शंकर केसी
सल्यान, फागुन ९ गते । सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले शनिबार नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास गरिएको छ ।
सदरमुकाम खलङ्गा स्थित लुहापिङमा आयोजित अभ्यासमा मतदान प्रक्रिया र सुरक्षा व्यवस्थाको व्यवहारिक प्रदर्शन गरिएको हो।नमुना मतदानमा १५ जना महिला र १५ जना पुरुष गरी ३० जनाको सहभागिता छ ।
अभ्यासका क्रममा मतदातालाई सुरक्षित रूपमा मतदान गराउने प्रक्रिया, सम्भावित जोखिम न्यूनीकरणका उपाय तथा मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउने विषय प्रस्तुत गरिएको जिल्ला निर्वाचन अधिकृत धिरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी डा.हेम केसीले निर्वाचनका लागि खटिने सुरक्षाकर्मीलाई अभ्यस्त बनाउन यस्तो अभ्यास आयोजना गरिएको बताउनुभयो ।
उहाँका अनुसार निर्वाचनपूर्व तयारी, पोस्ट बिटमा गरिने काम, मतदानस्थल निर्माण, मतदान केन्द्रको सुरक्षा र सम्भावित जोखिम व्यवस्थापनका विषयमा व्यवहारिक अभ्यास गराइएको हो ।
अभ्यासमा मतदानस्थलमा हुलदङ्गा वा अवरोध सिर्जना भएमा सुरक्षा संयन्त्र कसरी परिचालन हुन्छ भन्ने प्रत्यक्ष देखाइएको थियो।नमुना अभ्यास अनुसार मतदानका क्रममा कुनै समूहले होहल्ला गरे वा अवरोध पुर्याएमा पहिलो घेरामा रहेको नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गर्नेछ ।
त्यसबाट स्थिति सामान्य नभएमा दोस्रो घेरामा रहेको सशस्त्र प्रहरी बल परिचालन हुनेछ । सशस्त्र प्रहरीबाट पनि अवस्था नियन्त्रणमा नआए अन्तिम विकल्पका रूपमा तेस्रो घेरामा रहेको नेपाली सेनाले अग्रभाग सम्हाल्नेछ।
परिस्थिति पूर्ण रूपमा नियन्त्रण बाहिर गएमा सेनाबाट थप बल प्रयोग गर्न सकिने सन्देश समेत अभ्यासमार्फत दिइएको थियो । अभ्यासमा मुख्य निर्वाचन अधिकृत प्रह्लाद कुमार योगी, प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटा, प्रमुख सेनानी शिवनारायण श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक भरत बहादुर कुँवर, प्रमुख अनुसन्धान अधिकृत चन्द्रकमल खड्का लगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।
निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित बनाउन सुरक्षाकर्मी तथा सरोकारवाला निकायबीच समन्वय सुदृढ गर्ने उद्देश्यले अभ्यास गरिएको जनाइएको छ ।