• ९ मंसिर २०८१, आइतबार

लकडाउन

blog

स्थान : एउटा कोठा

समय : जुनसुकै बेला

पात्र  : प्रतिनिधि पात्र एक नेपथ्यमा कोरोना र अरू कोही ।


(एउटा भव्य कोठा । आधुनिक । सर्वसुविधा सम्पन्न । कोठाको कुनै एक भागमा प्रतिनिधि पात्र एक झोक्राएर बसेको छ । परिस्थितिलाई विश्लेषण गर्ने हो भने कोठाको आवरणलाई दुई दृष्टिबाट हेर्न सकिन्छ । पहिलो हिन्दू संस्कृति अनुसार पितृ मोक्षका लागि १३ दिन आशौच बसेको बेला कोठाका भौतिक सामग्रीलगायत कोठा स्वयम्को रङ रूप पनि सारै फिका वैराग्य र उराँठ लाग्दो देखिए पनि व्यक्ति रक्तिम चम्किलो नै देखिन्छ । शरीर नुन नखाए पनि शिथिल देखिँदैन । तर दोस्रो स्थितिमा कोठाका सजावट तन्दुरुस्त आकर्षक छ तथापि व्यक्ति उर्फ पात्र एक फिका उराँठ र दिक्दार देखिनुको अतिरिक्त उसको शरीर कुनै अदृश्य त्राशले थिलथिलो पारेको देखिन्छ । ऊ झोक्राएरै केही सोचिरहेको बेला नेपथ्यमा बडो अप्रिय सङ्गीत धुन सुनिन्छ । पात्र एक एकदम डराएर यताउति हेर्छ । कोही, केही देख्तैन । तथापि एउटा सम्बोधन सुनिन्छ ।)


..........    पात्र..!. (आवाज इको भएर कोठाभरि छरिन्छ)

पात्र (डराएर यताउति हेर्दै) हजुर हजुर ! (बसेको ठाउँबाट अलि पछि हट्दै) हजुर को हो ? मैले देखिन नि... (आत्तिरहेकै हुन्छ ।)

कोरोना      पात्र ! म कोरोना हुँ । संसार थर्काइरहेको नोबल कोरोना ।

पात्र        (झन् आत्तिँदै हात जोडेर हडबडमा) म हजुरकै डरले चौध दिनसम्म हजुरको किरिया (हातले मुखमा प्याट्ट हिर्काउँदै) ए झुक्केँछु, हजुरबाट टाढा बस्दैछु । हजुर मेरो नजिक नआउनु होस् !

कोरोना      म तिमीबाट टाढै छु वत्स । टाढै बस्छु यदि तिमी अनुशासित भएर सरसफाइका नियमहरू पालन ग-यौ भने । तर मेरो एउटा प्रश्न छ । तिमी लामो आयु बाँच्न किन चाहन्छौ ? (यतिकैमा कोही भ-याङबाट ओर्लिंदै गरेको आवाज आउँछ) तिम्रा परिवार तिम्रा लागि खानेकुरा लिएर आए जस्ता छन् । म यतै हुनेछु । तिम्रो परिवारबाट पनि टाढा रहनेछु । (परिवार कोठामा प्रवेश गर्छन् । पञ्जा लगाएको हातले  खानेकुरासहितको ट्रे (किस्ती) टाढैबाट छोडेर जान्छन् ।)

पात्र (खानेकुरा खाऊँ कि नखाऊँ गरेर हेरिरहन्छ । डर पनि छ ।)

कोरोना      मजाले खाऊ प्रतिनिधि पात्र । यस्तो बेलामा ज्यान तन्दुरुस्त राख्नुपर्छ । ऐले मात्र  हैन । मान्छेको जीवनका हरेक पलपलमा भय छ । आशङ्का छ । म नभए पनि भोलि मृत्यु अवश्य छ । त्यसैले भविष्यबारे सोच । आफ्नो र परिवारको भविष्य बनाऊ । मृत्युबारे सोच्दै नसोच यो अवश्यम्भावी छ । आज नभए भोलि ।

पात्र        (लामो सास तान्छ ।) उसलाई यो कुरा हल्का चित्तबुझ्दो लाग्यो । ऊ पकापक खान थाल्यो । सकिएपछि सफाइका सबै विधि पूरा ग-यो ।

कोरोना मेरो थाँती प्रश्न । तिमीलाई चाँडै मर्छु भन्ने डर किन भयो ? किन धेरै बाँच्नु प-यो ?

पात्र जीवनमा केही गरेर, नाम कमाएर मर्न सकूँ भन्ने लागेकाले केही गर्न अझै बाँच्नु जरुरी छ जस्तो लाग्यो ।

कोरोना     तिमी चालिस उत्तरार्धमा छौ । तिमीले आफू र परिवारबाहेक अरूको लागि के  ग-यौ त अहिलेसम्म ?

पात्र (नम्र हुँदै) त्यही गर्न नसकेको पीडाबोध भइरहेछ तथापि आजसम्म मैले अरूको बिगारनास केही गरिनँ । परनिन्दा गरिनँ । सके अरूको प्रगतिको प्रशंसा गरेँ । नसके चुप लागेँ । डाहा गरिनँ । ईष्र्या गरिनँ । म सानोलाई माया गर्छु । ठूलाका आदर गर्छु बस् ।

कोरोना    पात्र ! त्यसैले म तिम्रो नजिक हुन नचाहेको । हामी दुस्मन उर्फ काललाई पनि ईश्वरले नै सृष्टि गरेका हुन् । हामीमा पनि त्यो दैवी ज्ञान छ । जो मान्छे सारै रिसाहा, फटाहा हुन्छ र ऊ अरूको नराम्रो सोच्दै समाज भाँड्ने काम गर्छ त्यसलाई महामारी आउनै पर्दैन । आफ्नै पापले छिटै मर्छ ।

पात्र (आवाज आइरहेको ठाउँतिर हात जोड्दै) म एउटा प्रश्न गरूँ ?

कोरोना मजाले गर पात्र किनकि तिमी संसारका प्रतिनिधि हौ ।

पात्र तपाईं अब संसार डुबाएरै जाने हो त ?

कोरोना      म संसार डुबाउन आएकै हैन । चेतावनी दिन आएको । यद्यपि मेरो जन्म साम्यवाद देशबाट भएको हो । आफू र आफ्नाबाहेक अरू सोच्दैनन् । तर पनि सारा विश्व ‘समाजवाद समाजवाद’ भन्नलाई भन्छ काम जति फेरि व्यक्तिवाद गर्छ । भाइचाराको नातालाई विश्वव्यापीकरण गर्ने भन्ने तर बलियो र धनी राष्ट्र सधैँभरि आफ्नो मसल देखाइरहने । अहिले देख्यौ सबै कसरी एक जुट भइरहेका छन् ।

पात्र      त्यो त हो हजुर । अनि नेपालको स्थिति के रहला त यस्तो गरिब र पिछडिएको मुलुक ?

कोरोना    नेपाल सारै गरिब र पिछडिएको मुलुक हो नै । तर नेपालीहरू जतिको जान्ने सुन्ने  हुनुपर्ने जिरेखुर्सानी संसारमा सायदै होला । काम फिटिक्क नगर्ने कुराले लङ्का हाँक्ने । अरूलाई जुधाउने बजाउने आपूm फाइदा लुट्ने । यस्तालाई म नभए नि अरूले छोड्दैन । अब तिमीहरूकै सरकार हेर न, जनतालाई जहिले दुःख परे नि अहिले अमन चयन कायम गरी मान्छे बचाउन लागिपरेका छन् । नेपालमा सरकार चलाउनेहरूले अहिलेको जस्तो दुःख, मिहिनेत, सोच, परिश्रम गरिदेको भए नेपाल उहिले कहाँ पुगिसक्थ्यो । 

पात्र        (पत्याउने नपात्याउने शैलीमा हात उठाउँदै) खै, कसको विश्वास गर्ने कसको नगर्ने ? 

कोरोना    नेपाल बहुल जाति, भाषा, संस्कृतिको देश हो नै । तथापि जातमा वली, डाक्टरमा दली, गोरुसँगै नारिने हली, आगोमा नाच्ने पातकी खली र नेपालमा एउटा राजनीतिक संस्कार नै बसेको ‘हातमली’ कार्यकर्ताहरू जति डेन्जर अरू कोही हुन्नन् भन्ने सुनेको छु । ख्याल गर्नु ।

पात्र        (हल्का खुसी हुने प्रयास गर्दै) अनि यो १४ दिन म के गरूँ त रोना, ए कोरोनाज्यू ?

कोरोना    यो १४ दिन मान्छेको जीवनमा परिवर्तन ल्याउन काफी हुन्छ । यदि नडराउने, नआत्तिने र लगनशील भएर लाग्ने हो भने यो चौध दिनमा मान्छे दार्शनिक बन्न सक्छ । मनोविज्ञ बन्न सक्छ । लेखक विद्वान् बन्न सक्छ । सन्त विचारक चिन्तक बन्न सक्छ र आन्तरिक फोहोर मैला हटाउन सके मान्छे सम्पूर्णमा एउटा सिङ्गो र शुद्ध मान्छे बन्न सक्छ । 

पात्र        (दुई घुँडा टेक्दै हात जोडेर) अब म यहाँलाई बिदा गर्छु ।

कोरोना यताउति नहिँड्ने । कोठामै बसिरहने । सरसफाइमा ध्यान दिने । फेरि ट्वाँके वा बाह«मासे बन्लाऊ । होस पु-याउने !

पात्र        हस नमस्कार ! (कोरोना गएपछि नमिठो सङ्गीत धुन पनि बन्द हुन्छ । पात्र कलम र डायरी लिएर लेख्न बस्छ ।)  

(पर्दा)