• २० असार २०८१, बिहिबार

ट्राउट माछा पालनतर्फ कृषकको आकर्षण

blog

ट्राउट माछा पालनमा एक कृषक पोखरीबाट माछा निकाल्दै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, असार ४ गते । गुल्मीको पूर्वी भागमा पर्ने कालीगण्डकी गाउँपालिकाका कृषकहरूमा अहिले रेन्बो ट्राउट माछा पालनतर्फ आकर्षण बढेको छ । कालीगण्डकी गाउँपालिका –५ मा रहेको लुङ्गखोलाको सदुपयोग गर्दै त्यहाँका स्थानीयले ट्राउट माछा पालन सुरु गरेका छन् । 

सोही स्थानका कृषक युवराज श्रीसले ट्राउट माछा पालन सुरु गर्नुभएको छ । लामो समयदेखि कृषिमा लाग्नुभएका श्रीसले खेतमा माछा पालनका लागि पोखरी बनाउनुभएको छ । सोही पोखरीमा उहाँले रेन्बो ट्राउट माछा पालन गर्नुभएको छ । 

चार वर्ष अघिदेखि सुरु गरिएको ट्राउट प्रजातिको माछापालन अहिले श्रीसको आम्दानीको मुख्य माध्यम नै बनेको छ । ‘यसअघि खेत रहेको ठाउँमा धान, मकै फल्दा नगद देख्न मुस्किल थियो ।’ उहाँले भन्नुभयो, ‘अहिले माछा बिक्रीबाट राम्रो आम्दानी हुनेगरेको छ ।’ श्रीसले परम्परागत खेतीको तुलनामा माछा पालनबाट तेब्बर आम्दानी भइरहेको बताउनुभयो । 

लुम्बिनी रेन्बो मत्स्यपालन फर्म दर्ता गर्नुभएका श्रीसले अन्यत्र किलोको एक हजार आठसय रुपियाँमा ट्राउट माछा बिक्री भए पनि आफूले एक हजार पाँचसय रुपियाँमा बिक्री गर्नेगरेको बताउनुभयो । ‘माछा लिएर बजार खोज्दै हिँड्नु पर्दैनन् । ग्राहकहरू खोज्दै माछा पोखरीमै आउने गर्नुहुन्छ’ उहाँले भन्नुभयो, ‘वर्षमा करिब दुई लाख रुपियाँ माछा बिक्रीबाट आम्दानी हुनेगरेको छ ।’   

उहाँले लुम्बिनी प्रदेश सरकारबाट दश लाख रुपियाँ अनुदान पाएर ट्राउट माछापालन सुरु गरेको बताउनुभयो । अहिले श्रीसको माछापोखरी हेर्नेको भीड लाग्नेगरेको छ । भार्सेका स्थानीय खुमबहादुर बुढाथोकीले रेन्बो ट्राउट माछाको रहर लागेर माछापोखरी हेर्न र किन्न आएको बताउनुभयो ।