काठमाडौँ, असार ८ गते । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत नियुक्त हुनुभएको छ। न्याम्सका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्नुभएको हो। यसअघि उहाँ न्याम्सको निमित्त उपकुलपतिका रूपमा कार्यरत हुनुहुन्थ्यो।
न्याम्समा सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा तीन सदस्यीय सर्च कमिटी गठन गरिएको थियो। सर्च कमिटीमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र राष्ट्रिय योजना आयोगका स्वास्थ्य क्षेत्र हेर्नुहुने सदस्य डा. आरपी बिच्छा हुनुहुन्थ्यो। उपकुलपतिका लागि ११ जनाको आवेदन परेको थियो। तीमध्येबाट तीन जनाको नाम सिफारिस भएको थियो।
नवनियुक्त उपकुलपति डा. बस्नेतले आफूले अघि सारेको दुवाकोटको योजनालाई अगाडि बढाउने बताउनुभयो। उहाँले अस्पताल, एकेडेमिक इन्स्टिच्युट र रेजिडेन्सी गरी तीन वटा परियोजना अघि बढाउने उल्लेख गर्दै न्याम्सको कार्यक्रम वीर अस्पताल, प्रसूति अस्पताल, कान्ति अस्पताललगायतका केही अस्पतालमा मात्रै रहेकाले त्यसलाई देशभरिका अस्पतालमा विस्तार गर्दै लगिने बताउनुभयो।
उहाँले वीरलाई रिफरल अस्पतालका रूपमा अघि बढाउने सोच रहेको बताउँदै यसबाट अस्पतालमा बिरामीको चाप कम हुने बताउनुभयो। न्याम्सका उपकुलपति डा. बस्नेतले न्याम्समा ‘इन्टरनेसनल एफियर सेक्सन’ स्थापना गरी विभिन्न अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वविद्यालयसँग सम्बन्ध राखेर विशेषज्ञ आदानप्रदान कार्यक्रम सुरु गर्ने बताउनुभयो। उहाँले नयाँ सर्जिकल भवन निर्माणपछि वीर अस्पतालमा भौतिक सुधार भएको दाबी गर्दै शल्यक्रियाका लागि अपरेसन थिएटर, सघन उपचार कक्ष आदिको सुविधा थपिएको बताउनुभयो।