• २० असोज २०८१, आइतबार

उदयपुरको ताप्लीमा नमुना कार्यालय भवन

blog

उदयपुरको ताप्लि गाउँपालिकाको सुविधासम्पन्न नव निर्मित प्रशासनिक भवन । तस्विर : भक्तिविलास पोखरेल ।

भक्तिविलास पोखरेल

गाईघाट, असार ६ गते । उदयपुरको ताप्ली गाउँपालिकाले नयाँ प्रशासकीय भवनबाट स्थानीयहरूमा सरकारी सेवा प्रवाह गर्न सुरु गरेको छ । मुलुक सङ्घीय गणतन्त्रमा गएसँगै स्थानीय तहहरूलाई समेत सरकारको रूपमा राखिएपछि पालिकाले सुविधा सम्पन्न नयाँ भवन निर्माण गरी त्यसैबाट सेवा प्रवाह गर्न थालेको हो । 

सो भवन मूल्य अभिवृद्धि करबाहेक कूल छ करोड ११ लाख ४४ हजार पाँच सय २९ रुपियाँको लागतमा निर्माण गरिएको ताप्ली गाउँपालिकाले जनाएको छ । आर्सीवाद सगरमाथा जेभी निर्माण कम्पनीले निर्माण गरेको भवनमा तीन वटा सभा कक्षसहित ४८ कोठा रहेको ताप्ली गाउँपालिकाका इन्जिनियर मनिषकुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७७ साल असार १० गतेबाट निर्माण कार्य सुरु गरिएको पालिकाको कार्यालय भवन २०७९ मङ्सिर ३० गते सम्पन्न भएकोमा रङ्रोगन तथा कार्यालय सामान र फर्निचर सेट मिलाउँदा केही समय लागेपनि यही असार २ गतेबाट भने सोही नवनिर्मित भवनबाट सेवा प्रवह गर्न थालिएको हो ।”

गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माले भने नयाँ निर्मित भवनमा आँखी झ्याल धेरै भएकाले केही समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ भवनमा पालिकाका सम्पूर्ण शाखाहरूको कार्यालय छ तर आँखी झ्याल बढी भएकाले हुरी बतास चलेको बेला काममा निकै समस्या खडा गर्ने गरेको बताउनुभयो । तर यो भवन जिल्लाकै नमुना भवनका रूपमा रहेको प्राविधिकहरूको भनाइ छ ।"