• १२ असार २०८१, बुधबार

नियमित उडान गर्न आलटाल

blog

रामेछाप समाचारदाता

रामेछाप, असार ५ गते । वायु सेवा कम्पनीले जुन महिनादेखि रामेछाप–काठमाडौँ नियमित उडान गर्ने प्रतिबद्धता जनाए पनि अझै नियमित उडान हुन सकेको छैन। नियमित उडान तालिका अनुमोदन र भाडा निर्धारण भइसक्दासमेत वायु सेवा कम्पनीले अझै नियमित उडान गर्न आलटाल गरिरहेका छन्। 

नागरिक उड्डयन प्राधिकरण उड्डयन सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको संयोजकत्वमा गत जेठ ३ गते बसेको बैठकमा निजी क्षेत्रका तारा, सीता र समिट एयरले हप्तामा कम्तीमा एक एक उडान गर्ने गरी उडान तालिका बनाएर प्राधिकरणमा पेस गर्ने सहमति भएको थियो। सहमति अनुसार उडानका लागि तारा, सीता र समिट एयरले तालिका पेस गरेको र जुन १८ देखि उडान भर्ने गरी तालिका अनुमोदन भए पनि उडान नगरेको रामेछाप नागरिक उड्डयन कार्यालयका प्रमुख अशोक थापाले बताउनुभयो। 

“तीन हजार पाँच रुपियाँ भाडा निर्धारण गरी जुन १८ देखि उडान गर्ने गरी तालिका अनुमोदन गरिएको छ तर अहिलेसम्म उडान हुन सकेको छैन,” उहाँले भन्नुभयो। नियमित उडानका लागि स्थानीय सरकार, स्थानीय राजनीतिक दललगायतले थप पहल गर्नुपर्ने उहाँको भनाइ छ। सिजनमा सोलुका लागि रामेछापबाट ५० भन्दा बढी उडान भए पनि काठमाडौँका लागि कुनै उडान छैन। विमान कम्पनीले मन्थली–काठमाडौँको एउटा पनि उडान नराख्दा बिरामी, अशक्त, गर्भवती, शल्यक्रिया गरेर घर फर्कनेहरूलाई समस्या भएको छ। 

मन्थली विमानस्थलमा रात्रिकालीन विमान पार्किङ राखेर उडान गर्ने तारा, सीता र समिट एयरलाई कम्तीमा एउटा उडान काठमाडौँका लागि राख्न आग्रह गर्दै आएको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताउनुभयो। “हप्तामा कम्तीमा एक पटक रामेछाप–काठमाडौँ नियमित उडानका लागि सरोकारवाला निकाय पनि तयार नै छ तर एयरलाइन्स कम्पनीले किन उडान गर्न मानिरहेका छैनन्, बुझ्न गाह्रो भो,” उहाँले भन्नुभयो।

नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ गतेसम्म रामेछापको मन्थली विमानस्थलमार्फत लुक्ला पर्यटक लैजाने गरेको छ। हाल लुक्लाको सिजन सकिएपछि रामेछाप विमानस्थल खाली भएको छ।