीको लागि ७३ लाख ७७ हजार रकम उठ्ने अनुमान गरेको छ ।
आगामी वर्षको लागि रिव्दीकोट गाउँपालिकाले एक टोल, एक सामूहिक खेतीको लागि ३० लाख, कृषि उपज उत्पादनमा आधारित अनुदानको लागि ५० लाख, मकैवाली प्रवर्द्धन तथा रैथाने वाली प्रवर्द्धनको लागि ३१ लाख, उखु बजेट ल्याएको छ ।
तरकारी र च्याउ खेती प्रवर्द्धन, डेरी तथा मासु पसल सुधारको लागि २१ लाख ५० बजार, कुसुमखोलामा प्राङ्गारिक मल प्रशोधन कारखाना स्थापनाको लागि १५ लाख, कृषि उत्पादन सङ्कलन तथा बजारीकरणको लागि १० लाख, कृत्रिम गर्भाधान, नस्ल सुधार तथा पशु स्वास्थ्य सेवाको लागि ११ लाख विनियोजन गरेको उपाध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।