सलिम मिया
प्यूठान (विजुवार), असार ७ गते । जिल्लाको ऐरावती गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । बुधबार एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको अध्यक्षता, स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको पूर्ण खोप दिगोपना तथा सुनिश्चितता सम्बन्धी घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, ६ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, पालिकामा कार्यरत विषयगत शाखाका प्रमुखहरू, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।
पूर्ण खोप सुनिश्चितताका लागि पालिकामा पहिलो चरणमा स्वास्थ्यकर्मीबाट चैत र वैशाखमा घरधुरी सर्वेक्षण गरिएको र दोस्रो चरणमा वडा अध्यक्ष र स्वास्थ्य चौकी इन्चार्जहरूले अनियमित रूपमा सर्वेक्षण गर्दा खोप लगाउन नछुटेको पाएपछि ६ वटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको ऐरावती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठले बताउनुभयो । त्यस्तै, स्वास्थ्य कार्यालय र स्वास्थ्य शाखाको समूहले सर्वेक्षण गर्दा खोप लगाउन नछुटेको पाएपछि पालिका घोषणा गरिएको उहाँले बताउनुभयो ।
घोषणा कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका र आम जनताको सकृयतामा पूर्णखोप सुनिश्चितता पालिका घोषणा हुन सफल भएको बताउनुभयो । खोपसँगै अन्य कार्यक्रमहरूमा पनि यी निकायहरुहरुको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ ।
पालिकाले स्वास्थ्य क्षेत्रलाई महत्त्वपूर्ण स्थानमा राखेर कार्यक्रमहरू अगाडि बढाएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि पालिकाको प्राथमिकतामा स्वास्थ्य क्षेत्र पर्ने उहाँले बताउनुभयो । विसं. २०७२ देखी पूर्णखोप सुनिश्चितता घोषणा गर्दै आएको र आगामी दिनमा पनि कार्यक्रम गर्ने स्वास्थ्य कार्यालय प्रमुख पाण्डेको भनाइ छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्नमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्यकर्मीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । यसलाई घोषणासँगै दिगोपनाका लागि ध्यान दिन जरुरी रहेको भनाइ उहाँको छ । स्वास्थ्य क्षेत्रका कार्यक्रमहरू पालिकाले गर्दै आएको समेत उहाँले बताउनुभयो । गाउँपालिकाको प्रस्तावित १५ बेडको अस्पतालका लागि टेण्डर भई सम्झौताको चरणमा रहेको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो ।
यसैगरी, पूर्ण खोप सुनिश्चितता कार्यक्रममा पालिका भित्रका स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत खोप फोकल पर्सनलाई प्रशंसा पत्रमार्फत सम्मान गरिएको छ । खोप कार्यक्रमको क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै १२ जना स्वास्थ्य कर्मीलाई प्रशंसा पत्र वितरण गरिएको हो ।त्यसैगरी, पूर्ण खोप सुनिश्चितता कार्यक्रमकै अवसरमा ऐरावती गाउँपालिकाका स्वास्थ्य चौकी मातहतका महिला स्वास्थ्य स्वयंमसेविकालाई स्विटर र परिचयपत्र वितरण गरिएको छ । यहाँका ४८ जना स्वयंमसेविकालाई सम्मान स्वरूप उक्त सामग्री वितरण गरिएको हो ।