• १ जेठ २०८२, बिहिबार

ताप्लेजुङका स्थानीय तह याक प्रवर्धनमा जुट्दै

blog

फुङ्लिङ (ताप्लेजुङ),  जेठ १ गते ।  दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्धन गर्ने योजना बनाएका छन् ।

पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी, सहरीकरण, मौसम परिवर्तन, नयाँ पुस्तामा चासो नहुनुलगायत कारणले याकपालनप्रति आकर्षण कम हुँदै गएपछि यहाँका स्थानीय तहले याक संरक्षण र प्रवर्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका हुन् ।

सिरिजङ्घा गाउँपालिकाले हालै याक संरक्षणप्रति जनचासो बढाउने उद्देश्यले ‘चौँरी प्रदर्शन कार्यक्रम’ आयोजना गरेको थियो । जिल्लामा पहिलो पटक आयोजना गरिएको उक्त प्रदर्शनीमा उत्साहजनक याकपालक कृषकहरूको सहभागिता थियो । 

गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा याकको शरीरको बनावट, सिङको आकार, पुच्छरको बनोट, चालचलन, स्वभावलगायत आधारमा मूल्याङ्कन गरी उत्कृष्ट याक छनोट गरिएको थियो । प्रतियोगितामा विजयी घोषित याकका पालकलाई २८ हजार ५८८ नगदसहित प्रमाणपत्र प्रदान गरिएको सिरिजङ्घा गाउँपालिकाले जनाएको छ । सहभागी कृषकलाई प्रोत्साहनस्वरूप आठ हजार ५८६ का दरले पुरस्कार वितरण गरिएको थियो ।

जिल्लास्थित चौँरी व्यवसायी सङ्घका अध्यक्ष दावा शेर्पाका अनुसार यो कार्यक्रमले कृषकहरूमा आत्मविश्वास बढ्नुका साथै चौँरी पालनमा हाकर्षण पैदा गरेको छ । “हामीजस्ता दुर्गम भेगका किसानलाई राज्यले सम्झिएको महसुस भयो”, उहाँले भन्नुभयो, “अब हामीलाई अझ थप चौँरीपालन गर्न हौसला मिलेको छ ।”

गाउँपालिका उपाध्यक्ष डा. चित्र माबोले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई पनि याकपालनतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । “हामीले परम्परागत ज्ञान र सीप जोगाउन यस्ता प्रदर्शनीहरू नियमित रूपमा सञ्चालन गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो । 

याक प्रवर्धन गर्नका लागि फक्ताङलुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा याकपालक कृषकलाई ७५ प्रतिशत अनुदानमा याक वितरण गर्ने कार्यक्रम अघि सारेको छ । गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार यो योजना प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा सञ्चालन हुनेछ । 

“पशुपक्षी तथा मत्स्य विकास कार्यक्रमसम्बन्धी कार्यविधि (२०८१ बनाएर पारित गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “यो कार्यक्रमले याकपालनको पुनरुत्थान र कृषकहरूको आम्दानी वृद्धिमा सहयोग पुर्‍याउने छ ।” उहाँका अनुसार कार्यक्रमका लागि गाउँपालिकाले आठ लाख बजेट छुट्याएको छ । 

अध्यक्ष लिम्बूले पछिल्लो समय याकपालन पेसाबाट कृषक क्रमशः पलायन हुन थालेपछि उहाँहरूलाई पुनःआकर्षित गर्ने उद्देश्यले यो पहल गरिएको बताउनुभयो । 

याक प्रवर्धनमा मिक्वाखोला गाउँपालिका पनि अग्रसर हुँदै आएको छ । पालिकाले चालु आर्थिक वर्षमा याक संरक्षण तथा प्रवर्धनका लागि २५ लाख बराबरको कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले यस योजनाले याकपालक कृषकलाई आवश्यक प्राविधिक सहयोग, तालिम र पूर्वाधार विस्तारमा सहयोग पुर्‍याउने बताउनुभयो । 

यसैगरी मैवाखोला गाउँपालिकाले पनि याक प्रवर्धनमा चासो देखाउँदै पाँच लाख बराबरको कार्यक्रम सम्पन्न गरिसकेको छ । पालिकाका अध्यक्ष विजयप्रकाश वनेमले भन्नुभयो, “हामीले स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै याकपालनलाई संरक्षण र आयआर्जनको भरपर्दो माध्यम बनाउन खोजिरहेका छौँ ।”

चौँरी (याक) ताप्लेजुङको उच्च हिमाली क्षेत्रको पारिस्थितिक, सांस्कृतिक र आर्थिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ । हिउँदयाममा चौँरीलाई उच्च हिमाली चरनभूमिमा चराइन्छ । याकबाट मासु, दूध, घ्यू, रौँ (ऊन) लगायतका उत्पादन प्राप्त हुन्छन् । यसले स्थानीयको जीविकोपार्जनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।  रासस