• २१ वैशाख २०८२, आइतबार

लाज (कथा)

blog

हिजो राति नराम्रोसँग रोइएछ । म झैँ कठोर मनको मान्छे त्यसरी रुँला भन्ने मैले कल्पना नै गरेको थिइनँ । बाबु मरे, अलमलमा परेँ, राम्ररी रुनँ पनि सकिनँ । आफ्नाहरूलाई भेट्दैमा, मर्नुको कारण बताउँदैमा रुवाइको वेग खुल्नै सकेको होइन । आमा मरिन्, केही क्षण रुन नपाउँदैमा लास उठाउने चाँजोपाँजो मिलाउन प¥यो, मनभित्रको सारा पीडा बिर्सिएर घाटतिर लाने र दागबत्ती जस्तो व्यवहारले रुवाइलाई खुल्नै दिएन । एउटै छोरा हुनुको यो ठुलो विडम्बना रहेछ । तर हिजो भने न त कोही मरेकै थियो, न त घाट र दागबत्तीको बाध्यत नै थियो तर पनि म नराम्रोसँग रुन पुगेँ, आफ्नै कतिपय विगतका व्यवहारबाट कुष्ठित भएर, ग्लानि भएर पश्चातापको आँसु रोएँ ।

यो ठाउँमा म आएको अहिले झन्डै दुई महिना भयो । अलि उचाइमा रहेको यो ठाउँमा सहरको जस्तै सबै सुविधा उपलब्ध नभए पनि वातावरण राम्रो थियो । हरिया डाँडाहरू, सग्ला खोलाहरू देखेर जो कोही सहरीयाको पनि मन आनन्दित हुने गर्छ । कार्यालयको काममा फुर्सदै नहुने हुँदा मैले अझै पनि यहाँका धेरै क्षेत्र घुम्न बाँकी नै छ । कहिले नगरपालिकामा, कहिले प्रमुख जिल्ला अधिकारीकहाँ, कहिले हाकिम साहेब कहाँ त कहिले स्कुल स्कुलका सञ्चालककहाँ जाँदाजाँदै दिन झमक्कै बितिसक्छ । अझ भनेको समयमा, बोलाएको समयमा भनेकै ठाउँमा पुग्न नसक्दा मैले धेरै चोटि अँध्यारो मुख पनि लगाउनुपर्ने हुन्छ । सबै राम्रै भए पनि मेरो कार्यालयको ड्राइभर समयको सन्दर्भमा धेरै नै लापरबाही गर्ने गर्छ । मैले धेरैचोटि सम्झएको पनि हो, झपारेको पनि हो तर न सम्झाइले असर गर्छ, न त झपारले नै । हाकिम साहेबलाई भन्दा यो भरत यस्तै हो कति गर्दा पनि लागेन भनी टार्नु हुन्छ । साथीहरूसँग कुरा गर्दा त्यो भरते मान्छे स्वास्नीको पुजारी हो । श्रीमतीको पूजा सकेर मात्र आफ्नो काममा आउँछ । स्वास्नीभन्दा त्यति भुतुक्क हुने मान्छे देखेकै छैनौँ भन्ने कुरा मात्र सबैबाट सुनिन्छ । मलाई भने त्यस्तो कुरा सुनेपछि कञ्चटको रौँ पनि ठाडो हुन्थ्यो । एउटा स्वास्नीका लागि दुनियाँ हाकिमको गाली खाएर, नोकरी नै धरापमा पारेर उसले आपूmलाई के सम्झेको छ कुन्नि, मूर्खको औषधी हुँदैन भनेको यही रहेछ भनी चिन्दिनु बाहेक म पनि के नै गर्न सक्थेँ र, र त म चुप बसेको थिएँ ।

स्वास्नी त मेरी पनि थिई राधा, करिब पाँच वर्षसम्म राधासँगै बसेका पनि हौँ तर सुरुका केही महिनाबाहेक हामी कहिल्यै एकै मनपेट हुनै सकेनौँ । मेरो बाँच्ने तरिका र राधाको बाँच्ने सपनाबिच कहिल्यै तारतम्य मिल्नै सकेन । मसँग मेरा निजी सपना थिएनन्, कुनै विशेष चाहना पनि थिएनन् तर ऊभित्र सपना र चाहनाका धेरै बन्डलै बन्डल अटेका थिए । उसको सपना र चाहनासँग मैले तादात्म्य राख्नै सकिनँ र ऊ पनि मेरो झैँ साधारण जिन्दगीबाट सायद आजित नै भई र एक दिन घरबाट हराएकी मान्छे न घरमा नै फर्केर आई न त सौतेनी आमा भएको उसको माइतीमा नै पुगेको खबर आयो । यताउता खोजी गरेकै हो तर थाहापत्तो लागेन र विस्तारै यो विषय सेलाउँदै गयो । हो, म अहिले एकल पुरुष बाँचेको छु । श्रीमती नहुँदा पनि मलाई विशेष फरक परेका छैन तर के ढाँटू, कहिलेकहीँ शारीरिक आवश्यकताले परस्त्रीको स्पर्स चाहना गर्दा भने एक्लो बाँच्नु थक्क पनि लाग्छ । अब त चार वर्ष पूरा हुन लाग्यो राधा बेपत्ता भएको पनि ।

सायद, प्रसङ्ग मैल अर्कै विषयतिर मोडेँ क्यारे । कुरा त भरत ड्राइभरको चलिरहेको पो थियो । कार्यालयको काममा समयमै पुग्न नसक्दा, मेरै कारण मिटिङहरू समयभन्दा ढिला सञ्चालन हुँदा मैले लगाउनुपरेको रातो मुखका कारण मैले हाकिम साहेबसँग ड्राइभर फेरिदिनु प¥यो भनेर ज्यादै नै जोड दिन थालेको थिएँ । एउटै कार्यालय भएको हुँदा यो कुरा भरतले थाहा नपाउने प्रश्नै थिएन । एक दिन भरत मेरो कोठामा आएर मलाई भन्यो । के सर, सरले मेरो विषयमा हाकिम साहेबसँग धेरै कम्प्लेन गर्नुभएको मलाई थाहा छ । मलाई मेरो ड्युटी पनि थाहा छ तर के गर्नु सर जागिर मात्र सबै चिज नहुँदोरहेछ । एउटा लोग्ने मान्छे घरपट्टि पनि जिम्मेवार हुनुपर्दो रहेछ । कार्यालयमा भएको विवादमा वा खटपट त कार्यालय अवधिसम्म मात्र रहने न हो तर पारिवारिक खटपट भयो भने त जिन्दगीभरि पनि सम्बन्धमा तीक्तता रहन सक्छ, त्यसैले मैले दुवैतिर व्यवहार मिलाउन खोज्दा कहिलेकहीँ ढिलो चाँडो हुन्छ सर, यही कारणले मेरो गल्तीलाई क्षमा गरिदिनु होला, म अब सकभर समयमा नै काममा आइपुग्छु । यसको यो क्षमा याचनाप्रति मैले कुनै प्रतिव्रिmया देखाइनँ । लागेको बानी न हो, उसको व्रिmयाकलापमा विशेष फरक फेरि पनि आएन ।

म साँच्चिकै अन्तरमुखी मान्छे हुँ कि, समाजमा फिट नहुने असामाजिक मान्छे हुँ, म भन्नै सक्दिनँ । साथीभाइहरू जमघट गर्छन्, भेला हुन्छन्, कहिले तास खेल्छन्, कहिले वाइन पार्टी त कहिले बियर पार्टी गर्छन् तर खै मेरो भने त्यतातिर कहिले रुचि नै जागेन । त्यस्तो जमघटमा म कहिले पनि गइनँ र मेरो यस्तो व्यवहारको कारणले गर्दा साथीहरूले मेरो नाम संन्यासी बाबा भनी मेरो पछाडि न्वारान गरेका छन्, यो मेरो नयाँ नाम मलाई मेरो पछाडि सम्बोधन गरिने नाम भए पनि मिठो नै लाग्छ । 

एक शुव्रmबारको दिन भरतले मेरो कोठामा आई अलि अलमलिएर, अलि लच्किएर भन्यो “सरलाई एउटा विन्ति गर्न आएको सर ।” मैले प्रश्न सुन्नासाथ उसलाई हेरेँ । “सर, भोलि मेरी श्रीमतीको जन्म दिन हो, शनिबारको दिन हो फुर्सद पनि छ सर, सबै जनालाई दिउँसोको खाना खान रिल्याक्स रेस्टुराँ एन्ड बारमा निम्तो गरेको छु । सरको के अनुकूलता हुन्छ सर ।” उसको कुरा सुनेर मलाई रमाइलो लाग्यो कि उसमा अरूको अनुकूलता बुझ्नु पर्छ भन्ने चेतना चाहिँ रहेछ नि । मैले हाँस्दै भने, “म न ड्रिङ्क गर्छु, न त भिडभाड नै मलाई मन पर्छ, फेरि न म होटलका चिल्लाचापुल्ला खाना नै पचाउन सक्छु, त्यसैले तिम्री श्रीमतीलाई मेरो शुभकामना सुनाइदेऊ र मलाई यो कुरामा माफ गर ।” मेरो यो करा सुनेर ऊ हाँस्यो र भन्यो, “मलाई थाहा छ सर, सरको त्यस्तो बाहिर खाने बानी छैन, ड्रिङ्क गर्नु हुन्न भनेर त्यसैले सरलाई चाहिँ मैले आजै राति घरमा नै खान बोलाउन आएको, उनले पनि सरलाई भेट्न ठुलो इच्छा गरेकी छिन् । मैले सरको इमानदारिता, कामप्रतिको समर्पण, बोलीको मिठासबारे सबै उनीलाई सुनाएको छु सर । सरले एकचोटि घरमा आइदिए उनी पनि ज्यादै खुसी हुन्थिन्, जन्मदिनको ठुलै उपहार पाए जस्तै ।” मैले मनले नमाने पनि उसको अनुनय र उत्सुक अनुहार देखेर नाइँ भन्नै सकिनँ र हुन्छ भनिदिएँ ।

ऊ गाडी लिएरै मलाई लिन आएको थियो । उसको घर सानै रहेछ तर ज्यादै सुन्दर तरिकाले कोठाहरू सजाइएका रहेछन् । उसकी श्रीमती गहुँगोरी सामान्य जिउडालकी रहिछ तर अनुहारमा एउटा आकर्षण अवश्यै रहेछ । त्यसैले त भरत स्वास्नी–स्वास्नी भन्दोरहेछ त । उसले पनि सर आइदिनु भयो, म धन्य भएँ सर भनी मलाई दुवै हात जोडी र भन्दै गई “सर जति इमानदार, काममा सधंँ तल्लीन रहने र सबैसँग भाइचाराको व्यवहार गर्ने मान्छे यो अफिसमा आजसम्म आएको थिएन भनेर उहाँ सधैँ सरको तारिफ गर्नुुहुन्छ सर, भेटेर ज्यादै खुसी लाग्यो” । मैले पनि जन्मदिनको शुभकामना दिने औपचारिकता पूरा गर्दै आपूूmले किनेर लगिदिएको साडीको एउटा प्याकेट उसको हातमा थमाइदिएँ । सायद असजिलो लागेर होला उसले अलिकति अल्मलिए झैँ गरी साडीको प्याकेट धन्यवाद शब्दसहित समाई । दुवै लोग्ने स्वास्नीको आँखामा कृतजना देखियो र एकक्षण है सर, भनी दुवै कोठाबाहिर निस्किए । कोठामा नयाँ स्टिलको दराज थियो, एउटा आधुनिक ड्रेसिङ टेबल थियो । भित्ताको एउटा कुनामा सायद दुवैको विवाहको समयको होला माला र टीकाले सजिएका उनीहरूकै तस्बिर थियो । सामान्य मान्छेको कोठामा जे जति हुनुपर्ने त्यो कोठामा प्रायः सबै नै थिए र सबै व्यवस्थित थिए, कोठामा केही कुराको अभाव देखिँदैन थियो । हो सोफा सेट भने अलि पुरानो झैँ लाग्यो ।

म कोठाको अवस्था नियाल्दै थिएँ । यतिकैमा उनीहरूले खानाका सामान कोठामा भिœयाउन थाले । म साकाहारी हुँ भन्ने थाहा पाएको उसले स्तरीय साकाहारी भोजनको राम्रै व्यवस्था गरेको रहेछ । खाना खाने व्रmममा भरतले मलाई आफ्नो अवस्थाबारे बताउन थाल्यो । भन्न थाल्यो कि “सर यी मेरी श्रीमती ज्यादै सोझी छन्, मेरो सम्पूर्ण आवश्यकता राम्ररी बुझ्छिन् । विचरी यो जिल्लाकी होइनन् । आमाबुवाले ज्यादै पुल्पुल्याएर राखेका थिए तर आमा बितेपछि सौतेनी आमाले त्यति सहिनन् । माइती पनि जान्नन् । उसको भाग्यले आमा बाबुबाट टाढा मेरो भाग्यमा पारिदियो । भर्खरकी छन्, जवानीको भर्खर मात्र सुरुवात भएको छ । यही त उसको खाउँखाउँ, लाउँलाउँ गर्ने बेला हो नि । अब त म यिनको श्रीमान् मात्र नभएर बाबुआमा झैँ पनि भएको छु । उमेर हो, मन पनि लाग्दो हो, महिना पन्ध्र दिनमा यसो मसँग मन्दिरतिर जाने मन गर्छिन्, कहिले सधैँ घरको खाना मात्र के खानु यसो बेलुकाको खाना होटलमा खाऊँ न भनी मिठो खाने रहर पनि गर्छिन् । कसरी नाइँ भन्नु सर, ल भन्नु होस् यही उमेरमा नै त हो नि यस्ता सानातिना रहर पु¥याउने, होइन त सर ।” ऊ मेरो स्वीकृतिको अपेक्षाले मलाई हेर्छ । म उसको अनुहार हेरेर मुस्काइदिन्छु । ऊ अझै भन्दै जान्छ “घरमा बाबुआमाले पल्पुल्याएर सिन्को पनि नभाँचेकी यिनले यहाँ आएपछि बिहान बेलुकै खाना बनाउने, भाँडा माझ्ने, लुगा धुने, कोठा बढार्ने सम्पूर्ण काम आफैँ गर्नुपरेको छ । कहिले त आज मेरो साह्रै जिउ गल्यो भनी फतक्कै गल्छिन्, त्यस्ता समयमा भान्साको काम मैले नै सघाइदिनु प¥यो, अरू को नै छ र ? पैसा दिएर काम गर्ने मान्छे राख्न सकिँदैन । 

पैसा भए त म घरमा काम गर्ने मान्छे राखेर यिनले रोजेको–रोजेको साडीहरू लगाउन दिएर साँच्चिकै मालिकनी बनाएर राख्थेँ । यस्तै यस्तै समयमा कहिलेकहीँ कार्यालयमा पुग्न ढिलो हुन्छ र हजुरहरूको गाली खानु पर्छ । सकभर अरूको गाली खान कसलाई मन लाग्छ र तर जागिर मात्रै पनि सब कुरा होइन नि, सँगै बाँचुन्जेली साथ दिन्छु भनी आगोसामु खाएको कसम पनि त पूरा गर्नै पर्छ नि भने झैँ लाग्छ सर मलाई त । आफ्नै स्वार्थ मात्र हेर्ने, आफ्नै रहर मात्र पु¥याउने, आफू भनेर घरसंसार छोडेर आएकी स्वास्नीलाई भने आफ्नो स्वार्थको अगाडि केही होइन भनी मान्छे कसरी सोच्न सक्छ सर । मलाई त्यस्तो स्वार्थी र कपटी मान्छे बन्ने मनै छैन । त्यसैले ड्राइभरी हो, खोसिए अर्को कुनै गाडी चलाउँला तर स्वास्नीका इच्छा, रहर, चाहना कुल्चिएर त बस्दिनँ भनी मैले मनमनै किरिया नै खाएका छु...।” ऊ यस्तै फलाक्दै थियो । मन चस्स भयो । मैले उसलाई बिचैमा रोकेर “भरत, अब मलाई ढिला भइसक्यो, कुनै दिन फेरि आउँला अनि गफ गरौँला भन्दै सोफाबाट उठेँ । उसले मलाई सरलाई मेरो कुरा बोर लाग्यो कि के हो भनी सोध्दा बोर लागेको होइन मन त अझैँ पनि तिम्रो कुरा सुन्ने छ तर समयले साथ थिएन । त्यसपछि म पुनः जन्मदिनको बधाई र भोजका लागि धन्यवाद व्यक्त गरी बिदा भएँ । भरतले मेरो निवाससम्म छोड्न आयो गाडीमै । विशेष केही कुरा भएन । आफ्नो कोठामा आएर लुगा खोलेर जब विछ्यौनाम पसेँ । मलाई भरतका कुरा र स्वास्नीप्रति उसले दर्साएको प्रेमले निकै खलबल्यायो ।

राधा पनि त जवानै थिई, लाउँलाउँ खाउँखाउँ भन्ने उमेरकै थिई तर मैले किन त्यतापट्टि सोच्न सकिनँ । उसले पनि मलाई यसो कहिलेकहीँ मन्दिर घुम्न जाउँ भनेको थिई तर मैले सधँै उसलाई मन्दिरमा गएर के हुन्छ, बेकारमा समयको मात्र बर्बाद, जाऊ त्यही पूजाकोठामा छन् तिम्रा देवताका फोटा, जसलाई ढोग्न मन लाग्छ ढोग भन्ने गरेका थिएँ । म ऊसँग कहिल्यै मन्दिर घुम्न गइनँ । उसले पनि भरतको स्वास्नीले झैँ सधैँ घरकै खाना मात्र कति खाने हजुर, यसो होटलका खाना पनि चाखौँ न, कुनै दिन त यसो होटलतिर पनि जाऊँ न हामी लोग्नेस्वास्नी भनेकै हो । तर हामी कहिल्यै पनि सँगै कुनै होटलमा गएनौँ । उसका यस्ता कुरा सुन्दा यसलाई किन मसँग घुम्न मन लाग्दो हो, सँगै घुम्दैमा के पो भइन्छ र जस्तै लाग्थ्यो र तिमीलाई जे खान मन लाग्छ घरमै बनाएर खाऊ, घरको जति होटलको खाना हाइजनिक हुँदैन भनी टारिदिन्थेँ । मैले कहिले पनि तिमीलाई सञ्चो छैन कि ? जिउ गलेको छ कि ? केही लगाउने रहर छ कि भन्ने जस्ता प्रश्न ऊसँग सोधिन् । मैैले कमसे कम सन्तानको सुखसम्म त दिनुपर्ने थियोँ तर आफ्नो आम्दानीले परिवार पाल्न पुग्छ भन्ने नै नलाग्दा उनीलाई केही वर्षका लागि नियोजनको औषधी प्रयोग गर्न बाध्य बनाएँ । पछि जब बच्चाको रहर लाग्यो र जागिर पनि स्थायी भयो त्यतिबेलासम्म उनीमा स्त्रीमा रागका बेलामा उत्पन्न हुनुपर्ने उत्तेजना नै हराइसकेको अनुभव भयो । यसरी उसको बच्चाको आमा बन्ने नारीशुलभ सपना पनि मेरै कारण खलबलिएको थियो ।

भरतकहाँबाट फर्किएदेखि मलाई राधाको सम्झनाले धेरै नै बिझाएको छ । भरत जस्तो सानो पदको ड्राइभरले त आफ्नी स्वास्नीको हरेक इच्छामा साथ दियो भने म किन त्यतिबेला भरत झैँ स्वास्नीप्रति संवेदनशील बन्न सकिनँ ? उसक कुनै पनि इच्छा पूरा गरिदिएको भए मेरो के नै हानि हुन्थ्यो र ? उल्टो माया बढ्थ्यो, घनिष्टता बढ्थ्यो । उसले मसँग कहिल्यै पनि नराम्रो मुखले बोलिन भने मैले उसलाई कहिल्यै पनि घरपरिवारको अगाडि महìव दिइनँ । यता दुई चार दिनदेखि ऊ निस्ताएको झैँ लागेको थियो । केही टोलाए झैँ, केही भुत्भुताए झैँ देखिएकी थिई, आँखा नि रोए झैँ रातो देखिएको थियो, आँसु पुछेर होला आँखा धेरै दिन रातो देखिएका थिए तर मैले उसको यस्तो व्यवहारलाई कुनै महìव नै दिइनँ । सोचेँ मप्रति रिस देखाउन र मलाई घुुक्र्याउन ऊ अभिनय गर्दै छ । उसको अन्तरमनका कुरा के थिए ? मलाई थाहा हुने कुरै भएन । न त अरू कसैलाई बताएकै सुनेको थिएँ । निरास त देखिन्थी तर घरबाटै हिँड्ली भन्ने चाहिँ लागेको थिएन तर एक साँझ म अफिसबाट घरमा आउँदा साँचो छिमेकीलाई छोडेर हिँडेकी ऊ फेरि फर्केर आइन । माइतीमा सोधियो, चिनेजानेका सबैलाई सोधियो तर केही थाहापत्तो लागेन । दिन बित्दै गए र बर्सौंमा परिणत भए तर उसको खबर केही पाइएन । के कतै संन्यास लिएर हिँडी कि ? वा अर्कै कसैसँग नाता गाँसी गई कि ? या कतै गएर जिन्दगीसँग हतास भई आत्महत्या नै पो गरी कि ? मैले त्यतिबेला राधालाई धेरै सरापेको थिएँ तर हिजो भरतको कुरा सुनेपछि भने आफूले ऊमाथि गरेको व्यवहार सम्झेर सत्य हो, हिजो रातिदेखि आफैँलाई घृणा गर्न मन लागेको छ । 

आफ्नो मात्र मन, रहर र इच्छा हुन्छ, अरू त मानिसै होइन भन्ने सोचले कुण्ठित मान्छे पो रहेछु म त । मैले अलिकति मात्र राधाको सोधाइमा आफूलाई ढाल्न सकेको भए आज मेरो पनि परिवार हुन्थ्यो, खुसी, सुख सबै कुरा हुन्थ्यो । यो एकल पुरुषको छाप ममा लाग्ने पनि थिएन । प्रहरीमा खबर गर्न पनि बेइज्जती हुन्छ जस्तै लाग्यो । न त पत्रिकामा सूचना नै छाप्ने आँट आयो । म जन्मले लोग्ने मान्छे त भएँ तर लोग्ने हुन भने सकिनँ । विवाह हुँदा राधाको आँखामा कति सपनाहरू थिए होलान्, मनमा कति उमङ्गहरू पालेकी होली । तर मैले उसको देहलाई मात्र छाम्न सकेछु । आत्मलाई छाम्नै सकिनँ । कति पीडा भयो होला सुखी जिन्दगी बिताउने रहरहरू बिस्तारै छातीभित्रको भुँमरीमा डुब्दै जाँदा । म पूर्णतः स्वार्थी मान्छे रहेछु । मैले हिजोदेखि आफैँलाई चिने । म म झैँ नितान्त स्वार्थी मान्छेले रुनै पर्छ आफैँलाई हेलाँ गर्दै । हो रुनै पर्छ जिन्दगीभरि नै ग्लानिले, पश्चातापले । एउटी स्वास्नीसम्म रिझाउन नसक्ने म झैँ मान्छे, मान्छे हुँ भन्नै आज लाज लागेको छ । राधाको अनुहार आँखा अगाडि आइरहेछ, आइरहेछ ।  मधुपर्क