• १२ मंसिर २०८१, बुधबार

मन्त्री सिंहको निधनले पार्टीलाई अपूरणीय क्षति : कांग्रेस

blog

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह ।

काठमाडौं, असार ६ गते । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्नुहुँदै मन्त्री सिंह र पत्नी अमृतोदवी र भाउजू जयादेवीको निधनमा पार्टीले दुःख व्यक्त गरेको जानकारी दिनुभयो ।

‘‘कांग्रेस बझाङका पूर्वसभापति एवम् सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह आफ्नो गृह जिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी उहाँसहित उहाँकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको निधन भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।,’’ विज्ञप्तिमा भनिएको छ, ‘लामो समयसम्म नेपाली कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर उहाँले कार्य गर्नुभएको थियो । स्वर्गीय सिंहले पार्टीको सङ्गठन निर्माण र नेपाल लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको छ र नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ ।’’

यसैगरी, कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि मन्त्री सिंहको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

कार्यवाहक सभापति खड्काले भन्नुभएको छ, ‘‘नेपाली कांग्रेस बझाङका पूर्व जिल्ला सभापति एवम् सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनको खबरले मलाई अत्यन्त दुखित र मर्माहत बनाएको छ । स्वर्गीय सिंहले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ ।’’