• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा

बेपत्ताहरूको खोजी कार्यमा जुट्न सबै सरकारी संयन्त्रलाई निर्देशन

blog

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सोमबार दिउँसो सङ्खुवासभाको तुम्लिङटार पुग्नुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : ध्यान कुलुङ

ध्यान कुलुङ
सङ्खुवासभा, असार ४ गते । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सोमबार दिउँसो कोशी प्रदेशका पहिरो प्रभावित जिल्लामा आइपुग्नु भएको छ । उहाँले सङ्खुवासभाको तुम्लिङटारमा ओर्लेर पत्रकारहरूसँग संक्षिप्त कुराकानी पनि गर्नुभएको छ ।

प्रधानमन्त्रीले पीडितको उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयंसेवी सङ्घसंस्थामा अपिल पनि गर्नुभयो ।


प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार विहीनलाई तत्काल स्थानान्तरण र भोलिको आवासका लागि व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताउनुभयो ।

आइतबार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी सङ्खुवासभामा एक जनाको मृत्यु भएको थियो भने १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानमन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राख्नुभएको थियो । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।

बाढीपहिरो प्रभावित क्षेत्र अनुगमन गर्न प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ हेलिकप्टरमार्फत सङ्खुवासभा आउनुभएको हो ।

यस्तै, सांसद दीपक खड्का, योगेशकुमार भट्टराई, वसन्त नेम्वाङ र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की पनि बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको छ ।