• ३१ वैशाख २०८२, बुधबार

बर्ड फ्लुका कारण बाघिनीको मृत्यु, उत्तर प्रदेशका सबै चिडियाखाना अस्थायी रूपमा बन्द

blog

इटावा (उत्तर प्रदेश), वैशाख ३१ गते । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) एक बघिनीको मृत्यु भएपछि उत्तर प्रदेशका सबै चिडियाखाना र सफारी पार्कहरू अस्थायी रूपमा बन्द गरिएको छ ।

इटावा लायन सफारी पार्कका निर्देशक अनिलकुमार पटेलले एएनआईसँग भन्नुभयो, “गोरखपुर चिडियाखानामा एभियन इन्फ्लुएन्जाका कारण एक बघिनीको मृत्यु भएपछि राज्यका सबै चिडियाखाना र सफारीहरू एक हप्ताका लागि (मे २० सम्म) अस्थायी रूपमा बन्द गरिएको छ ।”

निकुञ्जले आवश्यक सावधानी अपनाएको र कर्मचारीको स्वास्थ्य परीक्षण गरिरहेको पटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “चिडियाखानाका कर्मचारीको स्वास्थ्य अनुगमन भइरहेको छ । हामी सबै सावधानी अपनाइरहेका छौँ । हाम्रो निकुञ्जका कुनै पनि जनावरमा बर्ड फ्लुको लक्षण देखिएको छैन,” पटेलले भन्नुभयो ।

एएनआईसँग कुरा गर्दै उत्तर प्रदेशका वनमन्त्री अरुण सक्सेनाले भन्नुभयो, “चिडियाखानामा बर्ड फ्लुको पुष्टि हुने बित्तिकै राज्यका चिडियाखानाहरू सावधानीको उपायको रूपमा एक हप्ताका लागि बन्द गरिएको छ ।”

उहाँले थप्नुभयो, “भाइरसको सङ्क्रमण फैलिन नदिन सबै चिडियाखानामा सरसफाइको काम भइरहेको छ । एक हप्तापछि फेरि जाँच गरिनेछ र थप निर्णय लिइनेछ ।”

यसअघि उत्तर प्रदेश सरकारले लखनउ, कानपुर र गोरखपुरमा रहेको इटावा लायन सफारी र चिडियाखानालाई एक हप्ताका लागि बन्द गर्न आदेश दिएको थियो ।

मङ्गलबार मुख्यमन्त्री योगी आदित्यनाथले एच–फाइभ एभियन इन्फ्लुएन्जा भाइरसबारे चेतावनीपछि राज्यको तयारी र प्रतिकार्य योजनाको समीक्षा गर्न वरिष्ठ अधिकारीहरूसँग एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभएको थियो ।

बर्ड फ्लु एक अत्यधिक सङ्क्रामक भाइरल रोग हो जसले विशेष गरी कुखुरा, हाँस र टर्कीजस्ता पङ्क्षीलाई असर गर्दछ ।

यो इन्फ्लुएन्जा ए भाइरसको कारण हुन्छ र ‘एच–फाइभ’ ले यी भाइरसहरूको उपप्रकारहरू मध्ये एकलाई बुझाउँछ । विशेष गरी एच–फाइभ एन–वन सबैभन्दा धेरै देखिने र खतरनाक रूपहरू मध्ये एक हो । रासस/एएनआई