काठमाडौं, असार ५ गते । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा लगातार तेस्रो हार खेपेको छ ।
किर्गिस्तानको बिस्केकस्थित चोलपोन एटिए कभर्डहलमा मंगलबार भएको खेलमा नेपाल इरानसँग ३–० को सेटमा पराजित भयो । इरानले नेपालमाथि २५–१६, २५–२२, २५–२२ को नजिता निकाल्यो ।
यसअघि आइतबार भएको पहिलो खेलमा नेपाल मङ्गोलियासँग ३–१ को सेटमा पराजित भएको थियो । दोस्रो खेलमा नेपालले सोमबार घरेलु टोली किर्गिस्तानसँग ३–१ को सेटमा हार खेपेको थियो ।
लिगमा नेपालसहित सात टोलीको सहभागिता रहेको छ । नेपालले चौथो खेल बिहीबार तुर्किमिनिस्तान, पाँचौँ खेल किर्गिस्तानको ‘बी’सँग शुक्रबार र अन्तिम खेल आइतबार उज्बेकिस्तानसँग खेल्नेछ ।
सिङ्गल राउन्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । लिगको तेस्रो र चौथो टोलीबीत तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।