गुणबहादुर रोका
सुलीकोट, जेठ १ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका पुर्ण खोप सुनिश्चित एवम् दिगोपना गाउँ पालिका घोषणा भएको छ ।
गाउँपालिकामा खोप लगाउनु पर्ने एक जना बालबालिका पनि नभेटिएकाले बिहीबार पूर्ण खोप सुनिश्च्ति गाउँपालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अमृतबहादुर घलेले जानकारी दिनुभयो ।
धार्चे गाउँपालिकाको ७ वटा वडामा जन्मे देखि १५ महिनासम्मको १३७ जना र १६ महिना देखि २३ महिनासम्मका १३४ जना बालबालिकाले पूर्णखोप लगाएसँगै धार्चे गाउँपालिका पुर्णखोप सुनिश्चित एवम् दिगोपना गाउँपालिका घोषणा भएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाले हरेक वर्ष सबै वडाहरूमा पूर्णखोप सुनिश्चित भए नभएको अनुगमन गरेर मात्र पूर्णखोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषणा गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख घलेको भनाइ छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाले प्रत्येक वर्षको ३ महिना माघ, फागुन र चैत महिनामा पालिकाले आफ्नो पालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाहरूको खोजी कार्य गर्ने र कोहि छुटेको भए खोप लगाईदिने गरेको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षमा बनेको जिल्ला खोप समन्वय समितिले पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित एवम् दिगोपन पालिका घोषणा गर्ने छ । खोप समन्वय समितिले हरेक वर्ष पालिकाहरू भित्र १६ देखि २३ महिना सम्मका बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र पाउनु पर्ने सबै खाले खोप लगाए नलाएको अनुगमन गरेर पालिकाहरूलाई पूर्ण खोप सुनिश्च्यिता पालिका घोषणा गर्ने गरिएको छ ।