• १२ साउन २०८१, शनिबार

पाँचथरका बाढी पीडितलाई तुइनबाट राहत पठाइयो

blog

हेवा खोलामा तुइन बनाएर याङवरकका पीडितलाई राहत सामग्री पठाइँदै । तस्बिर राधा लुइँटेल

राधा लुइँटेल

फिदिम, असार ७ गते । जिल्लाकै दुर्गम मानिने याङवरक गाउँपालिका १ खोला घारी चोकमागमा गएको पहिरोका कारण विस्थापित भएका पीडितलाई तुइन मार्फत राहत सामग्री पठाइएको छ ।

असार ४ गते विस्थापित भएका उनीहरूलाई हेवा खोलामा तुइन टाँगेर खोला पारी बुधवार साँझ पहिलो पटक राहत सामग्री पठाइएको हो ।

जिल्ला सदरमुकाम फिदिमदेखि १६ कोष टाढा रहेको खोला घारी चोकमा २२ घरका ९० जना विस्थापित भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिनुभयो । पहिरोका कारण विस्थापित भएका नागरिक स्थानीय लेखनाथ राई र मोहन राईको आँगनमा त्रिपाल टाँगेर बसेका छन् ।

विस्थापित नागरिकले खाद्यान्न सकिएको भन्दै फोन गरेपछि उपाय झिकेर सामग्री पठाइएको प्रजिअ मग्रातीको भनाई छ ।

तुइन बनाउन १२० मिटर लट्ठा र त्यसको दोब्बर डोरी प्रयोग गरिएको छ । एक पटकमा ९० किलो सामग्री तार्न सकिन्छ । तुइन बनाउन उद्योग वाणिज्य सङ्घ,प्रहरी र प्रशासनले सहकार्य गरेका हुन ।