• २९ वैशाख २०८१, शनिबार

बाढी पीडितका लागि राहत तथा उद्धार रणनीतिक योजना

blog

गत साता मैवाखोला गाउँपालिकाको साँघुमा गएको पहिरो र जोखिममा परेको घर ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ८ गते । जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले पहिरो प्रभावित क्षेत्रका बासिन्दाको लागि राहत तथा उद्धार रणनीतिक योजना तय गरेको छ । बाढी पहिरोबाट विस्थापित भएकालाई सुरक्षित स्थानको पहिचान गरी स्थानान्तरण गर्ने कार्यलाई थप गतिशील बनाउने लगायत योजना समेटेर रणनीतिक योजना तय गरिएको हो । 

रणनीतिक योजनाअन्तर्गत आपत्कालीन राहत पाउन योग्यहरूको प्राथमिक सूचीका आधारमा राहत वितरण कार्यलाई निरन्तरता दिने र प्रभावित बासिन्दाका लागि आवश्यक पर्ने खाद्यान्नको व्यवस्था गरिने छ । खाद्यान्न सहितका सामग्री पुर्‍याउन सम्बन्धित पालिकाको प्रशासकीय केन्द्रसम्मको अवरुद्ध सडक सञ्जाल तत्काल खुलाउने गरी प्रक्रिया अघि बढाउने योजना विपद् व्यवस्थापन समितिले अघि सारेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले पहिलो चरणमा सिदिङ्वा, सिरिजङ्घा, मैवाखोला, मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकाको प्रशासकीय केन्द्रसम्म पुग्ने अवरुद्ध सडक तत्काल खुलाउने गरी प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । खाद्यान्नसमेत गुमाई पूर्ण रूपमा विस्थापित भएका र बसोबासका लागिसमेत जोखिममा परेका परिवारको पहिचानका आधारमा राहत वितरण कार्यलाई प्राथमिकतामा पर्नेरी विपद् व्यवस्थापन समितिको योजना बनाएको छ ।

“पालिकाको प्रशासकीय केन्द्रसम्म खाद्यान्न सामग्री पुर्‍याउन सकिने अवस्था भएमा प्रभावित परिवारको खाद्य जोखिम कम गर्न सकिन्छ भन्ने योजनाका आधारमा रणनीतिक प्रक्रिया अवलम्बन गरिएको हो”, प्रजिअ चेम्जोङले भन्नुभयो । उहाँले पूर्ण रूपमा विस्थापन भएका परिवारलाई तत्कालै खाद्यान्न सहितका राहत सामग्री पुराउनुपर्ने अवस्थामा नेपाली सेनाको हेलिकप्टरमार्फत आपूर्ति गर्ने विकल्पसमेत सुरक्षित रहेको जानकारी दिनुभयो । 

मनसुनको समय समाप्त भई नसकेकोले सम्बन्धित स्थानीय तहसँगको समन्वयमा अहिले देखिएका जोखिम क्षेत्र र सम्भावित अन्य जोखिम क्षेत्रको पहिचान गर्ने कार्यसमेत अघि बढाइने उहाँले बताउनुभयो । मेची राजमार्गको ताप्लेजुङ-फिदिम सडक खण्डको हेँवाखोलामा रहेको मोटरेबल पुल र तमोर कोरिडोर क्षेत्रको माझीटारमा रहेको बेली ब्रिजसमेत बाढीले बगाएपछि अहिले ताप्लेजुङसँग पूर्वी तराईको यातायात सञ्जाल पूर्ण रूपमा अवरुद्ध छ । 

तेह्रथुमको बसन्तपुर-गुफा-साँघु हुँदै ताप्लेजुङको दोभानसम्मको सडक सञ्जाल स्थापित गर्न सकिने सम्भाव्य योजनासमेत अघि सारिने भएको छ । मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार तेह्रथुमको बसन्तपुर-गुफा-साँघुसम्म ट्रयाक्टर र साना सवारी आवतजावत गर्न सकिन्छ । “हामी साँघु-दोभान सम्मको अवरुद्ध सडक सञ्चालनमा ल्याउन अन्तरपालिका समन्वयसमेत गरिरहेका छौँ,” वनेमले बताउनुभयो । उता सिदिङ्वा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिका जोड्ने इन्द्रावतीको मोटरेवल पुलको अवरोध हटाउने कार्यका लागि प्रक्रिया सुरु भएको सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादर राईले जानकारी दिनुभयो । 

प्रजिअ चेम्जोङले मैवाखोला र आठराई त्रिवेणी गाउँपालिका जाने मैवाखोलाले बगाएको सडक पुनः निर्माण गरी तत्काल अवरोध हटाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले उत्तर-दक्षिण मूलघाट-दोभान-ओलाङ्चुङगोला सडक योजनालाई यो कार्य तत्काल अघि बढाउन आग्रह गरिएको जानकारी दिनुभयो ।

यता तत्कालका लागि फुङ्लिङ र दोभान बजारमा खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुको मौज्दात रहेको पाइएकोले तत्कालै खाद्यान्न सहितका दैनिक उपभोग्य वस्तुको सङ्कट छाइहाल्ने अवस्था नरहेको पनि जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सम्भावित कृत्रिम अभाव र कालोबजारीप्रति समिति सचेत रहेको जनाएको छ ।