जलुके माइलाले लौन दाइ एउटा पार्टी खोल्न पर्यो भनेर मलाई गुहारेको पनि तेह्र हजार तीन सय दिनभन्दा अगाडिकै कुरा हो । जलुकेको पार्टी प्रस्तावको सुरुका दिनमा मैले उसलाई भनेथेँ– भएका पार्टी त प्रतिबन्धित भएका यस्तो अवस्थामा पार्टी खोलेर परिवारका जो भएका पन्ट्याङपुन्टुङलाई पनि बिजोग बनाउनु छ र ? पार्टी नै खोल्ने आँट गरिसकेपछि आपूm त पार्टीका नाउँमा होमियुँला, सकियुँला केही थिएन तर पार्टीकै पासोमा पारेर परिवारको बिचल्ली किन पार्नु ? पार्टी खोल्नु त कताकता पार्टीको नामै सुन्दा पनि पिसिनुपर्ने अहिलेको यस्तो डरलाग्दो अवस्थामा पार्टी प्रस्ताव गरेर तैँले मलाई पैयुँपाटामा पाता कसेर पल्टाउन खोजेको हो ?
जलुकेको पार्टी प्रस्तावका सन्दर्भमा मैले लगाएको प्रत्युत्तर सुनेपछि उसले मसँग बोल्नु त परै जाओस्, ठाडो मुन्टो लगाएर हेर्ने आँटसम्म पनि गरेन । ऊ घोप्टाको घोप्टै घरतिर लुरुक्किएपछि मैले फुर्सदमा उसका कुरामाथि फेरि विश्लेषण गरेँ । पातालदेखि पाटीभन्ज्याङसम्मका सबै सम्भावना केलाएर उसका कुरा पटक पटक पुनरावलोकन गरेँ । नाफा घाटा केलाएँ । एकातिर जति केलाउँदा पनि घाटाको घाटै नाफा कतै छैन, अर्कातिर जति गर्दा पनि जिउ कामेको काम्यै । अहो ! पार्टी प्रतिबन्धित भएको यस्तो समयमा पनि पार्टी खोल्ने ? सोह्रैआना बेठिक कुरा यो । न विदेशमा छिर्न जान्या छ, न स्वदेशमा चर्न जान्या छ । न कसैलाई दुई सुको झार्न जान्या छ, न कसैलाई कुराले मक्ख पार्न जान्या छ । यस्ता रङ्ग न ढङ्गका मान्छेले पार्टी खोलेर पञ्चायतका अगाडि सिँगौरी खेल्नु भनेको भोकाएर भनभनिएको सिंहलाई पाखामा चर्दै गरेको बाख्राले लात्ती हान्नुभन्दा बढी जोखिमपूर्ण काम हो ।
दिउँसोको यस घटनापछि जलुके रातको सपनामा सरासर म कहाँ आयो र भन्यो– दाइ, त्यत्ति एउटा पार्टी खोलौँ भनेको पनि मान्नुभएन हकि ? नमानेकोमा पनि मलाई दुःख छैन । दुःख त यस कुरामा लागेको छ कि तपाईंले मलाई ‘पार्टी किन खोल्ने ?’ भनेरसम्म पनि सोध्नुभएन । खाली आफ्ना कुरा राख्नुभयो । मलाई थर्काउनुभयो । तपाईंका एकपक्षीय कुरा सुनिरहन मन लागेन मलाई । त्यही भएर म चुपचाप मार्ग पछ्याएर अगाडि बढेँ ।
तपाईंलाई लाग्यो होला जलुकेलाई मेरो जबाफ उचित लागेर यहाँबाट हिँड्यो । मेरा कुरामा सहमति जनायो तर कुरा त्यसो होइन । पख्नुस्, तपाईंलाई कुनै दिन ‘अहो ! जलुकेले त पहिल्यै भनेको थियो नि !’ भनेर पछुताउनुपर्ने दिन आउने बनाइदिन्छु ।
जलुकेले निकै चित्त दुखाएको बुझेर मैले सोधेछु– पार्टी खोल्न किन हतार ? पार्टी खोलेर के गर्ने ? पार्टी राजनीति गर्न नपाउने बेलामा पार्टी खोलेर आफ्नै घुँडामा बन्चरो हान्ने काम ठिक हो र ? समय परिस्थिति हेरेर कुनै दिन मौका जुरेछ भने खोलुँला नि एउटा जाबो पार्टी । पार्टी चलाउन पो गाह्रो त ! पार्टी खोल्नु त कुन ठुलो कुरा भो र ?
जलुकेले जबाफ लगायो– कोशी ब्यारेजका ढोका पनि चाहिँदा खुल्छन्, नचाहिँदा बन्द हुन्छन् । पार्टी भनेको पनि त्यस्तै हो । कसैको सनकले जित्यो भने बन्द हुन्छ, दनकले जित्यो भने खुल्छ । सनक र दनकको खेल हो यो । यतिखेर सनकले काम गरेकाले सबै पार्टी प्रतिबन्धित छन् । जनताका दनकको बाढी आएपछि यिनलाई नखुलाएर सुखै छैन । एक खुल्छ, दुई खुल्छ, तीन खुल्छ । के कुरा गर्नुभएको ? अहिल्यै पार्टी खोलेर भूमिगत चलखेल गरिरहन पाए एकातिर पार्टीका नाममा थर्काएर होस् कि मर्काएर होस् गुप्ती चन्दा सङ्कलन अभियान चलाएर काम चलाउ भने पनि आम्दानीको बाटो खुला हुने, अर्कातिर भोलिका दिनमा पार्टीका ढोका खुला भएपछि काम गर्न केही नसके पनि पुरानो पार्टी भनेर सबैलाई हप्कीदप्की गर्न त पाइन्छ । सोझो औँलाले घिउ आउँदैन क्या । कुरा बुझ्नुस् न । अर्ती भनेको जस्ताको पनि सुन्नु पर्छ भन्ने आहान तपाईंले सुन्नुभएको छैन र ? म लाटाले त बुझेका कुरा तपाईं जस्ता राजनीति गर्ने मान्छेले त झनै बुझ्नुपर्ने । यति कुरा पनि बुझ्नु हुन्न ? कि, बुझपचाउनुभएको जलुकेले के भन्छ भनेर ?
जलुकेले हप्काएपछि मैले पनि रातारात पार्टी पुरोहित खोजिछु र तिनलाई पार्टीको नाम जुराउन पन्ध्र दिनको समय दिएर जसरी पनि काम हुनु पर्छ भन्दै औँलो ठड्याइछु । उनले त्यस कामका लागि सघाउन थप साथीहरू मागे । मैले जलुके र गहतेलाई पनि पुरोहितका साथमा खटाइदिएँ ।
समितिबाट पन्ध्र दिन त के पाँचै दिनमा पार्टीको नाम प्रस्ताव भयो । प्रस्तावित नाम थियो– ‘राष्ट्रिय पिँडालु पार्टी ।’ मलाई खासै मन परेन यस्तो नाम । मलाई मन नपर्नुमा पिँडालु पार्टीभन्दा पनि त्यसमा राष्ट्रिय झुन्ड्याएको मन परेन । पार्टी भनेपछि घोषणापत्रका अक्षर र चुनावी र्यालीको बोलीमा मात्र जनतालाई देखाउने र राष्ट्रिय हुने हो, काम त अन्तर्राष्ट्रिय चलखेलमा गर्ने हो नि । नत्र कसरी टिकिन्छ ! यसरी भविष्यमा अन्तर्राष्ट्रिय चलखेलमा काम गर्नुपर्ने जान्दा जान्दै नयाँ पार्टीका नामका अगाडि किन ‘राष्ट्रिय’ शब्द झुन्ड्याउने ? मौका पर्दा भोलि यिनै जनताले औँला ठड्याउँछन् । त्यतिखेर अलिकति पनि बोल्ने ठाउँ हुँदैन । यत्तिका महान मान्छे सम्मिलित भएर खुल्ने पार्टीमा यस्तो अदूरदर्शी काम गर्न हुन्न ।
मैले पाँच दिनको समय दिएर पाँच जनाको नाम प्रस्ताव गरिदिएँँ प्रस्तावित पार्टी नाममाथि पुनर्विचार गर्न । तिनले ढिलो नगरीकनै काम सुरु गरे र पैँतालिस घण्टाभित्रै प्रतिवेदन दिए । प्रतिवेदनको सार थियो– पहिला प्रस्तावित पार्टी नामको अगाडि झुन्ड्याइएको राष्ट्रिय शब्दका सट्टामा प्रजातान्त्रिक थप्ने । यसो गर्दा पार्टी नाम ‘प्रजातान्त्रिक पिँडालु पार्टी’ हुन्छ र यो सर्वप्रिय बन्छ ।
मैले प्रश्न गरेँ, कसरी सर्वप्रिय हुन्छ यस्तो नाम ? उनीहरू पाँचै जनाले एक एक गरी मलाई यसका विषयमा अथ्र्याए र भने– हामी सबै पढ्न पो पञ्चायतकालमा पढेका त, जन्मन त प्रजातान्त्रिककालमा नै जन्मेका हौँ नि । त्यसैले प्रजातन्त्र छोड्ने कुरा आएन । त्यसमाथि पिँडालु सहरदेखि गाउँसम्म सबैका मुखमा सपे्रम प्रवेश पाउँदै आएको तरकारीजन्य चिजवस्तु । जनताका सामु थप केही प्रस्ट पारिरहनै नपर्ने । सबैले चिनेजानेको ।
अनि फेरि पिँडालु एकादशीमा पनि प्रिय, द्वादशीमा पनि प्रिय । औँसीमा पनि चल्ने, पूर्णिमामा पनि नरोकिने । पूजामा पनि प्रिय, श्राद्धमा पनि सराहना । दसैँ, तिहार, बर्थडे, लभ डे, छोड् डे जहिले पनि हसुर्न मिल्ने । पातमा पानी नअडिने, गाथमा दाग नदेखिने । पात खाए पनि ठिक, गाँठा खाए पनि ठिक । बोट खाए पनि ठिक, जरा खाए पनि ठिक । सधैँ सफाको सफै, टिलिक्क टल्केको टल्क्यै । टुप्पाको पानी सरक्क बगाएर ल्याएर आफ्नै आकार बढाउन सक्षम । टुप्पोमा जे हाले पनि तरक्क तर्कने, टुप्पो जस्ताको तस्तै । सधैँ सफा, सधैँ दागविहीन । दरिलो नभए पनि सधैँको भरिलो । शिरको पानी पाउमा गएर फल बढेको बढ्यै । डाँठ मोटाएको मोटायै । उच्च पदस्थ नेताका घरपरिवार मोटाए जस्तो । चिप्लोमा चिप्लो, मिठोमा मिठो । कसैका घाँटीमा कसै गरी नअड्किने । यस्तो सर्वप्रिय वस्तुको नाम जोडेर पार्टी खोलेपछि नचिप्लिने को ? जो पनि चिप्लिन्छन् ।
हाम्रो काम तिनलाई चिप्ल्याउनु नै हो, काखी च्याप्नु होइन । अनि, पछाडि छुरा हाने पनि पार्टी नामका अगाडि प्रजातान्त्रिक थपिदिएपछि न स्वराष्ट्रकाले औँलो ठड्याउन सक्ने ? न परराष्ट्रकाले ? यति भएपछि अरिङ्गाल पथ अँगाले पनि भयो, बच्छ्युँपथ अँगाले पनि भयो । समाजवादी पथ अगाले पनि भयो, परिवारवादी पथ अँगाले पनि भयो । भालावादी भए पनि ठिक, लौरोवादी भए पनि ठिक । अनि यस्तो नाम जनतालाई भज्न पनि सजिलो, पार्टीलाई पेल्न पनि सजिलो । भोलि पार्टीले प्रधानमन्त्री पाउँदाका अवस्थामा पनि प्रजातान्त्रिक पिँडालु पार्टीका प्रधानमन्त्रीभन्दा कति स्वादे हुन्छ । कामै नगरे पनि परर्र ताली आउँछ । हामीलाई चाहिने त गड्गडाहट ताली पनि हो नि ।
यी साथीभाइका कुरा सुनेपछि पार्टी नामका सम्बन्धमा म पनि अलिक नरम बनेँ । उनीहरूलाई एकछिन, एकछिन भनेर सात घण्टासम्म घोरिएँ । पार्टीमा ठुलै ठाउँ पाइने आशाले उनीहरू कोही बोल्न सकेनन् । चुपचाप बसिरहे । यसरी कसैले नबोल्ने स्थिति देखेपछि मैले पार्टी दीर्घकालसम्म टिक्ने अनुमान गरेँ तर एउटा कुरामा मैले पार्टी नाममा संशोधन चाहेँ । त्यो पनि आफ्नै स्वार्थका कारण । त्यो के थियो ? भने यसरी उनीहरूले प्रस्ताव गरेको पार्टी नाम मैले फ्याट्टै स्वीकार गरिदिएँ भने भोलिका दिनमा यिनले पार्टीको नाम हामीले प्रस्ताव गरेको त हो नि, भनेर मेरो अवमूल्यन गर्न सक्छन् । त्यसमा मेरो पनि हस्तक्षेपकारी भूमिका हुनु पर्छ । त्यसैले यसमा थप केही झुन्ड्याउनै पर्छ । अनि सोचेँ, काम र सेवामा जे भए पनि पार्टीको नाम सुन्नेबित्तिकै सबैले प्रिय मान्ने होस्, सबैले भनेको काम गरिदिने खालको होस्, सबैलाई रिझाउन जान्ने होस् । यी सबैलाई सुहाउने शब्द के होला ? ध्यान दिएर खोजेँ । पाएँ– ‘प्रियङ्कर ।’ यसो गर्दा पार्टीको नाम ‘प्रियङ्कर प्रजातान्त्रिक पिँडालु पार्टी’ हुने भयो । दुई चार पटक मनमनै पढेँ । रमाइलो लाग्यो । अगाडिपट्टि मौनव्रती भई बसेका साथी भाइलाई सुनाएँ । बिनाप्रतिवाद सबैले टरर्र ताली ठोके । उनीहरूले प्रस्ताव गरेका शब्द पनि सबै समेटिए, मेरो स्वार्थ पनि पूरा भयो ।
पार्टीका नाममा प्रजातान्त्रिक जोडिएपछि देखाउनैका लागि भए पनि जनताको मत बुझ्नै प-यो । यसमा पनि सबैको सहमति भयो । ढिलो होस्, राम्रो होस् भन्ने सोचियो । पार्टीको नाम र यसका घोषणापत्रका विषयमा जनमत बुझ्न गोप्य रूपमा खटिए साथीहरू । यो काम चाँडै सम्पन्न गर्ने भन्दाभन्दै वर्षौं बिते छ । रमणीय निद्रामा निदाउन पनि यति निदाइएछ कि बिउँझँदा पञ्चायत बिदा भएर मुलुकमा पार्टी पादार्पण गरेको पनि पैँतिस वर्ष नाघिसकेछ ।
ढिलो होस्, राम्रो होस् भनेको ठिकै भएछ । राजनीतिक खतरा केही छैन । जुरुक्क उठेँ । दायाँ बायाँ कोही छैनन् । तैपनि देखेको सपना त साकार पार्नै प-यो भनेर दौडिएँ बजारतिर । फटाफट बोर्ड लेखाएँ र घरका अगाडि टाँगेँ । त्यसमा लेखिएको थियो, ‘प्रियङ्कर प्रजातान्त्रिक पिँडालु पार्टी, नेपाल ।’
पार्टीको बोर्ड के टाँगिएको मात्र थियो, बजारमा ओहोरदोहोर गर्ने अरू पार्टीका असन्तुष्ट नेता कार्यकर्ताको आगमन र पार्टी प्रवेश ढिलो नगरीकन सुरु भइहाल्यो । अरू राजनीतिक पार्टीका असन्तुष्टहरूको भिड यति लाग्यो कि मलाई पार्टीको प्रस्तावित नाम नै फेरेर ‘असन्तुष्ट प्रजातान्त्रिक पिँडालु पार्टी’ पो बनाउनु पर्छ कि क्या हो ? भन्ने पनि लाग्यो । तर फेरि सम्हालिएँ र एकैछिन सोचेँ, कति दिन पो टिक्ने हुन् र यी ? यस्ता भर नभएकाहरूको झुन्डका पछि लागेर पार्टी नाम किन फेर्ने ? यही ठिक छ । अनि रमाइलैका लागि भए पनि यिनै भिडलाई त्यसै बोर्डका अगाडि उभ्याएर सामूहिक फोटो खिचाउँदै पार्टीका पक्षमा नारा लगाउन लगाएँ ।
भिडले सडकको पिचै उप्काउला भैmँ गरी एकसाथ उर्लेर जोडले निरन्तर नारा लगाउँदै भन्यो,
‘प्रियङ्कर प्रजातान्त्रिक पिँडालु पार्टी, जिन्दावाद ।’
‘जिन्दावाद, जिन्दावाद ।’
‘प्रियङ्कर प्रजातान्त्रिक पिँडालु पार्टी, जिन्दावाद ।’
‘जिन्दावाद, जिन्दावाद ।’ मधुपर्क