भैरव पुरुषशक्ति देवता हो । देवी नारीशक्ति देवता हुन् । भैरवलाई स्थान अनुसार भैरो, भैर, भुलु, भह्राई, भैरभ, भेलु, भिवा, भैलो, भैलः, आज्जुद्यः, अज्जाभेलु, हाथुद्यः भैरव, दिकपाल, द्वारपाल, क्षेत्रपाल, रक्षक आदि नाउँले पनि चिनिन्छ ।
भैरव शब्दको अर्थ भयानक, डरलाग्दो भन्ने बुझिन्छ । भैरवसँग काल पनि डराउँछ, त्यसैले काल भैरव भनियो भनिन्छ । भैरव हेर्दा डरलाग्दो, भयानक अनुहार, डर, त्रासको रक्षा र न्यायका देवता मानिन्छ । विशेष गरी भैरवको मुकुण्डो कालो र गाढा निलो बढी देखिन्छ । रातो, सेतो, पहेँलो र फिक्का निलो आकासे रङको प्रयोगमा पनि देखिन्छन् । खास गरी भैरवको मूर्तिमा कानदेखि गलासम्म र शिर, हात, पाउमा समेत नागको गहना लगाएको, आगो ओकलेको, ठुल्ठुला तीन वटा आँखा, मसिनो दाह्रा निक्लेको मानव खप्परको माला लगाएको, कालो वर्ण देखिन्छ । क्रूर, भयावह, मानवको टाउको तथा हातहतियार लिएको डरलाग्दो महाविनाशकारी देवताका रूपमा छन्– भैरव । समयकाल अनुसारको व्यवहार गर्ने देवता हुन्– भैरव ।
भैरव पुरुषशक्ति देवता हो । देवी नारीशक्ति देवता हुन् । भैरवलाई स्थान अनुसार भैरो, भैर, भुलु, भह्राई, भैरभ, भेलु, भिवा, भैलो, भैलः, आज्जुद्यः, अज्जाभेलु, हाथुद्यः भैरव, दिकपाल, द्वारपाल, क्षेत्रपाल, रक्षक आदि नाउँले पनि चिनिन्छ ।
नेपालमा भैरवका महत्व र पूजाअर्चना हिन्दु, जैन, बौद्ध र अन्य धर्मावलम्बीले मान्दै आएका देखिन्छ । विशेष गरी नेवारले अभिन्न रूपमा भैरव मान्दै आएको पाइन्छ । भैरव तान्त्रिक देवता हुन् । हिन्दुहरू भैरवलाई शिवको उग्र रौद्र रूप मान्दछन् । बौद्ध धर्मावलम्बीले अक्षोम्भ्य बुद्धको परिवारको सदस्यका रूपमा पूजाअर्चना गर्दछन् ।
नेवारहरू भैरवलाई रक्षकका रूपमा, क्षेत्रपालका रूपमा, आफ्नो घरअघिल्तिर पिखालखुमा प्रत्येक घर घरमा क्षेत्रपालका रूपमा मानिआएका छन् । पिखालखुलाई कुमार, क्षेत्रपालका रूपमा पनि लिने गरिन्छ । कुनै पनि पूजाआजामा सबभन्दा पहिला त्यही क्षेत्रपालरूपी भैरवलाई पूजा गर्ने र अनि पछि मात्र अन्य देवदेवीको पूजा गर्ने गरिन्छ । स्वस्थानी कथामा गणेशका भाइ, शिवजीका छोराका रूपमा पूजा गर्ने भनी उल्लेख गरिएको पाइन्छ । त्यस्तै नेवारले घरको मूलढोकालाई पनि भैरवकै रूपमा लिन्छन् । कुनै पनि चाडपर्व, जात्रामात्रा र कुनै भोज, गुथिमा देवदेवीको पूजा गर्न जानेबेला सबभन्दा पहिला पिखालखु क्षेत्रपाललाई पूजा गर्नु पर्छ । ती क्षेत्रपाललाई पूजा नगरी अन्य देवदेवी र कुनै पनि स्थानमा पूजा गर्नु हुँदैन भन्ने मान्यता छ । घरबाट बाहिर कुनै पनि देवस्थल, मन्दिर वा तीर्थहरूमा पूजा गरेर फर्किंदा घरको मूलढोकामा पूजा नगरीकन घरभित्र जानु हुँदैन भन्ने पनि धारणा छ । पिखालखुलाई भैरव माने जस्तै घरको मूलढोकालाई पनि भैरव नै मानी रक्षकका रूपमा लिने गरिन्छ । त्यसैले देवता राख्ने देवघर ‘द्यो छेँ’ को मूल ढोकाका खापामा ठुल्ठुला डरलाग्दो भैरवका प्रतीक राखिने गरिन्छ । कतै कतै तीन नेत्रका चित्र पनि देख्न पाइन्छ । सर्वसाधारण घरका ढोकामा पनि ढोकाको खसी अथवा ढोकाको माथिल्लो भागमा एउटा सानो मूर्ति अथवा कुनै पनि प्रतीकका रूपमा राखिएको हुन्छ । रातो मत्स्येन्द्रनाथको रथको चार वटा पाङ्ग्रा र रथको अघिल्तिर पनि भैरवको प्रतीक बनाइएको हुन्छ । ती तीन नेत्रलाई नै भैरवको प्रतीक मानी ती पाङ्ग्रामा बलि दिइन्छ । देवदेवीका मन्दिरमा प्रायःजसो हाँस, कुखुरा, राँगा, बोका, थुमा नै बली दिइन्छ । पशु वा पन्छीको बलि दिएपश्चात् गर्धनबाट भुत्लासहितको तीन टुक्रा मासु निकालेर पूजाथालीमा राखिन्छ । भुत्लासहितको मासुका टुक्रालाई नेवार भाषामा ‘च्युला’ भनिन्छ । ती भुत्लासहितको तीन टुक्रा मासुमध्ये एक टुक्रा पूजा गरेको देवताको तोरणमा टाँसिन्छ । बाँकी दुई टुक्रामध्ये फर्की आउँदा घरको मूल ढोकामा टाँसिन्छ । त्यसको अर्थ भैरवको प्रतीकका रूपमा पूजा गरी ढोकाको माथिल्लो भागमा टाँसिएको हो । बाँकी भएको एक टुक्रा घरको चोटा (माथिल्लो तला) को निदालमा पूजा गरी टाँसिन्छ । त्यसैले घरको मूलढोकालाई पनि रक्षकका रूपमा लिइन्छ । घरभित्र कुनै खराब तत्व नभित्रियोस् भन्ने हेतुले मूलढोकामा पूजा गरिन्छ अर्थात् भैरवलाई रक्षकका रूपमा लिइन्छ ।
नेपाल मण्डलमा धामीलाई भैरवको ‘मानव रूप’ का रूपमा मानिन्छ । यिनलाई जीवित दैव शक्तिका रूपमा पनि लिइन्छ । मकवानपुरको चित्लाङ, नुवाकोट र काठमाडौँको मनमैजुमा जीवित देवका रूपमा भैरवको पूजा हुँदै आएको छ । इन्द्रजात्राका बेला कुमारीजात्राको साथै भैरव र गणेशलाई पनि जीवित देवताका रूपमा छुट्टाछुट्टै रथमा जात्रा गरी पूजाअर्चना गर्ने गरिएको छ ।
धेरै जसो नेवारको दिगु पूजा (देवाली) मान्नु पर्छ । अक्षय तृतीयादेखि सिठीनख अथवा कुमार षष्ठीको दिनसम्म देवाली मनाइने परम्परा छ । बहुसङ्ख्यक नेवारको देवालीमा पूजा गर्ने दुई वटा देवतामध्ये एक बृहस्पति र अर्को भैरव हो । त्यसैले नेवारले देवालीमा पनि भैरव पूजा गर्दछन् । भैरव नै कुलदेवता मानी बोका र हाँस बलि दिई पूजा गरिन्छ । वृहस्पतिलाई मंस चल्दैन भनेर बलि पनि दिइँदैन । डा. राजवली पाण्डेले आफ्नो हिन्दु धर्मकोषमा ‘भैरव कृषक वर्गका देवता हुन्’ भनेका छन् । यसमध्ये यस पङ्क्तिकारले पनि भैरव नै कूलदेवता मानी देवाली पूजा गरी आएको हुँ । कृषक वर्गमा पर्ने अधिकांश नेवारको देवालीमा भैरव नै पूजा गरी आएको देखिन्छ । भूमिको रक्षा गर्ने दैवशक्तिका रूपमा भैरवलाई मानिँदै आएको पाइन्छ । ठाउँ ठाउँमा भैरवको स्थापना गर्नु पनि भूमिकै सुरक्षाका लागि हो भनी मान्न सकिन्छ ।
उपत्यकामा राजालाई भैरवको प्रतीकका रूपमा लिइन्छ । राज्यशक्तिको प्रतीकका रूपमा खड्गलाई लिइन्छ । खड्ग, देवगण र देशको राजाको खड्ग साटासाट गरी दैवीय शक्ति हस्तान्तरण गर्ने प्रक्रियालाई ‘खड्ग सिद्धि’ भनिन्छ । यसरी सिद्ध भएको खड्गको मद्दतबाट राजाले राज्य सञ्चालन गर्दछन् भन्ने लोकोक्ति व्याप्त छ । यसरी भद्रकाली नाच र पचली भैरव नाचमा देशका राजाले प्रत्येक १२–१२ वर्षमा खड्ग साटी भैरव शक्ति प्राप्त गरी राज्य सञ्चालन गर्ने क्षमता प्राप्त गरिने भनाइ छ ।
भैरवको उत्पत्तिका कथा
हिन्दु सम्प्रदायले भैरवलाई शिवको उग्र रौद्र रूप मान्दछन् । नेपालमा भैरवको प्रसिद्धि धेरै सुन्न पाइन्छ । शिवका पाँच मुखमध्ये दक्षिणको मुखलाई अघोर भैरव मानिआएको पाइन्छ । पशुपतिनाथका महादेवको पाँच मुखमध्ये पूर्वका–तत्पुरुष, पश्चिमका–सद्योजात, उत्तरका–वामदेव, दक्षिणका अधोर र बिचका अथवा शिरका–ईशान मानी पूजा गर्ने गरिएको छ ।
भैरव उत्पत्ति भएको दिन मङ्सिर कृष्णपक्ष अष्टमी नेपाल संवत्को तिथि अनुसार कछलागा अष्टमीलाई ‘भैरवोत्पत्ति, ‘भैरवाष्टमी, मानी उक्त दिन भैरवसम्बन्धी विशेष पूजापाठ गरी भैरवको व्रत बसी पूजाअर्चना गर्ने चलन अद्यापि छँदै छ ।
ब्रह्मा सृष्टिकर्ता भए तापनि उनले गरेको गल्तीको सजाय दिन महादेवले भैरवको रूप धारण गरेको कुरा धार्मिक कथामा पाइन्छ । शक्तिपीठ उत्पत्ति हुँदा सँगसँगै भैरव पनि उत्पत्ति भएका कथाहरू पनि पाइन्छ ।

दक्षप्रजापतिले ठुलो यज्ञ गरेका बेला सबै देवतालाई निम्तो दिँदा आफ्नो जेठी छोरी सत्यदेवीलाई निम्तो छुट्न पुग्यो । त्यही कुरा सत्यदेवीले थाहा पाई रिसले यज्ञस्थल जाँदा सबै यज्ञमा देखिए । बुवाले आफूलाई अपमान गरेको ठानी त्यही यज्ञमा हामफाली सत्यदेवीले देहत्याग गरिन् । सो खबर महादेवले थाहा पाई तुरुन्त यज्ञस्थलमा पुग्दा प्राणप्यारी सत्यदेवीको हालत देखेर महादेव एकदम क्रोधित बने । सो यज्ञ विध्वंस गर्न महादेवले आफ्ना जटाको एउटा कपाल चुँडाई (चुडाली) वीरभद्र र महाङ्काल उत्पति गराए । त्यहाँ विध्वंस मच्चाए । त्यो यज्ञ विध्वंस गर्न उत्पन्न गरिएका दुई पात्र पनि भैरव नै हुन् भनिएको पाइन्छ । महादेवपत्नी शोकले विह्वल भई पत्नीको मृत शरीर बोकी बहुलाहासरि यताउता हिँड्न थाले । धेरै दिनपछि यो घटना विष्णु भगवान्ले थाहा पाए, सत्यदेवीको मृत शरीरलाई सुदर्शन चक्र प्रयोग गरी टुक्रा, टुक्रा पारिदिए । सो मृत शरीरका टुक्रा खस्न थाले । जहाँ जहाँ शरीरको अङ्ग खसे त्यहाँ त्यहाँ शक्ति पीठ उत्पत्ति भए । जहाँ जहाँ पीठ उत्पत्ति भयो त्यहाँ त्यहाँ भैरव पनि उत्पत्ति भएको कथा स्वस्थानीमा वर्णन गरेको पाइन्छ । धार्मिक किंवदन्ती अनुसार नेपालमा ५६ लाख भैरव भैरवी छन् भन्ने भनाइ छ । ब्रह्माले झुटो कुरा गरेकाले दण्ड दिन शिवले भैरवलाई उत्पत्ति गरेको कथा पाइन्छ ।
भैरव उत्पत्तिका थुप्रै कथा पाइन्छ । पचली भैरव उत्पत्तिमा फर्पिङका राजा पचलिसीं ठकुरीको प्रेमकथा जोडिन्छ । उनी काठमाडौँका एक अति सुन्दरी युवती भेट्न आउने गरेको प्रसङ्ग पचली भैरव उत्पत्तिमा जोडिन्छ । यलम्बर इन्द्रचोकका आकाश भैरव महाभारत युद्ध हेर्न गएका बेला कृष्णले छल गरी टाउको काटिदिएको कथा, काशीबाट विश्वनाथ भैरव मान्छेको रूप धारण गरी भक्तपुरमा भद्रकालीका जात्रा हेर्न आउँदा त्यहाँका एक जना तान्त्रिकले थाहा पाई समात्न खोज्दा विश्वनाथ भैरव जमिनमा लुक्न खोजेको र त्यसैबेला तान्त्रिकले टाउको काटिदिएको कथा, कीर्तिपुरको बाघभैरव भेडाबाख्रा चराउन गएका गोठालाले माटोको बाघ बनाई खेल्दा जिब्रो राख्न माटो खोजिरहँदा सो माटोको बाघ साँच्चैको बाघ भएर ती गोठाला केटाकेटीको भेडाबाख्रा खाइदिएको कथा, टुँडिखेलको महाङ्काल भैरव– आकाशमा कालो बादलको रूपलाई एक जना तान्त्रिकले तन्त्रबलका माध्यमबाट टुँडिखेलमा महाङ्काल भैरव खसालेको कथा, पाटन लगनखेलको बटुक भैरव– कालो बिरालोको रूप धारण गरी स्थानीय बालबच्चा खाइदिएको कथा, पशुपतिको कीर्तिमुख भैरव, लेलेका टीकाभैरवलगायत भैरवका बारेमा थुप्रै थुप्रै लोककथा छन् ।
उपत्यका र सो आसपासका प्रख्यात भैरवमा कालभैरव (काठमाडौँ हनुमानढोका), श्वेतभैरव (हनुमान ढोकाअगाडि), पचली भैरव (टेकु), आकाश भैरव (इन्द्रचोक), भक्तपुर टौमढिका भैरव, बाघभैरव (कीर्तिपुर), महाङ्काल भैरव (टुँडिखेल), बटुक भैरव (ललितपुर, लगनखेल), पशुपतिको कीर्तिमुख भैरव र उन्मत्त भैरव, आनन्द भैरव (ज्ञानेश्वर), हयग्रीव भैरव (बुङ्गमती), महाभैरव (लुभु), पाल्पाको भैरव, नुवाकोटको भैरव, चित्लाङको स्वच्छन्द भैरव, दोलखाका भीमेश्वर भैरव, गोकर्णका कान्ति भैरव आदि भैरव छन् ।
प्राचीन भैरवको उत्पत्तिको कथा किराँतकाल र किराँत राजासँग सम्बन्धित रहेको मानिन्छ । दोलखा भीमसेनलाई भैरवका रूपमा पनि मान्ने गरिन्छ । महाभारतमा दुःशासनलाई भीमसेनले छाती फोरेर रक्तपान गर्न लगाइएको उल्लेख छ । द्रौपतीलाई दुःशासनको आलो रगतले स्नान गराएपछि पुनः नररक्तपान गर्दै व्रmोधले व्रmोध भैरवको रूप धारण गर्न पुगे । कृष्णले भने भीमसेन भगवान् शिवको रौद्र रूप भैरव हुन् ।
विभिन्न रूप र धर्ममा भैरव
नेपालमा बौद्ध धर्मावलम्बीले पनि भैरवलाई हे बज्र भैरव, हे सम्वर भैरव, बज्र भैरव, महाङ्काल भैरव, हेरुक भैरव, चक्र सम्बर भैरव र अक्षेम्य बुद्धका परिवारको सदस्यका रूपमा पूजाअर्चना गर्दछन् । भैरवलाई बुद्धिष्त लाखय् पनि भन्ने गरिन्छ । इन्द्रजात्रामा काठमाडौँका कुमारीको रथ अगाडि अगाडि नाचिहिँड्ने मजिपा लाखय्लाई पनि शान्त भैरवका रूपमा पूजा गर्ने चलन छ ।
भारतको आसाम राज्यका कामाक्ष कामरूपाबाट
श्री लोकेश्वर करुणामय् नेपालमा ल्याइँदा बोकेर ल्याइने चार जनालाई पनि भैरव नै हुन् भनिएको छ । ती चार भैरवमा हरिसिद्धि भैरव, हयग्रीव भैरव, नन्दकुण्ड भैरव र लुप्त संहार भैरव हुन् भनेर बुगम लोकेश्वर कथामा उल्लेख छ ।
रातो मत्स्येन्द्रनाथको जात्रा गर्ने रथमा रहेका चार पाङ्ग्रालाई पनि भैरव नै मानिआएको पाइन्छ । जानकारका अनुसार रथको अगाडिको दायाँ चक्का इखालखु भैरव, बायाँ चक्का लुभुभैरव, रथको पछाडिको दायाँ चक्का टीकाभैरव र बायाँको हरिसिद्धि भैरव भनिएको छ । कतिपयले चाहिँ चार पाङ्ग्राका चार भैरवमा हरिसिद्धि भैरव, हयग्रीव भैरव, नन्दकुण्ड भैरव र लुप्तसंहार भैरव हुन् भनिएको छ ।
नेवार बस्तीमा नृत्यका देवता नासः द्यः अर्थात् नाट्येश्वर स्थापना गरिएको हुन्छ तर त्यस देवताको मूर्ति हुँदैन । तीन वटा लाम्चा त्रिभुजाकार प्वाललाई नै देवता मानी पूजा गरिआएको पाइन्छ । उक्त नासः द्यः लाई जोकोहीले हेर्न हुँदैन भनी ‘नासः धकिं’ सेतो कपडाको पर्दा राखिएको हुन्छ । उक्त पर्दामा लहरै तीन देवताको प्रतीकका रूपमा तीन वटा प्रतीक चिह्न नै लेखिएको हुन्छ । त्यसमध्येमा बिचको देवताको प्रतीकमा तीन वटा आँखा लेखिएको हुन्छ । त्यस तीन वटा आँखालाई पनि भैरव नै मानी पूजा गरी आएको पाइन्छ ।
भित्तेचित्रमा पनि ठाउँ ठाउँमा भैरवको चित्र कोरिएको पाइन्छ । त्यसमध्येमा जयबागेश्वरी मन्दिरमा, बनेपाको चण्डेश्वरी मन्दिरमा र लेलेको टीकाभैरवको मन्दिरमा लेखिएको भैरवको चित्रलाई विशेष रूपमा लिने गरिन्छ ।
भैरव प्रायःजसो शिलाका अमूर्त रूपमा प्रतिस्थापित गरी पूजा गर्ने चलन छ । धेरै जसो भैरव मानी पूजा गरी आएका स्थानमा शिलालाई भैरवको प्रतीक मानी पूजा गर्ने चलन पाइन्छ । कतै कतै शिला, धातु, काठ र माटाका विशाल मूर्ति प्रतिस्थापन गरिएको पाइन्छ ।
उपत्यकामा प्राचीन बस्ती बसाल्दा सुरक्षार्थ बस्तीका छेउछाउ र बस्तीभित्र पनि शक्तिका देवी र भैरव स्थापना गरिएको पाइन्छ । बस्तीमा कुनै अनिष्ट नहोस्, खराबहरू पस्न नपाओस् र जिउधनको सुरक्षा होस् भनेर देवदेवी स्थापना गरिएको भन्ने मान्यता छ । त्यस्ता स्थानलाई शक्तिपीठ भन्ने गरिन्छ । शक्तिपीठमा भैरव पनि हुने गर्छ भन्ने मान्यता छ । यी बस्तीको अथवा नगर, गाउँलाई देवीशक्तिबाट सुरक्षा हुने आस्था र विश्वासमा बस्तीको बिचमा भैरव वा अष्टमातृका गणमध्येकी देवीशक्तिको प्रतीकमा मूर्ति र मन्दिर स्थापना गरिएको हुन्छ ।
शिवका आठ रूप
शिवका रौद्र रूपलाई भैरवका रूपमा मानिआएको पाइन्छ । शिवका रौद्र रूप पनि आठ प्रकारका छन् भनी उल्लेख भएको पाइन्छ । संस्कृतिविद् वीणा पौड्यालको ‘काठमाडौँ उपत्यकाका प्रमुख उमामहेश्वर र भैरव मूर्तिहरू’ पुस्तकमा आठ प्रकारका भैरव उल्लेख गरिएको छ । ती भैरवमा– चण्ड भैरव, अशिष्टाङ्ग भैरव, संहार भैरव, रुरुभैरव, क्राेधभैरव, कपाल भैरव, रुद्रभैरव अथवा भीषण भैरव, क्राेधभैरव, कपाल भैरव, रुद्रभैरव अथवा भीषण भैरव र उन्मत्त भैरव रहेका छन् । ती मुख्य आठ भैरवमा पनि एउटाको आठ/आठ भैरव गरी ६४ भैरव छन् भनी उल्लेख भएको पाइन्छ । ती ६४ भैरवका नाम यस प्रकारछन्–
अशिष्टाङ्ग भैरव – अशिष्टाङ्ग, विशालाक्ष, मर्तण्ड, मोदकप्रिय, स्वच्छन्द, विघ्न सन्तुष्ट, सचराचर, खेछर ।
रु रु भैरव–क्रोधदमस्त्र, जटाधर, विश्वरूप, विरूपाक्ष, नानरूपधर, महाकाय, वज्रहष्ट ।
चण्डभैरव–प्रलयान्तक, भूमिकम्प, विश्वरूप, विरूपाक्ष, कूलपलका, मुण्डपाल, कामपाल ।
क्रोधभैरव–पिङ्गलेक्षण, अभ्ररूप, धरापान, कुटिल, मन्त्रनायक, रुद्र, पितामह ।
उन्मत्त भैरव– बटुकनायक, त्रिनेत्र, शङ्कर, भूत, वरद, पर्वत, त्रिपुरान्तक ।
कपाल भैरव– शशिभूषण, हस्तीचर्माम्बरधर, योगीश, ब्रह्मराक्षस, सर्वज्ञ, सर्वदेवेश, सर्वभूत ऋदिस्थित ।
भीषण भैरव – भयहार, सबज्ञ, कालाग्नि, माहारौद्र, दक्षिण, मुखर, अस्थिर ।
संहार भैरव–अतिरिक्ताङ्क कालाग्नि, प्रियङ्कर, घोरनाद, विशालाक्ष, योगीश, दक्षस ।
नेपाल मण्डलभित्र हरेक नगर निर्माणमा शक्तिका प्रतीक देवदेवीको स्थापना गरिएको पाइन्छ । नगरको सुरक्षार्थ मातृशक्तिका देवी र भैरव नै स्थापना गरिएको छ । प्रत्येक नगरको चार दिशा र चार कोणमा अष्टमातृका देवी र अष्ट भैरव नै बढी देखिन्छ । अष्ट भैरव विशेष गरी मण्डपको चारैतर्फ आसन गरेको हुन्छ । अष्टमातृका देवीको विभिन्न रूप वर्ण विभिन्न आसन भए जस्तै अष्ट भैरवको पनि विभिन्न रूप, विभिन्न वर्ण, विभिन्न आसन र स्त्रीशक्ति पनि हुन्छ ।