• १२ पुस २०८१, शुक्रबार

लोकको शक्ति

blog

‘एक दिन नारद सत्य लोक पुगिगया, लोकको गरुँ हित भनी...’ लोकलयमा आधारित भानुभक्तीय रामायणको यो पङ्क्तिले लोकको हित खोज्न देवर्षि नारद सत्यलोक पुगेको अथ्र्याउँछ । त्यस्तै बाध्यता यतिखेर नेपाली लोककलालाई गरिएको उपेक्षाले सिर्जना गर्दै छ । 

लोक नै सर्वोपरि

लोकले अपनाइरहेको र लोककै लागि सिर्जित कला लोककला हो । दार्शनिक अर्थ लगाउँदा सीमान्तकृत अभ्यास, विचार र दृष्टिकोणको मर्मले ओतप्रोत कला लोककला हो । नेपाली समाज, संस्कृति र संस्कारको मियो धान्ने कला तर व्यहारमा राज्यप्रणालीले गम्भीर उपेक्षा गरेको कला भनेर विश्लेषकले औँल्याउने गरेका छन् । 

लोकद्वारा कुनै काम राम्रोसँग गर्ने सिप, कौशललगायत व्यवहार उपयोगी चौँसठ्ठी कलाको सारलाई लोककला भनेर पनि अथ्र्याइएको छ । लोकको अनुभूति, अनुभव, सिप, शैली आदि यसमा प्रतिविम्बित हुन्छ । लोकलालित्यले समुदायको मन, मस्तिष्क र जीवनको समग्र आधार तय गर्छ । लोकजीवन पुरातनकालदेखि चल्दै आएको लोकविश्वासमा यात्रा गर्छ र समय अनुसार पुस्तान्तरण हुँदै जान्छ । अध्येता दिपना शर्माका अनुसार लोकविश्वास भन्नाले सिङ्गो ब्रह्माण्ड, प्रकृति, पशुपक्षी, प्रकृति, दिन, रात, दैनिक जीवनका गतिविधि, सौन्दर्य, कल्पनाशीलता, अग्नि, पानी, शकुन–अपशकुनका धारणा आदि पर्छन् । त्यस्तै भुतप्रेत, बोक्सी, जादुटुना, धामीझाँक्री, देउता, तन्त्र आदिसँग जोडिएका लोकव्यवहार पनि लोक कलाभित्र समेटिन्छन् । तिनै लोक रीति र लोकव्यवहारका संस्कार, चाडबाड, विवाह, व्रत, उपवास, पूजा विधि, सम्मान तथा अभिवादन विधि, सामाजिक मूल्यमान्यताका लोक अभिव्यक्तिलाई कलात्मक स्वरूप दिएर लोककलाको सिर्जना गरिन्छ, जसले लोकको भाका बोल्छ । लोकको कथनलाई सर्वोपरि ठानेर व्यवहारमा उतार्न लोकबासीलाई बाध्य तुल्याउँछ । 

लोककलाको विगत विम्बात्मक भाष्यसँग जोडिएको पाइन्छ । यो कला मानव अन्तर्क्रियामा प्रयोग हुने अक्षर र शब्दको विकास अघि उद्भव भयो । कथ्य भाषा प्रयोगमा आउनुअघि चित्रको माध्यमबाट मानिसले आफ्ना मनका विचार अभिव्यक्त गर्थे । प्राग्ऐतिहासिक कालखण्डका ओढारहरूमा अङ्कित विम्बात्मक चित्रहरूले त्यसको पुष्टि गर्छ । ढुङ्गे युगमा मानवले कलात्मक आकृति, प्राकृतिक रङ तथा रेखाचित्रमार्फत आफ्ना अभिव्यक्ति त्यसरी गुफाका भित्तामा प्रस्फुटन गर्ने गरेका थिए । विम्बात्मक चित्रले ठोस अर्थ नदिए पनि आपसी सञ्चारमा महत्वपूर्ण भूमिका खेल्थ्यो । तिनै ओढारबाट मानव बस्तीमा लोककलाले बसाई सरेको हो । 

कलाचिन्तक नेमबहादुर तामाङले कला र सौन्दर्यशास्त्रका विषयक पुस्तकमा उल्लेख गर्नुभए अनुसार करिब पाँच हजार वर्ष पहिलेको मानव समाज नियाल्ने हो भने तत्कालीन मध्यपूर्वको युफ्रेटस र आइग्रिस नदीका बिच स्थानमा विकसित मेसोपोटामियामा दैवीशक्ति, राज्यको गौरवगाथा र राज्यको शक्तिको प्रतिविम्बका रूपमा सौन्दर्यात्मक भावभङ्गीमा युक्त कलात्मक अभिव्यक्ति छरेको पाइन्छ । काठमाडौँ उपत्यकाका नेवार समुदायले बनाउने भित्तेचित्र, कागजमा बनाउने चित्र, मधेशका मैथिली समुदायको मिथिला कला, थारू समुदायको थारूकला, अवधीभाषीको कला, शेर्पा समुदायको हिमाली लोककला, पूर्वको किराँतकलालगायत अनेक लोककला पूर्वीय सभ्यताको भाव बोल्ने लोककला हुन् । त्यो कला चित्रमा मात्र होइन; मूर्ति, मखुन्डोलगायत हस्तकलामा विराजमान रहेको पाइन्छ । 

मधेशको सान मिथिला कला 

मिथिला कलाकार मिथिलादेवी यादव लोककला सिक्ने मुख्य पाठशाला भनेकै घर र समुदाय हो भन्नुहुन्छ । आमा, हजुरआमाको हात समाउँदै उहाँ मिथिला कलाकार बन्नुभएको हो । हजुरआमा र आमा नै उहाँको शिक्षक अनि दर्शक हुनुहुन्थ्यो । बिग्रियो भने आमाले सिकाउनु हुन्थ्यो । यादव सुनाउनुहुन्छ, “हजुरआमाले त चित्र बनाउन आएन भने घर गरी खान्न भनेर डर देखाउनुहुन्थ्यो, अनि करैले राम्रा चित्र बनाउनै पथ्र्यो ।” बिहेपछि राम्री बुहारी भए नभएको कुरा उसले कोर्ने चित्र हेरेरै छिमेकीले अनुमान गर्छन् । किनभने मिथिला कला कोर्न जानिएन भने संस्कार अपूरो रहन्छ । समुदायको आत्मा भनेकै मिथिला संस्कार र भाषा हो । जन्मदेखि मृत्युसम्मका संस्कारका आकृति कला बनेर भित्ता, आँगन, चोक र बजार रङ्गिन्छन् । त्यही सिप बोकेर २०४५ सालमा उहाँ कलाको बजार प्रवेश गरेपछि व्यावसायिक मिथिला कलाकार बन्नुभयो । मैथिली भाषा नेपाली भाषापछि सबभन्दा बढी बोलिन्छ । गत साता नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कला प्रदर्शनीमा उहाँले बुद्धको जीवनीलाई मिथिला कलाको लयमा ढालेर कलात्मक पृथकता पस्कनुभयो । उहाँको जस्तै धेरै कलाकारले मधेशको घुम्टो प्रथा, छठको सांस्कारिक छवि, सीताको अग्नि परीक्षा, विवाह उत्सवदेखि ग्रामीण जीवनको अनेक रूप मिथिला कलाले पारखीलाई देखाउन सक्यो । हस्तकलामा पनि लोककलाको विविध रूप काठ, बाँस, कागज, धातु, माटोका भाँडा, धागो, ढुङ्गामा मन छुने गरी कुची चलाएको भेटिए ।

जनजातीय मिथक र जनजीवनको जरोकिलो छोएको लोककलाको महत्त्व समुदायरूपी पोखरीबाट माथि उकास्न समुदायमै कलात्मक चेत कम छ । लोककलाको महत्त्व वैश्विक बजारमा अर्बौँको छ, प्रवर्धन गर्न सकिन्छ भन्ने कुरा अब प्रदेश र स्थानीय सरकारलाई बुझाउनै पर्ने बेला आएको छ । 

मिथिला कलामा महिलाको वर्चश्व र सिपसँगै पुरुष सहभागिता पनि बलियो छ । हजुरआमा र आमासँगै सिकेर कलाकार बन्नु भएका एससी सुमन मिथिला कलाकार हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भित्ता र आँगनमा कोरिने चित्र निकै मन पथ्र्यो, अनि उहाँले जस्तै बनाउन अभ्यास गर्थे ।” बाटोमा कसैले फालेका फूल भेट्यो भने टपक्क टिपेर हजुरआमाले हातमा राख्नुहुन्थ्यो । त्योे फूलबाट रङ बनाएर चित्रमा हजुरआमाले भरेपछि फुरुङ्ग पर्नुहुन्थ्यो । लोककलामा घर वरिपरि पाइने माटो, अँगार, फूल, पातका रङ बनाएर प्रयोग हुन्थे । व्यावसायिकतामा प्रवेशपछि भने बाजारु रङको प्रयोग बढ्यो । मिथिला कलाका चार विधामध्ये तन्त्र विधासँग निकट रहेर सृष्टि र संहारकर्ता देवीलाई मिथिला भावमा उहाँले यस वर्ष कला सिर्जना गर्नुभयो । एक हातमा मधेशको प्रतिनिधित्व गर्ने आँप र अर्को हातमा मानव खप्पर बोकेको देवीलाई मानिसको जन्म र मृत्युसँग पनि जोड्नु भयो । मिथिलामा तान्त्रिक शैलीसँगै कचनी अर्थात् रेखाबाट कला कोर्ने, धरनी रङ भरेर कला कोर्ने र तल्लो जाति भनिएका समुदायले कोर्ने दुषाद कला, शैली पाइन्छ । तान्त्रिक शैली ज्योतिषशास्त्र, तन्त्र विद्यासँगै ब्राह्मण विद्यासँग जोडिएकाले बाहिर आउन सकेको छैन । 

उपत्यकाका अनुपम लोककला

काठमाडौँ उपत्यकामा विभिन्न कालखण्डमा बनेका भित्तेचित्र लोककलाको अनुपम नमुना हुन् । हनुमान ढोका दरबार, पाटन दरबार, भक्तपुर दरबारक्षेत्रमा पाइएका भित्तेचित्रले देशको राज्यकालका कथा बोल्छन् । कलाकार सूर्यबहादुर चित्रकारका अनुसार नेवार समुदायको आफ्नो संस्कार अनुसारको चाडपर्व मनाउन आफैँ चित्र बनाउने परम्परा छ । त्यो कला काठ, कागज र भित्तामा कुदिन्छन् । माटो, चुन, सुन, चाँदी, ढुङ्गाका प्राकृतिक रङको बढी प्रयोग यस कलामा गरिन्छ । नागपञ्चमीमा पूजा गर्ने नागको चित्र होस् या दूर्गा पूजाको मखुण्डो नेवारी समुदायकै कलाकारले बनाउने गर्छन् । 

बस्तीभित्र लुकेका लोपोन्मुख लोककला

थारू समुदाय लोककलाको अर्को खानी हो । तर यो कलाले व्यावसायिक रूप लिन सकेको छैन । नेपालको पूर्वदेखि पश्चिमसम्म फरक फरक धारका थारू समुदाय बस्छन् । फरक आयाम भए पनि कतिपय विषय एकअर्कासँग मिल्छन् । थारू कलामा रचैया कला भनेर चित्रकलालाई लिइन्छ । अष्टिम्की कलाको पर्याय नामले चिनिने यो कलाभित्र प्रकृति, इतिहास, पुराण, दर्शन कोरिन्छन्, जुन यो जातिको धार्मिक संस्कारसँग जोडिएको हुन्छ । त्यस्तै आखेट कला, घर बनैना कला, सजैना कला, मृत्तिका कला, काष्ठ कला, गोडैना कला, गोरी बिन्ना कला, सूत्र क्रिया कला, लुगा सिना कला यस जातिका लोककला हुन् । काम एउटै खालको भए पनि थारू समुदायमा भाषागत नाम फरक पाइन्छ । पश्चिम नेपालको थारू समुदायको लोकआवाज बोल्ने अष्टिम्कीको कलात्मक स्वरूप यो वर्षको प्रदर्शनीमा सुर्खेतकी रमा चौधरीले प्रतिनिधित्व गर्दै ल्याउनुभयो, जुन भिन्न र अद्भुत देखिन्थ्यो । 

नेपालको मधेशमा बसोबास गर्ने अवधि समुदायको आफ्नै लोककला छ, जुन मिथिला कलाको छायाँमा परेको छ । विक्रममणि त्रिपाठीले गर्नुभएको एक अध्ययन अनुसार अवधि जातिको कलाको धार महाभारतकालीन समयसँग बढी जोडिएको छ । भित्तिचित्र, भूमिचित्र, ठप्पा चित्र, पात्र चित्र आदिलाई अवधि लोककलाभित्र समेटिएको पाइन्छ । 

धिमाल जाति लोककलाको अर्को धनी जाति हो । अध्येता सोमबहादुर धिमालका अनुसार मधेशको किराँत भनेर धिमाल जातिलाई चिनिन्छ । धिमाल कलाभित्र यी जातिले प्रयोग गर्ने लोकबाजा ढोल र उर्नी पनि समावेश छ । त्यस्तै अन्न थन्क्याउने थाराञ्चाता, माछा सुकाउने चेलेङ्गी, भित्तामा बुट्टा भर्ने मुखामारिका कला, माटोका कलात्मक सामग्री (कुर्सी, टेबुल, तखता, खाट आदि) धिमाल जातिका विशेषता हुन् । 

सुदूरपश्चिम र कर्णाली भेगका पहाडमा बढी प्रचलनमा रहेको जैँती अर्थात् ज्यूँती लोकधारको अर्को फरक कला हो । कला अध्येता ताराप्रसाद ओझाको अध्ययन विश्लेषण अनुसार यी लोकचित्र जीवमातृका चित्रका रूपमा चिनिन्छ । यी चित्र जहाँ र जुनसुकै बेला बनाइँदैन । धार्मिक शुद्धताको विशेष ख्याल गरेर कोरिन्छन् । चित्र लेखिने भित्तामा गाईको गहुँत, गोबर, जौ, तील मिश्रित गङ्गाजल छर्केर मन्त्रोच्चारण गरी शुद्ध बनाइन्छ । बढीजसो महिलाले यी चित्र बनाउँछन् । 

लेख माय लेख माय ज्यूँती लेखी दिय

लेख माय ज्यूँती लेखी दिय

क्याउँबैका इजुज्यूले चौकी बनाइहाल्या

क्याउँबैका ल्याहाल्यो छाप... 

ज्यूँती लेख्दा यसरी नै मङ्गलगान गाउँदै लेख्ने पुरानो चलन छ । ज्यूँती गृहस्थ जीवनका अनेक यात्राका सारथि हुन्, जसमा शुभ कर्ममा गरिनेलाई मूल ज्यूँती मानिन्छ । यसमा ग्रह–नक्षत्र, स्वस्तिक, कलश, षट्कोण, शङ्खघण्ट, पञ्चपल्लभका चित्र पर्छन् । 

किराँतकला पूर्वी नेपालको धरोहर हो । हस्तकलाका स्वरूपमा स्थानीयका जनजीवनसँग जोडिएका धेरै कलात्मक सिर्जना यसमा पर्छन्, जसले किराँत समुदायको संस्कृति र संस्कारसँग अकाट्य सम्बन्ध राख्छ । मुर्चुङ्गा, बिनायो, यलम्बर बाजा, मुरली, झ्याम्टा, पुङबाजा, चरीबाजा, कठुवा, पोमी, सिलिमी, पैसाको माला, छिटको सारी, ढाका र मखमलको चोली, पटुका, खादा, थैली, दौरा–सुरुवाल, हातले बुनेको झोलाका रूपमा यी कला पाइन्छन् । रेजी, हारी, धजुरा, कुची, लाछाका कलात्मक स्वरूपहरू किराँत कलाकै नमुना हुन् । तर कलाको यो स्वरूप सतहमा आउन सकेको छैन । यी जस्तै अरू धेरै जातीय र सांस्कृतिक मान्यता बोकेको लोककलाको खोजी र अध्ययन हुन सकेको छैन । 

परम्परागत कला

नेपालको हिमाली कला लोककलाको प्राचीन आयाम हो । निमा घ्याम्छो लामाको अध्ययन अनुसार यो कला बौद्ध दर्शनमा आधारित छ । निङ्मा, कक्युपा, शाक्यपा र गेलुक्पा गरी चार सम्प्रदायको फरक अवधारणा हिमाली कलामा झल्कन्छन् । कलाकार जिग्मे तामाङका अनुसार बुद्धको मुख्य मूर्ति शाक्यपा सम्प्रदायकै भावना अनुसार बने पनि त्यसका दायाँ–बायाँ निङ्मा सम्प्रदायका गुरु डाप्पो, सिंहतुम, चेङ्गैसी, चक्रभुजा अवलोकेश्वर, गुरु पद्मसम्भका चित्र, मूर्ति आदि बनाइन्छन् । गुम्बाका भित्तामा ढोवा, रिढुक अर्थात् भवचक्र, सेङ्चेन थाप्चेका चित्र हुन्छन् । मानिस मरेपछि उसले आफ्नो मानव योनिसम्म पुग्दा भोगेका समयको चित्रण चित्रमा गरिन्छ । कुकुर, हात्ती, घोडा, बाघ, सर्प, सुँगुर, चरालगायत पशुपन्छीको टाउको मानिसको शरीरमा जोडिएर व्याख्या गरिन्छ । भवचक्र मण्डलाकार हुन्छ, जसमा छ वटा देव लोक, मनुष्य लोक, पहु लोक, दानव लोक, स्वर्ग लोक र नर्क लोक दर्शाइन्छ । तिनले मानिसको दया, माया, करुणा, आक्रोश, भोग, शोक अनुसार विभिन्न लोकको विचरण गर्छन् भन्ने मान्यता छ । त्यस्तै अमिताभ बुद्धको चित्र स्वर्गको प्रतीकका रूपमा कोरिन्छन्, जसलाई होबामे भनिन्छ । अवलोकेश्वर बुद्धको समेत प्रतिनिधित्व हुने गरी समग्र चित्रलाई नाम्खाइ घ्याल्पो भनिन्छ । परम्परात कला भनेर भनिए पनि हिमाली कलाभित्र कोरिने थाङ्काचित्र, पौवा कलाको जरा लोककला हो । लोकले अपनाएको धर्म, संस्कृति र सांस्कारिक मान्यता थाङ्काचित्र, पौवा चित्र र परम्परागत मूर्तिमा झल्कन्छन् । कलाकार जिग्मे तामाङ थाङ्का चित्रमा पद्मसम्भव बुद्धको महत्त्व झल्काउन खप्पिस हुनुहुन्छ । उहाँको चित्र विदेशी बजारमा राम्रै मूल्यमा बिक्री पनि हुन्छन् तर जति राम्रो बजार र पहिचान थाङ्काले पाउनुपर्ने हो, त्यो पाउन नसकेको गुनासो उहाँ गर्नुहुन्छ । तामाङका अनुसार रङ्गीबिरङ्गी ढुङ्गा घोटेर बनाइने रङको आकृति जति जाज्वल्यमान हुन्छ, सुन, चाँदी जस्ता बहुमूल्य धातुका रङले थाङ्काको साख अझ उँचो बनेको छ । 

काठमाडौँ उपत्यकाका नेवार समुदायले बनाउने भित्तेचित्र, कागजमा बनाउने चित्र, मधेशका मैथिली समुदायको मिथिला कला, थारू समुदायको थारूकला, अवधि भाषीको कला, शेर्पा समुदायको हिमाली लोककला, पूर्वको किराँतकलालगायत अनेक लोककला पूर्वीय सभ्यताको भाव बोल्ने लोककला हुन् । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लोककला विभाग प्रमुख प्रदीप अधिकारी र परम्परागत चित्रकला विभागका प्रमुख पाल्साङ्मो लामा साधारण जनजीवनसँगै धार्मिक रीतिथितिका रूपमा समाजले अभ्यास गर्दै आएको कला भावी पुस्ताका धरोहर हुन्, जसले सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा एक पुस्ताबाट अर्को पुस्तालाई जोड्छ । त्यो विम्बात्मक हुन्छ । ढुङ्गे युगको गुफा, कन्दरादेखि ब्युँतिएको लोककला अहिले नेपाली समाजको मुख्य सम्पत्ति बनेको छ ।

लोककलाको क्षेत्रलाई फराकिलो बनाउन जरुरी रहेको अधिकारीको मत छ । विभिन्न समुदायमा हुर्केकालाई अझ संरक्षण गर्ने र लुकेकालाई बाहिर ल्याउन प्रयत्न छाड्न नहुने लामा औँल्याउनुहुन्छ । उहाँका अनुसार लोककला मात्र होइन, हरेक नेपाली कलालाई अर्थतन्त्रसँग नजोडीकन कुनै पनि कला अब बाँच्न सक्दैन । लोक कलालाई पनि अर्थतन्त्रसँग जोडेर अगाडि लान सक्यौँ भने आकर्षणको केन्द्र बन्न सक्छ तर राज्यले लोककलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व बुझ्न जरुरी छ । उहाँले भन्नुभयो, ‘‘भ्रमणका क्रममा विदेश जाँदा नेपाली समाज, कला संस्कृतिको बखान जति गरिन्छ, नेपाल फर्केपछि कला प्रवर्धन र संरक्षणका कुरा बिर्सने नेतृत्वको बानी छ । बजेट बनाउँदा पनि कला संस्कृतिप्रति ध्यान दिइँदैन ।’’

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली नेपालीको पहिचान लोककला भएको औँल्याउनुहुन्छ । त्यसको प्रवर्धन र उजागर कम हुनुमा स्थानीय, प्रदेश र सङ्घीय सरकारसँगै प्रतिष्ठानको भूमिका कमजोर रहेको स्वीकार गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘लोककलाको हात समाएर विश्वमा हामी यो हौँ भनेर देखिएका छौँ, त्यो कला नै देशभित्र एकान्तबासमा परेको छ । त्यसलाई देशको कुल गार्हस्थ उत्पादनको हिस्सा बनाउन नसक्नु अर्को कमजोरी हो ।’’ 

उहाँका अनुसार लोककलाको स्पष्ट परिभाषा दिन नसक्नु, हस्तकला, शास्त्रीय तथा परम्परागत कलाको आधारस्तम्भ लोककला हुनु र मूर्तभन्दा पनि अमूर्त कलासँग बढी जोडिनु प्रतिष्ठानको मुख्य कमजोरी हो । जनजातीय मिथक र जनजीवनको जरोकिलो छोएको लोककलाको महत्त्व समुदायरूपी पोखरीबाट माथि उकास्न समुदायमै कलात्मक चेत कम छ । लोककलाको महत्त्व वैश्विक बजारमा अर्बौँको  छ, प्रवर्धन गर्न सकिन्छ भन्ने कुरा अब प्रदेश र स्थानीय सरकारलाई बुझाउनै पर्ने बेला आएको कुलपति हार्तम्छाली प्रस्ट्याउनु हुन्छ । लेखको सुरुमा भनिए जस्तै देवर्षि नारदले लोकको हितका खातिर सत्यलोक खोज्नुपर्ने बाध्यता सिर्जना नगरी कली युगीन मान्यतामै लोकशक्तिरूपी लोककलाको हित हुने बाटो नेतृत्वले सोचिदिए पुग्छ ।