• २० असोज २०८१, आइतबार

बाढीपहिरोले सात लघुजलविद्युत गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

blog

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत गृह बगाएको छ । गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकार बस्न बाध्य छन् ।

मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँच वटा लघु जलविद्युत आयोजना आइतबार राति गएको बाढीले बगाउँदा पूरै गाउँपालिका अन्धकार भएको हो । बाढीले वडा नं ३ र ४ मा रहेका लघु जलविद्युत आयोजनामध्ये केहीको पावर हाउस नै बगाएको छ भने केहीको पानी ट्याङ्की र केहीको पूरै संरचना बगाएर लगेको छ ।

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार ६० प्रतिशत घरपरिवारमा विद्युत जडान भएको थियो तर बाढीले पाँच वटा लघु जलविद्युत गृह नै बगाएपछि गाउँपालिकामा बसोबास गर्ने समुदाय अन्धकारमा बस्न बाध्य भएका छन् । वडा –४ मा रहेको १८ किलोवाटको लोदम्बा हाइड्रो पहिरोले बगाएको छ । त्यस्तै, ३६ किलोवाटको याम्फेवा हाइड्रो पावर हाउसमा क्षति पुगेको छ भने ३२ र ६४ किलोवाटको माङमाया–१ र मङमाया–२ को माइक्रो हाइड्रोमा पनि पूर्णरूपमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष वनेमले बताउनुभयो ।

त्यही क्षेत्रमा रहेको १५ किलोवाटको ठाडेखोला लघु जलविद्युत आयोजना पूर्णरूपमा बगाएको छ । अहिले गाउँमा मोबाइल तथा विद्युतीय सामग्री पूरै बन्द भएका छन् । दिउँसो घाम लाग्दा मात्र मोबाइलमा नेटवर्क आउने बेलुका भएपछि नेटर्वसमेत नआउँदा सञ्चारसम्पर्कमा मासमेत समस्या भएको उहाँको भनाइ थियो । अध्यक्ष वनेमले भन्नुभयो,“गाउँपालिकामा सञ्चलनमा रहेको पाँच वटा लघु जलविद्युत पहिरोले बगाएपछि अहिले गाउँपालिका अन्धकार भएको छ । कार्यालयमा विद्युत नभएकाले सेवा प्रवाह गर्नसमेत कठिन भएको छ ।”

त्यस्तै, सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनमा दुई वटा लघु जलविद्युत बाढीले बगाएको छ । तुम्या खोलाबाट निकालिएको आठ किलोवाट क्षमताको विद्युत गृह बाढीले पूरै बगाएको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदीनका वडाध्यक्ष कृष्ण गुरुङले बताउनुभयो ।

उहाँका अनुसार काबेली खोलाबाट उत्पादन हुने १५ किलोवाट क्षमताको लघुविद्युत्  गृहमासमेत क्षति गरेकाले अहिले गाउँ पूरै अन्धकार भएको छ । उक्त वडालाई याम्फुदीन नामले चिनिन्छ । त्यस गाउँमा एक सय ७० घरपरिवार बसोबास गर्दै आएका छन् ।

दुई विद्युत गृहले याम्फुदीनलाई उज्यालो दिँदै आएको थियो । गत शुक्रबार दुई वटा विद्युत गृह नै बाढीले बगाएसँगै गाउँ अन्धकार बनेको याम्फुदीन प्रहरी चौकीका हबल्दार विनोद उरावले बताउनुभयो । विद्युत गृह बाढीले बगाएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको स्थानीयवासीको भनाइ थियो ।

विद्युत गृह बाढीले बगाएपछि विद्युत पावर आपूर्ति नहुँदा याम्फुदीनमा रहेको नेपाल टेलिकमको मोबाइल टावरसमेत बन्द हुने अवस्थामा पुकेको त्यहाँका वडाध्यक्ष गुरुङले बताउनुभयो । रासस