• ९ असार २०८१, आइतबार

फ्रिडम फाइटरद्वारा उपाधि रक्षा

blog

उपाधिसहित फ्रिडम फाइटर टोली ।

गोरखापत्र समाचारदाता

काठमाडौं, असार ५ गते । साविक विजेता फ्रिडम फाइटरले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको फाइनलमा फ्रिडमले तकामी भेट्रानलाई ३–१ गोलले पराजित गर्दै उपाधि रक्षा ग¥यो । 

फ्रिडमका लागि ‘म्यान अफ दि म्याच’ विकर्ण श्रेष्ठले दुई तथा राजकुमार घिसिङले एक गोल गर्नुभयो । तकामीका रितेश थापाले सान्त्वना गोल फर्काउनुभयो । 

उपाधिसंँगै फ्रिडमले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता तकामीले ५० हजार रुपियाँ पुरस्कार पायो । काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा तकामीका रितेश थापा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

गोलरक्षकमा मुकुन्द थापा, रक्षकमा राजनलाल नेपाल र मिडफिल्डमा राजकुमार घिसिङ उत्कृष्ट खेलाडी चुनिनुभयो । उत्कृष्ट तीनै खेलाडी फ्रिडमका हुनुहुन्छ । उत्कृष्ट सबैले जनही पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

विजेतालाई नेपाल कांग्रेसका महामन्त्री गगनकुमार थापा, आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडा, चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले पुरस्कृत गर्नुभयो । 

साताव्यापी नकआउट प्रतियोगितामा मोफसलका ६ सहित २१ टिम सहभागी थिए । सोही अवसरमा विश्व साइकल यात्री शुभप्रसाद शर्मालाई आयोजक वडा ७ ले प्रोत्साहन स्वरुप दुई लाख रुपियाँ प्रदान गरेको थियो ।