• १५ असार २०८१, शनिबार

समाजवादी ध्रुवीकरण

blog

नेपालको संविधान, २०७२ ले स्वीकार गरेको बाटो समाजवाद उन्मुख शासन प्रणाली हो। २०७४ को सङ्घीय र प्रादेशिक चुनावमा नेपालका दुई ठुला राजनीतिक पार्टीले चुनावी मोर्चाको कुरा गर्दा खिसीट्युरी गर्नेहरूको जमात ठुलो थियो। करिब दुईतिहाइको नतिजा हातमा पार्दा पनि पार्टीहरू नसम्हालिँदा जनता निराश बनेकै हुन्। नेपाली जनताले २००७ सालदेखि नै संविधान सभाबाट संविधान निर्माण गर्ने महान् लक्ष्य बोकेका थिए। २०१४ र २०४७ मा यो सपना सफल बनेन। 

२०५२ देखि सुरु भएको सशस्त्र द्वन्द्वको बाटो हुँदै २०६२/६३ मा पुग्दा नेपालका सात राजनीतिक पार्टी नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पु-याउन संविधान सभाको चुनाव गर्न सहमत भए। यो कुरा कुनै पाण्डुराको बाकस खोल्नु जस्तो थिएन। मात्र समाजलाई बुझ्ने र त्यसै अनुसारको राजनीतिक बाटो तय गर्नका लागि पार्टीहरू तयार बनेको घटना थियो। आज भोलि पत्रपत्रिकामा भेटिने र भने जस्तो आयातित आन्दोलनको दस्ताबेज २०७२ को संविधान थिएन। त्यो त परिवर्तनको दस्ताबेज थियो। यो तथ्य असारको पहिलो दिनमा सूर्यदेवको पूजाआजा गरिने कथा जस्तो पनि थिएन। 

नेकपा माओवादीको आयोजनामा लडिएको सुनौलो दिनको सपना थियो – नेपालको समाजवादी आन्दोलन। यो कुरा तत्कालीन नेकपा एमालेका नेता तथा वर्तमान नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले सोचे जस्तै आन्दोलन थियो। गन्न सकिने कार्यकर्ता, समर्थक र शुभचिन्तक भेला गरेर वनभोज खाए जस्तो कुरा नेपालको संविधान, २०७२ थिएन। नेपाली जनताको अथक् परिश्रम र लडाइँबाट प्राप्त संवैधानिक अधिकारको कुरा समाजवादी आन्दोलन हो। यही लक्ष्य पूरा गर्न नेपालका राजनीतिक दलहरू एकै स्थानमा बसेर मोर्चा बनाउने कामलाई कसैको सपना बेच्ने र सपना बाँड्ने हुन सक्दैन। 

राजनीतिक अर्थशास्त्रको ज्ञानले समाज र राजनीतिको बिचमा कुनै आवश्यक पद्धतिगत भिन्नता देख्दैन। यिनीहरूको अन्तरसम्बन्धलाई स्पष्ट रूपमा बुझ्न योग्य हुनु नै राजनीतिज्ञको काम हो। राजनीतिक अर्थशास्त्रको क्षेत्रमा सामान्य नियमको बुझाइलाई परिस्थितिले गर्दा कठिन बनाउन सक्छ। २०६२/६३ पछि नेपालमा भएको यही हो। यो तथ्य नेपालको मात्र समस्या हैन, संसारमा चलेको खुला बजारको बाटो र यसले निम्ताएका समस्या नै हामीले भोगेका हौँ। विश्वमा चलेका आर्थिक घटना र त्यसका कारकद्वारा प्रभावित बन्दा हामीमा नैराश्य पक्कै बढेको हो। यी सबै समस्यालाई राजनीतिक पार्टीहरूले आ–आफ्नो स्कुलिङको सहायताले समाधान गर्न सकेको भए २०७९ को चुनावमा नयाँ पार्टीहरूको औचित्य बन्दैनथ्यो। यही स्थितिलाई नियालेर पार्टीहरूको राजनीतिक बाटोमा सपनामा खिया लागेको कुरा सामाजिक सञ्जालमा भेटिएका हुन्। 

पार्टीका नेताहरूमा सपना देखाउन सक्ने राजनीतिक दृष्टकोण चाहिन्छ। समाजमा पार्टीको हैसियत बनाउन सपना चाहिन्छ, सपनामा साँध लगाउने कार्यक्रम चाहिन्छ, त्यो कार्यक्रमलाई विश्वासिलो बनाउन त्याग, तपस्या र जनताप्रतिको समर्पण चाहिन्छ। हिजोको युद्धको बेला जस्तो वर्ग पक्षधरता नभए पनि वर्ग निष्ठा, वर्ग चिन्तन र वर्गलाई पच्ने जीवनशैली चाहिन्छ। सपना नहुनु, कार्यक्रमसहितको दृष्टकोण नहुनु, त्याग, तपस्या र समर्पणमा प्रश्न उठ्नु र खुला बजारी चिन्तन तथा जीवनशैलीले समाजवादी ध्रुवीकरणको बाटोलाई लक्ष्यमा पुग्न दिँदैन। नेपालका भुइँका आधारभूत समूहले शङ्का मानेको कुरा यही नै हो। 

हामी सबैलाई थाहा छ, जनता सधैँ जित चाहन्छन्। हुर्केको र समृद्ध बनेको सुख चाहन्छन्। उनीहरूलाई प्रभावित पार्ने अर्थमा नेतासित रिसाउँछन्। उदाहरणका लागि २०६२/६३ को समयमा राज्यको ठुलो शक्तिलाई हराएर नेपालमा गणतन्त्र स्थापना गरेको तथ्य उनीहरू सम्झन्छन्। इतिहासमा विजयी जनताले आफूलाई कानुनी र आर्थिक रूपमा विजय प्राप्त देशको विशेषाधिकारसहितको वर्गका रूपमा स्थापित गर्न खोज्छन्। शिक्षा र स्वास्थ्य, उत्पादन प्रणाली, रोजगारीदेखि सामाजिक सुरक्षाको विषयमा सामाजिक व्यवहारमा देखिन चाहन्छन्। दुर्भाग्यवश नेपालको शासन प्रणालीमा भन्दा पनि पार्टीहरूको चिन्तनमा उनीहरूले खोट देखे। नेतामा खोट भेटे र नै जनता निराश बने। अब हामीले चाहेको जनताका अगाडि प्रतिबद्धतासहितको राजनीतिक स्वेतपत्रले समाजवादी मोर्चा स्थापनाको औचित्य प्रमाणित हुने छ। 

नेपालमा नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र नेकपा माओवादी मिलेर बन्ने समाजवादी मोर्चाले नेपालको इतिहासमा नेपाली जनताको सपना ब्युँताउने आधार कमजोर हुन्न। सकेमा नेकपा एमालेको त्यसमा हुने सहभागिताले सुदूरभविष्यको सुन्दर फराकिलो गोरेटो देखाउँछ। २०८० को सुरुमा यसो गर्नु आवश्यक बनिसकेको छ। राजनीतिक मुद्दा र कार्यक्रमभन्दा पर दलका नेताहरू गएर व्यक्तिवादी र महत्वाकाङ्क्षी इच्छा राखेका कारण नै नेपाली जनताले २०७४ पछि धेरै गुमाए। दोस्रो तहका नेताहरूले शीर्ष नेताहरूलाई एकै स्थानमा राखेर एकताको सहज बाटो देखाउन सक्नेले मात्र अब समाजवादी मोर्चामा सपना देखाउन सक्ने हैसियत प्रमाणित गर्छ।

नेपालको कम्युनिस्ट आन्दोलनमा समस्या मात्र देखेर टुप्पोमा पुगिन्न। वामपन्थीबिचको मोर्चा, छलफल र एकताबाट मात्र जनताको आवाज सुनिने प्रस्ट छ। तसर्थ नेपालको सन्दर्भमा यस्तो ‘समाजवादी ध्रुवीकरण’ ले नेपालको राजनीतिक आन्दोलनको सफलताको अर्थ बोकेको हुन्छ। समाजवाद उन्मुख प्रणालीलाई केन्द्रमा राखेर समाजवादीहरूका बिचमा ध्रुवीकरण गरेमा यसको औचित्य पूरा हुन्छ। यसलाई कसैको स्वार्थ र कसैप्रतिको बदलाभाव हैन भनेर बुझ्नु नै यो समयको ठिक बुझाइ ठहर्छ। 

मानिस एकल प्राणी हैन, ऊ त एक सामाजिक प्राणी हो। सामाजिक प्राणीका रूपमा मानिसले आफ्नो अस्तित्व र आफ्नो नजिकका मानिसको रक्षा गर्न विभिन्न क्षमताको विकास गर्छ। यस्तै गरी नेपालमा रहेका राजनीतिक पार्टीहरूले पनि समान लक्ष्य निर्धारण गरेर समाजवादी मोर्चा बनाउन सक्छन्। तसर्थ प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराई र विप्लवले सामाजिक प्राणीका रूपमा आफ्ना लक्ष्यहरूको पहिचान गरेर राजनीतिमा नेपाली जनताको स्नेह प्राप्त गर्नमा कसैले छेकबार लगाउन सक्दैन। नेपाली जनताको सुख–दुःखमा सान्त्वना दिन र तिनीहरूको जीवनको अवस्था सुधार्न खोज्नुलाई कुनै पनि अर्थमा बङ्ग्याउन मिल्दैन। 

यहाँ उल्लिखित विविध प्रयासको औचित्यता मात्र एक व्यक्तिको विशेष चरित्रका लागि हैन। तिनीहरूको विशिष्ट संयोजनले नेपाली समाजले आन्तरिक सन्तुलन प्राप्त गर्न र दलहरूले समाजको कल्याणमा योगदान दिन सक्छन् भनेर सरल भाषामा बुझ्नु बुद्धिमानी हुन्छ। हामीले जानेको भनेको यो काम धेरै सम्भव छ। यो काम गर्नका लागि उचित समय आएको छ। राजनीतिक दलका ड्राइभरहरूको सापेक्ष बलद्वारा मात्र यो निश्चित बन्छ। 

नेपालका पार्टीहरूले यो तथ्यलाई याद गर्न आवश्यक छ कि योजनाबद्ध अर्थव्यवस्था भनेको समाजवाद होइन। योजनाबद्ध अर्थतन्त्रले व्यक्तिलाई पूर्ण दासत्वको अवस्थामा लैजान सक्छ। समाजवादको उपलब्धिका लागि केही अत्यन्तै कठिन सामाजिक–राजनीतिक समस्याको समाधान आवश्यक छ। नेपालका जनजाति, दलित, महिला, गरिब, पछौटे, अल्पसङ्ख्यकको अवस्था बदलिनु पर्छ। राजनीतिक र आर्थिक शक्तिलाई केन्द्रीकरण मात्र गरेमा नोकरसाही समूह समाजमा सर्वशक्तिमान बन्छ। यसले समाजमा सामाजिक–आर्थिक विभेद बढाउँछ। व्यक्तिको अधिकारलाई कसरी सुरक्षित गर्न सकिन्छ र यसले कसरी कर्मचारीतन्त्रको शक्तिलाई लोकतान्त्रिक र जवाफदेही बनाउन सकिन्छ भन्ने कुराको सुनिश्चितता एक्काइसौँ शताब्दीमा गर्नै पर्छ। 

राजनीतिक पार्टीहरूमा हुर्केको गैरराजनीतिक संस्कार र कर्मचारीतन्त्रमा रहेको जवाफदेहिताको अभावका कारण नेपालको नयाँ राजनीतिक प्रणाली जनताका बिचमा अलोकप्रिय बनेको भने पक्कै हो। नेपालको सङ्व्रmमणकालमा राजनीतिक पार्टीहरूभित्र समाजवादका उद्देश्य, चुनौती र सम्भावनाबारे स्पष्टता हुनु सबैभन्दा महत्वपूर्ण छ। २०७२ को संविधान घोषणा भएर दुई पटकसम्म तीनै तहका चुनाव सम्पन्न भएको परिस्थितिमा नेपालको राजनीतिमा देखिएका समस्याको स्वतन्त्र र निर्वाध छलफल हुनु आवश्यक छ। दलका प्रमुख नेताहरूले आफैँभित्र रहेको कमजोरीमा आगो झोसेर मात्र समाज बदल्ने हैसियत बनाउन सक्छन्। यो बुझाइले देशमा समान लक्ष्य भएका पार्टीहरूको ध्रुवीकरणबाट मात्र समाजवादी मोर्चा निर्माणको कामले जनताको अनुहारमा खुसी भित्र्याउँछ। 

लेखक उपप्राध्यापक हुनुहुन्छ ।   

Author

भीम रेग्मी