• २१ असार २०८१, शुक्रबार

हेवा खोलामा बेलिब्रिज निर्माण सुरु

blog

हेवा खोलामा बेलिब्रिज निर्माणका लागि आइपुगेका सामग्री व्यवस्थित गर्दै श्रमिक। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, असार ५ गते। मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडकखण्ड अन्तर्गत हेवा खोलामा बेलिब्रिज निर्माण थालिएको छ। असार २ गते मध्यरातमा अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि तत्काल बेलिब्रिज निर्माण कार्य सुरु भएको हो। 

फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ को सीमामा पर्ने उक्त खोलाको पुल सडक डिभिजन कार्यालय इलामले मंगलबारदेखि निर्माण गर्न थालेको हो।

हेवा खोलाको पुल बगेपछि पाँचथरका हिलिहाङ, फालेलुङ र याङवरक गाउँपालिका सदरमुकाम फिदिमसँग सम्पर्क विच्छेद भएका छन्। पुल बाढीले बगाएपछि ताप्लेजुङ जिल्ला पाँचथरको सदरमुकाम फिदिम, इलाम हुँदै तराईका जिल्लासँगको सडक सञ्जालबाट विच्छेद भएको छ। 

बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री र कामदार मंगलबार बिहानै निर्माणस्थल पुगेका हुन्। पुल निर्माणका लागि एकसाथ ५० जना श्रमिक खटाइएको छ। मौसम प्रतिकुल नभए १५ दिन भित्रमा बेलीब्रिज निर्माणको काम सकिने सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलले जानकारी दिनुभयो। 

बाढी आएको भोलिपल्ट अर्थात् असार ३ गते नेपाल सरकारका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले हेवा खोलामा बेलिब्रिज निर्माण गर्ने बताउनुभएको थियो। सरकारले बेलिब्रिज निर्माण गर्न सडक डिभिजन कार्यालय इलामलाई अनुमति दिएसँगै काम अगाडि बढेको हो।