• २० असोज २०८१, आइतबार

समृद्धिका लागि पुँजी निर्माण आवश्यक

blog

रङ्गेली समाचारदाता

विराटनगर, असार ९ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजी निर्माण तथा परिचालन क्षमता बढाउनुपर्ने बताउनुभएको छ। प्रदेश योजना आयोगले शुव्रmबार विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेश समृद्धिका नवीन आधार’ सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै उहाँले पुँजी र त्यसको खर्च गर्ने वातावरण नहुँदा समृद्धि भने जस्तो सहज नभएको बताउनुभएको हो। उहाँले कोशी प्रदेशको प्रथम आवधिक योजना सकिन लागेको र दोस्रो आवधिक योजना निर्माणको समय आइसकेकाले प्रदेश समृद्धिका आधारहरू तय गर्न आवश्यक भएको बताउनुभयो।

प्रदेशले बनाउने योजनाहरू प्रदेशकै तथ्याङ्कमा आधारित हुनुपर्ने भएकाले प्रदेशको वास्ताविक तथ्याङ्क सङ्कलन गर्ने कुरामा ध्यान पुग्नुपर्ने उहाँको भनाइ छ। “प्रदेशमा बजेट निर्माण र बजेट निर्माणपछि प्रथामिकताहरू तय गर्ने सन्दर्भमा हामी पहिले नै चुकेका छौँ, त्यसको कारणले अझै केही वर्ष केही क्षेत्रमा असन्तुलन हुने अवस्था रहन्छ,” मुख्यमन्त्री कार्कीले भन्नुभयो।

प्रदेशको संरचनागत कुरामा ध्यान दिँदा अन्य क्षेत्रका काम छुटेको प्रस्ट पार्दै उहाँले यस पटकको बजेट निर्माणसँगै केही सुधार प्रयास गरिएको स्मरण गराउनुभयो। केही क्षेत्रको अवस्था खस्किएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले औद्योगिक उत्पादन, निर्माण सामग्रीको उत्पादन र राजस्व सङ्कलनमा गिरावट आएको बताउनुभयो। कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको कोशी प्रदेशलाई पर्यटनको पहिलो गन्तव्य बनाउन सकिने बताउनुभयो। खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले वर्तमान संविधानले समाजवादको गन्तव्य तय गरेकाले प्रदेश समृद्धिका आधारहरू पनि सोही अनुरूप निर्माण गरिनुपर्ने बताउनुभयो। 

त्यस्तै उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेशभित्रको प्राकृतिक स्रोतसाधनका रूपमा रहेको जल र जङ्गलको भरपूर प्रयोग गर्न सके मात्र समृद्ध प्रदेश निर्माण गर्न सकिने बताउनुभयो। प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी, उपसभामुख सिर्जना दनुवार, प्रदेश सभा सदस्य गणेश उप्रेतीलगायतका व्यक्तिहरूले प्रदेश समृद्धिका आधारहरूका बारेमा बोल्नुभएको थियो। कार्यक्रममा अर्थशास्त्री प्राडा शिव अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।